काठमाडौँ । गुणस्तरीय शैक्षिक सामग्रीमा सहज पहुँच विस्तार गर्ने उद्देश्यले सरकारले सञ्चालनमा ल्याएको ‘सिकाइ चौतारी’ डिजिटल सिकाइ प्लेटफर्ममा ४० हजारभन्दा बढी प्रयोगकर्ता जोडिएका छन्।
विद्यालय तहअन्तर्गत कक्षा १ देखि १२ सम्मका विद्यार्थी, शिक्षक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालालाई प्रविधिमैत्री सिकाइको अवसर उपलब्ध गराउने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘सिकाइ चौतारी’लाई वेबसाइट र एपमार्फत सञ्चालन गरिरहेको छ।
‘सबैका लागि शिक्षा, जहाँ पनि जहिले पनि सिक्नुहोस्’ भन्ने अवधारणाका साथ विकास गरिएको यो प्लेटफर्म शिक्षक, विद्यार्थी र अभिभावकका लागि साझा डिजिटल मञ्चका रूपमा अघि बढाइएको हो।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्बाट पारित सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमा समेत समावेश ‘सिकाइ चौतारी’मा हालसम्म ४० हजार ४४९ प्रयोगकर्ता सहभागी भइसकेका छन्।
केन्द्रका अनुसार तीमध्ये दुई हजार ७५४ विद्यार्थी, ३४ हजार २३१ शिक्षक र तीन हजार ४६४ जना अन्य प्रयोगकर्ता छन्। पोर्टलमा हाल कक्षा १ देखि १२ सम्मका ५८ वटा पाठ्यक्रमसम्बन्धी सामग्री उपलब्ध छन्।
डिजिटल माध्यमबाट शैक्षिक सामग्रीमा पहुँच पुर्याउने, विषयविज्ञसँग जोडिने तथा नयाँ ज्ञानको खोज र विस्तार गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले ‘सिकाइ चौतारी’ अघि बढाइएको केन्द्रले जनाएको छ।
दूरदराजका शिक्षक र विद्यार्थीलाई जोड्ने तयारी
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक एवं प्रवक्ता महेन्द्र पराजुलीका अनुसार हाल ‘सिकाइ चौतारी’को प्रयोग सहरी क्षेत्रका शिक्षकले बढी गरिरहेका छन्।
अब यसको क्षमता र पहुँच विस्तार गर्दै दूरदराजका शिक्षक तथा विद्यार्थीलाई समेत जोड्ने तयारी भइरहेको उहाँले बताउनुभयो।
‘सिकाइ चौतारी’ विगतदेखि नै निरन्तर सञ्चालन हुँदै आएको कार्यक्रम भएकाले चालु आर्थिक वर्षमा यसको सुदृढीकरणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो। विद्यार्थीमैत्री सामग्री उत्पादनमा थप जोड दिइने उहाँको भनाइ छ।
एसइई परीक्षालाई लक्षित गरी सामग्री विकास गरेर राष्ट्रिय परीक्षा बोर्डको सहकार्यमा रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रसारण गर्दा नतिजामा सुधार आएको उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
श्रव्यदृश्यदेखि साङ्केतिक भाषासम्मका सामग्री
‘सिकाइ चौतारी’मा पाठ्यक्रमअनुसार श्रव्यदृश्य सामग्री तथा रेखाचित्रसहित आकर्षक शैलीमा विभिन्न स्रोत सामग्री राखिएका छन्।
यसमा स्वनिर्देशित सिकाइ सामग्री, शिक्षा पोर्टल कार्यक्रम, विद्यालय पूर्वाधार डिजाइन तथा श्रव्यदृश्य सामग्री, साङ्केतिक भाषा स्रोत, नवप्रतिभा विज्ञान परिचय, योग अभ्यास, नेपाली बालसङ्ग्रह, गीत सङ्ग्रह, श्रव्य शिक्षा सामग्री, आईसीटी सामग्री, एसइई परीक्षा, अनौपचारिक तथा आजीवन सिकाइ कार्यक्रमलगायत सामग्री उपलब्ध छन्।
त्यस्तै, समाचार मञ्च, नेपाली तथा अङ्ग्रेजी कथा, शब्दावलीलगायत सामग्रीसमेत पोर्टलमा समावेश गरिएको उपमहानिर्देशक पराजुलीले जानकारी दिनुभयो।
डिजिटल प्लेटफर्ममार्फत विद्यार्थी तथा शिक्षकले विभिन्न विषयसँग सम्बन्धित गुणस्तरीय शैक्षिक सामग्री प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
परम्परागत कक्षाकोठामा सीमित सिकाइलाई डिजिटल माध्यमबाट विस्तार गर्दै भौगोलिक तथा अन्य कारणले शैक्षिक स्रोतमा सहज पहुँच नपुगेका विद्यार्थी र शिक्षकलाई समेत सिकाइको अवसर उपलब्ध गराउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।
एआई प्रयोग गरेर शिक्षक तालिम सामग्री बनाइँदै
देशभरका शिक्षकलाई ‘सिकाइ चौतारी’को प्रयोगबारे जानकारी दिने उद्देश्यले अभिमुखीकरणसम्बन्धी अध्ययन शृङ्खासमेत तयार गरिएको छ।
उक्त शृङ्खलाका केही पाठ कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरेर तयार गरिएको केन्द्रले जनाएको छ।
एआई तथा नयाँ प्रविधिको प्रयोगबाट स्वीकृत पाठ्यसामग्री र पाठ्यक्रमअनुसार आगामी दिनमा अन्तरक्रियात्मक शृङ्खा तथा शिक्षक तालिमसम्बन्धी सामग्री विकास गरिने उपमहानिर्देशक पराजुलीले बताउनुभयो।
डिजिटल शिक्षालाई उच्च प्राथमिकता
हालै सम्पन्न शिक्षा तथा खेलकुद मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति तथा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा बैठकमा डिजिटल नेपाल निर्माणको अवधारणाअनुसार शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग विस्तार गर्ने क्रममा ‘सिकाइ चौतारी’को विकासलाई महत्वपूर्ण कदमका रूपमा लिइएको थियो।
गुणस्तरीय शैक्षिक सामग्रीमा पहुँच, विषयविज्ञसँगको सम्बन्ध तथा नवीन ज्ञानको विस्तारलाई एउटै डिजिटल माध्यममा जोड्ने प्रयासले नेपालको शिक्षा प्रणालीलाई थप समावेशी, प्रविधिमैत्री र पहुँचयोग्य बनाउन योगदान पुर्याउने भएकाले यसको विस्तारमा जोड दिइएको थियो।
बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चालु आर्थिक वर्षदेखि ‘सिकाइ चौतारी’ कार्यक्रमलाई उच्च प्राथमिकताका साथ प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो।
उहाँले नयाँ पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, नतिजामुखी कार्यसंस्कृतिको विकास तथा शिक्षा प्रणालीमा गुणात्मक सुधारमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।






केयू-सिकागो विश्वविद्यालयको सहकार्यमा अन्तर्राष्ट्रिय अनुवाद
न्यायपालिकाको स्वतन्त्रता संकटमा
रास्वपामा चिसिँदो सम्बन्ध, सल्किँदो आगो
राशिफल २२ साउन, वृष :
‘जय नेपाल पार्टी’को उदय :
नयाँ तलबमान सार्वजनिक