काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधानमा समसामयिक विषयअनुसार संशोधन गर्न सकिने भए पनि संविधानभित्रका संवेदनशीलता बुझ्नुपर्ने बताउनुभएको छ ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै सभापति थापाले संविधानभित्रका संवेदनशीलता बुझ्न नसके मुलुक दुर्घटनामा जान सक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले संविधानले नागरिकलाई प्रदान गरेका हकअधिकार थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
सभापति थापाले कांग्रेस मुलुकको राष्ट्रिय पार्टी र राष्ट्रिय शक्ति भएको दाबी गर्दै मुलुकमा ठूला सङ्कट आउँदा समाधान गर्नेदेखि लोकतान्त्रिक आन्दोलन र संविधानसभाबाट संविधान जारी गर्नेसम्मका कार्य कांग्रेसको नेतृत्वमा सफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “लोकतन्त्रमा सरकार जति महत्वपूर्ण हुन्छ, प्रतिपक्ष पनि त्यति नै महत्त्वपूर्ण हुन्छ । प्रतिपक्षी दलका नाताले हामीले सरकारलाई निरन्तर खबरदारी गर्नुपर्छ ।” उहाँले लोकतन्त्रमा सबै नागरिक समान हुने र कानुनभन्दा माथि कोही पनि हुन नहुने बताउनुभयो ।
कार्यक्रममा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आदिवासी जनजातिको पहिचानसँग गाँसिएका हकअधिकारको रक्षाका लागि सरोकारवाला सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । ठूलो बलिदानीबाट प्राप्त आदिवासी जनजातिको पहिचानसँग जोडिएका संवैधानिक उपलब्धि जोगाउन सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।
नेता आङ्देम्बेले प्राप्त संवैधानिक अधिकार संरक्षण गर्नुपर्ने र लोकप्रियताका नाममा ती अधिकार समाप्त पार्ने षड्यन्त्र हुनसक्ने भन्दै त्यस्ता प्रवृत्ति र पात्रप्रति सचेत रहन आग्रह गर्नुभयो । कांग्रेसले नै ती उपलब्धि जोगाउन सक्ने विश्वास व्यक्त गर्दै उहाँले अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न पनि कांग्रेस नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
उहाँले आदिवासी, जनजाति, महिला, मधेसी तथा पिछडिएका सबै वर्ग र समुदायका आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।






फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी