काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले वर्षौंदेखि बन्द तथा घाटामा रहेका सरकारी स्वामित्वका उद्योग तथा संस्थानहरू सुधारको बाटोमा अघि बढिरहेको बताउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र जिम्मेवारीप्रति इमान्दार भएर काम गर्ने हो भने चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खोल्न सकिने बताउनुभएको हो ।
उहाँले नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानहरूलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने उद्देश्यले सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको छ । निरन्तरको ‘टिमवर्क’, कानुन कार्यान्वयन र इमान्दार प्रयासका कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री शाहले नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान (डीडीसी) र सिंहदरबार वैद्यखाना विकास समितिमा भएका सुधारका विवरणसमेत सार्वजनिक गर्नुभएको छ ।
उहाँका अनुसार लामो समय घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ । विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्री बढेको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको उहाँले बताउनुभएको छ ।
चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको उहाँले उल्लेख गर्नुभएको छ। सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत आगामी तीन वर्षमा लिमिटेडबाट ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको पनि उहाँले बताउनुभएको छ ।
चालु वर्षमा ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारको उत्पादन तयारी अन्तिम चरणमा पुगेको र हाल लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गरिरहेको उहाँले जानकारी दिनुभएको छ ।
त्यस्तै, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको प्रधानमन्त्री शाहले बताउनुभएको छ। तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादनसमेत भइरहेको उहाँले उल्लेख गर्नुभएको छ। परीक्षणपछि उद्योग नेपाल सरकारले सञ्चालन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभएको छ ।
नेपाल वायुसेवा निगमको आम्दानीमा समेत सुधार आएको उहाँले बताउनुभएको छ। गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको उहाँले जानकारी दिनुभएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो ।
उक्त अवधिमा निगमको सीट उपयोगिता (अकुपेन्सी) ८६ प्रतिशत पुगेको र अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले वृद्धि भएको उहाँले बताउनुभएको छ। जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्तासमेत यही अवधिमा भुक्तानी गरिएको उहाँले उल्लेख गर्नुभएको छ।
त्यसैगरी दुग्ध विकास संस्थान (डीडीसी)मा किसानको बक्यौता भुक्तानीलाई प्राथमिकता दिइएको प्रधानमन्त्री शाहले बताउनुभएको छ। उहाँका अनुसार किसानको भुक्तानी चक्र आठ महिनाबाट घटाएर दुईदेखि तीन महिनामा झारिएको छ। यसअघि करिब ७२ करोड रुपैयाँको भुक्तानी चक्र रहेकामा अहिले ३५ करोड रुपैयाँमा झारिएको उहाँले दाबी गर्नुभएको छ।
किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकम थप गरिएको र सुधारका प्रयास सुरु भएपछि दैनिक बिक्री ३५ प्रतिशतले बढेको उहाँले बताउनुभएको छ। उहाँका अनुसार दैनिक औसत राजस्व ६० लाख रुपैयाँबाट बढेर ९० लाख रुपैयाँ पुगेको छ।
कानुनविपरीत विगतदेखि कर्मचारीलाई वितरण हुँदै आएको घ्यू र दूधको सुविधा कटौती गरेर वार्षिक करिब ३ करोड रुपैयाँ बचत गरिएको पनि उहाँले उल्लेख गर्नुभएको छ। डीडीसीले चाँडै खाडी मुलुकमा घ्यू, चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी गरिरहेको तथा नगरकोट केन्द्रबाट पुनः चिज उत्पादन सुरु गर्न लागिएको उहाँले जानकारी दिनुभएको छ ।







प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै