भक्तपुर । खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी महँगो मूल्यमा बिक्री गरेको आरोपमा भक्तपुरको दुवाकोटबाट एक व्यापारी पक्राउ पर्नुभएको छ।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित बारुदखाना चोकमा किराना पसल सञ्चालन गर्दै आउनुभएका तुलसीराम त्वयना रहनुभएको प्रहरीले जनाएको छ। उहाँले उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर ७ हजार रुपैयाँमा बिक्री गरेको आरोप छ।
विशेष सूचनाका आधारमा प्रहरी प्रभाग दुवाकोटबाट प्रहरी नायब निरीक्षक खिलबहादुर दुलालको नेतृत्वमा खटिएको टोलीले शनिबार बिहान त्वयनालाई नियन्त्रणमा लिएको हो।
उहाँलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी वृत्त थिमिमा ल्याइएको वृत्तका प्रहरी निरीक्षक राजन थापाले बताउनुभयो।
प्रहरीका अनुसार उपभोक्ताले अनलाइन माध्यमबाट रकम भुक्तानी गरी ग्यास खरिद गरेलगत्तै त्वयनालाई नियन्त्रणमा लिइएको हो। प्रहरीले उहाँको पसलबाट भरिएका तीन थान ग्यास सिलिन्डरसमेत बरामद गरेको जनाएको छ।
पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज हुन नसकेका बेला केही व्यापारीले यही अवस्थाको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गरी तोकिएको मूल्यभन्दा महँगोमा ग्यास बिक्री गर्ने गरेको उपभोक्ताको गुनासो छ।
ग्यास अभावलाई अवसर बनाएर हुने कालोबजारी नियन्त्रण गर्न प्रहरीले बजार अनुगमन तथा निगरानी बढाउनुपर्ने उपभोक्ताले माग गर्दै आएका छन्।
पक्राउ पर्नुभएका व्यापारी त्वयनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानपछि कालोबजारीसम्बन्धी कानुनी प्रावधानअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।







बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु
बेलायत निर्मित ड्रोन रुसी भूभागमा
मकवानपुरमा स्कारपियो दुर्घटना : मुख्य
प्रतिनिधिसभा बैठक सुरु, चार मन्त्रीले