बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको आगमन बढ्दै गएको छ। पछिल्लो एक वर्षमा ३७ हजार ५२० पर्यटक ढोरपाटन पुगेका छन्।
ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङका अनुसार पर्यटकमध्ये अधिकांश नेपाली रहेका छन्। कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार एक वर्षमा ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा करिब १३ हजारले बढेको छ।
पर्यटकीय पूर्वाधार निर्माण, प्रचारप्रसार तथा व्यवस्थित होटल र घरबास (होमस्टे)को विकाससँगै ढोरपाटनमा पर्यटकको आगमन बर्सेनि बढ्दै गएको उहाँले बताउनुभयो।
आर्थिक वर्ष २०८२/८३ मा ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या ३७ हजार ५२० पुगेकोमा ३७ हजार २७० जना नेपाली पर्यटक रहेका छन्। आव २०८१/८२ मा २३ हजार ६९२ र आव २०८०/८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेका थिए।
पर्यटकको सङ्ख्या बढेसँगै आरक्षको राजस्वसमेत वृद्धि भएको छ। आव २०८२/८३ मा पर्यटक प्रवेश शुल्कबाट ४७ लाख ६८ हजार ४०५ रुपैयाँ राजस्व सङ्कलन भएको छ। अघिल्लो आवमा प्रवेश शुल्कबाट ३१ लाख २१ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको थियो।
ढोरपाटन क्षेत्रको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार विस्तार, बुकीपाटनको चर्चा तथा जलजलामा पदयात्राका लागि पर्यटक आकर्षित हुँदा आगमन बढेको रेञ्जर सुवेदीले बताउनुभयो।
‘ढोरपाटनको आकर्षण अहिले बाहिर आउन थालेको छ। यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुनुको प्रमुख कारण प्रचारप्रसार हो। पर्यटकीय पूर्वाधार थपिनु, बुकीपाटन, बुकीफूल र जलजलाको चर्चासँगै पदयात्रीको रोजाइमा पर्नु तथा होटल र घरबासको व्यवस्थापनका कारण पर्यटक बढेका हुन्,’ उहाँले भन्नुभयो।
पर्यटक सूचना प्रणालीको विकास, पर्यटन पदमार्गको रुट कायम तथा अन्य पूर्वाधार विस्तारले समेत ढोरपाटनको प्रचारप्रसारमा सहयोग पुगेको उहाँको भनाइ छ।
हाल आरक्षले नेपाली तथा आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति १०० रुपैयाँ, सार्क राष्ट्रका पर्यटकबाट एक हजार ५०० रुपैयाँ र अन्य विदेशी पर्यटकबाट तीन हजार रुपैयाँ प्रवेश शुल्क लिँदै आएको छ।
त्यस्तै, आरक्षले ढुङ्गा, गिट्टी र बालुवाबाट आव २०८२/८३ मा एक करोड एक लाख २७ हजार ९५३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४६ लाख ४१ हजार रुपैयाँ बढी हो।
यसअघि ढोरपाटनमा मुख्यतः सिकार खेल्न विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय आन्तरिक पर्यटकसमेत ढोरपाटन उपत्यका, निशेलढोर, ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायत क्षेत्रको अवलोकनका लागि पुग्न थालेका छन्।
समुद्री सतहबाट दुई हजार ९०० मिटर उचाइमा रहेको ढोरपाटन उपत्यकादेखि चार हजार मिटरभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्न थालेका छन्। आरक्ष कार्यालयले पर्यटकका लागि शुल्क तिरेर पालसहित बस्ने व्यवस्थासमेत मिलाएको रेञ्जर सुवेदीले जानकारी दिनुभयो।
रासस







मनसुनी वायुको प्रभाव, देशका केही
यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला