रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका पर्यटकीय गन्तव्यमा पर्यटकको बसाइ लम्ब्याउन सुविधासम्पन्न होटल सञ्चालन आवश्यक रहेको बताउनुभएको छ । उहाँले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्दै निजी क्षेत्रलाई लगानी विस्तार गर्न आग्रह गर्नुभएको हो ।
होटल संघ नेपाल, लुम्बिनी प्रदेश तदर्थ समिति गठन तथा घोषणा कार्यक्रममा शुक्रबार बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पर्यटक आएनन् भनेर गुनासो मात्र गर्नुभन्दा आएका पर्यटकलाई गुणस्तरीय सेवा र सुविधा उपलब्ध गराएर उनीहरूको बसाइ लम्ब्याउनुपर्ने बताउनुभयो । पर्यटकीय क्षेत्रका विभिन्न स्थानमा सुविधासम्पन्न होटल निर्माण तथा सञ्चालनले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो ।
उहाँले लुम्बिनी प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । भैरहवा र रुपन्देहीका व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालनको माग गरिरहेको उल्लेख गर्दै सुरक्षा निकायसँग समन्वय गरी २४ सै घण्टा होटल व्यवसाय सञ्चालन गर्न सकिने वातावरण बनाउन प्रदेश सरकार सकारात्मक रहेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री आचार्यले भारतीय अधिकारीहरूसँग पर्यटन प्रवर्द्धनका विषयमा छलफल भइरहेको बताउँदै भारतीय पर्यटकलाई लक्षित गरी उनीहरूको स्वाद र संस्कृतिअनुसारका शाकाहारी परिकार उपलब्ध हुने होटल सञ्चालनको राम्रो सम्भावना रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेशमा सडक पूर्वाधार विस्तारलाई प्राथमिकतासाथ अघि बढाइएको उल्लेख गर्दै उहाँले अब पर्यटकलाई गन्तव्यसम्म पुर्याउनेभन्दा पनि त्यहाँ बसोबास र सेवा सुविधाको व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
“पर्यटकलाई गन्तव्यसम्म पुर्याउन सकिरहेका छैनौँ भन्ने होइन । सडकको समस्या धेरै हदसम्म समाधान भएको छ । अब बस्ने ठाउँ र गुणस्तरीय सेवाको आवश्यकता छ,” उहाँले भन्नुभयो ।
मुख्यमन्त्री आचार्यले राज्य र निजी क्षेत्रबीचको सहकार्य नै समृद्धिको आधार भएको उल्लेख गर्दै निजी क्षेत्रको सम्मान गर्ने संस्कृतिलाई प्रदेश सरकारले आत्मसात गरेको बताउनुभयो । निजी क्षेत्रलाई समस्या पर्दा सरकार साथमा उभिने र सफलताका समयमा समेत सहकार्य गर्ने नीति लिएको उहाँको भनाइ थियो ।
उहाँले लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत युवा उद्यमशीलतालाई उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो । कृषि तथा उद्यम क्षेत्रमा युवाको सहभागिता बढाउने उद्देश्यले सहुलियतपूर्ण लगानी तथा ब्याज अनुदानका कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो ।







हरेक वर्ष कोशीको बाढी र
विश्व आदिवासी दिवस आज, अधिकार
पर्यटन नीति एकातिर, बजेटको बाटो
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै,
इलाममा अदुवाको आकर्षक मूल्य, खेती
कान्ति राजमार्ग स्तरोन्नतिको भौतिक प्रगति