काठमाडौं । मधेश केन्द्रित दलसहित आठ राजनीतिक शक्तिले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन्।
काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा शनिबार आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित आठ दलले मोर्चा घोषणा गरेका हुन्।
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खम्बुवान राष्ट्रिय मोर्चा सहभागी छन्।
मोर्चा घोषणासँगै २८ बुँदे अवधारणापत्रसमेत सार्वजनिक गरिएको छ। अवधारणापत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले हस्ताक्षर गर्नुभएको छ।
त्यस्तै, नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अंसारी, बहुजन एकता पार्टीका अध्यक्ष डा. हरिनन्दन कुमार रञ्जन र खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष रामकुमार राईले पनि अवधारणापत्रमा हस्ताक्षर गर्नुभएको छ।
मोर्चाको नेतृत्वको कार्यकाल निश्चित अवधिका लागि हुने र सकेसम्म सर्वसम्मतिबाट निर्णय गरिने अवधारणापत्रमा उल्लेख छ। सर्वसम्मति हुन नसके लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार निर्णय गरिने जनाइएको छ।
मोर्चाले गरेको निर्णयको सम्मान गर्नु सबै सदस्यको कर्तव्य हुने तथा घटक दलहरूले सार्वजनिक रूपमा मोर्चाको निर्णयविपरीत गतिविधि गर्न नहुने सहमति गरिएको छ। कुनै विषयमा विवाद उत्पन्न भए आपसी समझदारी र सहमतिका आधारमा समाधान गर्ने व्यवस्था गरिएको छ।
आगामी निर्वाचनमा साझा रणनीति बनाउने तथा आवश्यकताअनुसार संयुक्त सहभागिता जनाउने विषयलाई समेत अवधारणापत्रमा समेटिएको छ। यस्तै, आन्दोलन, जनसङ्घर्ष तथा जनजीविकासम्बन्धी अभियान संयुक्त रूपमा सञ्चालन गर्ने सहमति भएको छ।
राष्ट्रिय महत्वका राजनीतिक, आर्थिक तथा सामाजिक मुद्दामा साझा अवधारणा निर्माण गरी संयुक्त पहल गर्ने मोर्चाको उद्देश्य रहेको जनाइएको छ।
मोर्चाको प्रस्तावना र उद्देश्यअनुकूल हुने गरी राजनीतिक, सङ्गठनात्मक तथा अन्य आवश्यक निर्णय गरेर कार्यान्वयन गर्न सक्ने अधिकारसमेत मोर्चालाई दिइएको छ।
मोर्चा घोषणालाई मधेश केन्द्रितसहित विभिन्न राजनीतिक शक्तिबीचको सहकार्यलाई संस्थागत गर्ने प्रयासका रूपमा हेरिएको छ।







रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई
सेमन्तको मुक्तक संग्रह‘अँधेरीमा जून’ प्रकाशन
‘देहूडु : अलौकिक ऊर्जा’ प्रकाशित
म्यानचेस्टर डर्बीमा सिटीको विवादास्पद जित