कालीकोट । कालीकोटको पलाँता गाउँपालिका-९ थिर्पुस्थित पलाँता अस्पतालमा डाक्टर र नर्समाथि हातपात भएको छ । अस्पतालका मेडिकल अफिसर डा. अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि शुक्रबार दिउँसो अस्पताल परिसरमै कुटपिट भएको हो ।
डा. अलीकाअनुसार शुक्रबार दिउँसो करिब १ः५० बजे अस्पतालमा इन्टरनेट चलाउन आएका स्थानीयहरूले आफूहरूमाथि हातपात गरेको जानकारी दिनुभयो ।
अस्पतालका प्रशासन प्रमुख सिनियर अहेब अधिकृत जन्मऋषि न्यौपानेकाअनुसार स्थानीय मैना बम, उनका दुई छोरा र अन्य स्थानीयले अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका हुन् ।
न्यौपानेकाअनुसार मैना बमका १४ र १५ वर्षका दुई छोरा अस्पतालको ओपीडी अगाडि बसेर मोबाइलमा भिडियो गेम खेलिरहेका थिए । अस्पताल नजिकै घर भएकाले उनीहरू यसअघि पनि वाइफाइ चलाउन नियमित अस्पताल आउने गरेका थिए । शुक्रबार डा. अली र नर्स गिरीले उनीहरूलाई अस्पतालबाहिर गएर मोबाइल चलाउन आग्रह गरेका थिए । त्यस क्रममा उनीहरूले ‘यहीँ बसेर चलाउँछौँ, कसले के गर्छ ?’ भन्दै विवाद गरेको बताइएको छ ।
त्यसपछि सुरक्षा गार्डले उनीहरूलाई अस्पताल परिसरबाट बाहिर निकाल्न खोज्दा उनीहरूसहित आमा मैना बम र अन्यले आफूहरूमाथि आक्रमण गरेको डा. अलीले बताउनुभयो ।
डा. अलीले वाइफाइ चलाउने बहानामा आफूहरूमाथि नियोजित रूपमा आक्रमण गरिएको आरोप लगाउनुभएको छ ।
स्थानीयले अस्पतालका कर्मचारीहरूलाई विभिन्न तरिकाले सताउने गरेको गुनासो अस्पताल प्रशासन प्रमुख न्यौपानेको छ । अस्पतालभित्रै गाईवस्तु छाडिदिने र केही भने अस्पताल बाहिर निस्किनै दिँदैनौँ, बाटो नै हिँड्न दिँदैनौँ भन्दै थर्काउनेसमेत गरेको उहाँले बताउनुभयो ।
यसअघि डा. अली मैना बमकै घरमा डेरा लिएर बस्दै आउनुभएको थियो । तर पछि अस्पतालमै आवासको व्यवस्था भएपछि उहाँ करिब १५ दिनअघि मात्रै अस्पतालभित्र बस्न थाल्नुभएको थियो । महोत्तरी घर भएका डा. अली करिब १६ महिनादेखि करार सेवामा उक्त अस्पतालमा कार्यरत हुनुहुन्छ ।
अस्पताल प्रशासनकाअनुसार अस्पतालबाहिरबाटै वाइफाइको सिग्नल टिप्ने भएकाले इन्टरनेट चलाउन अस्पतालभित्रै आउन आवश्यक छैन । दुर्गम क्षेत्र भएकाले सबैको इन्टरनेटमा पहुँच नभएको भन्दै अस्पतालले कसैलाई इन्टरनेट नचलाउन नभनेको न्यौपानेले स्पष्ट पार्नुभयो ।
‘हामीले इन्टरनेट नचलाऊ कसैलाई भनेका छैनौँ,’ उहाँले भन्नुभयो, ‘इन्टरनेट चलाउने बहानामा आएर उल्टै स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नु दुःखद् कुरा हो ।’
कुटपिटबाट स्टाफ नर्स गिरीको पिठ्युँ, निधार र अनुहारमा चोट लागेको तथा डा. अलीको आँखाको डिलमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ ।
घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै डा. अलीले इलाका प्रहरी कार्यालय थिर्पुमा निवेदन दिनुभएको छ ।
डाक्टर र नर्समाथि आक्रमण भएपछि पलाँता गाउँपालिकाका प्रथम अध्यक्ष लक्ष्मणबहादुर बमले ‘१२ वर्षे बच्चाले साँच्चै डाक्टरलाई कुटेकै हो त ?’ भन्दै सामाजिक सञ्जालमा प्रश्न गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘पलाँता अस्पतालमा खास के हो बुझ्न सकिएन । गलत कसले गर्यो, कारबाही होस् । पलाँताको बदनाम कसैले नगरोस् । अस्पताल सेवा दिने ठाउँ हो, डनगिरी गर्ने ठाउँ हैन । कसैलाई मनपरी गर्न मैले बनाइदिएको हैन ।’
साथै अध्यक्ष बमले आक्रमण गर्ने जोसुकै भए पनि उनीहरूमाथि कारबाही गरिनुपर्ने बताउनुभएको छ ।







सिंहदरबारको नाम फेर्न सांसद ढकालको
उच्च आर्थिक वृद्धिको लागि नीतिगत
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु,
भदौदेखि रास्वपाको ‘नागरिक, नीति र
बालेन नेतृत्वको सरकार शासकीय अराजकतामा
कांग्रेसभित्र बृहद् एकताका लागि राष्ट्रिय