काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकलाई विद्यमान अन्त्यहीन संकटबाट निकास दिन नयाँ राजनीतिक मोर्चाको आवश्यकता रहेको बताउनुभएको छ।
शनिबार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले देशको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्था दयनीय बन्दै गएकाले अग्रगामी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिनुभएको हो।
उहाँले ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनबाट राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा अपेक्षाअनुसार परिवर्तन आउन नसकेको टिप्पणी गर्नुभयो। वर्तमान राजनीतिमा धोका, बेइमानी र अनैतिकता हाबी भएको भन्दै त्यसलाई तोड्न आवश्यक रहेको उहाँले बताउनुभयो।
नवनिर्मित मोर्चाको उद्देश्य सत्ता प्राप्ति वा पदको भागबण्डा नभई मुलुकलाई समृद्धिको दिशामा अघि बढाउनु रहेको अध्यक्ष साहले स्पष्ट पार्नुभयो।
‘हाम्रो यो मोर्चा कुनै मन्त्रालय वा शक्ति बाँडफाँडका लागि बनेको होइन। यो त मुलुकलाई फेक शासनबाट मुक्त गरी असल शासनतर्फ लैजान, स्वाधीन नेपाल बनाउन र वास्तविक लोकतन्त्रको रक्षाका लागि निर्माण गरिएको हो,’ उहाँले भन्नुभयो।
अध्यक्ष साहका अनुसार अग्रगामी मोर्चा हिमाल, पहाड र मधेसको साझा राजनीतिक मञ्चका रूपमा अघि बढ्नेछ। नेपालमा राजनीतिक अस्थिरता र गठबन्धनहरू छिट्टै टुट्ने प्रवृत्तिको अन्त्य गर्दै मोर्चालाई दीर्घकालीन रूपमा अघि बढाउने उहाँले बताउनुभयो।
मुलुकको आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले किसान, व्यापारी र उद्योगीहरू निराश रहेको तथा युवा शक्ति विदेश पलायन भइरहेको बताउनुभयो।
सरकार र सत्ता परिवर्तन भए पनि काम गर्ने संस्कार र प्रवृत्तिमा परिवर्तन आउन नसकेको उहाँको आरोप छ। वर्तमान सरकारले समेत जनतालाई ढाँटेको आरोप लगाउँदै उहाँले चुनावअघि सुशासन र सेवा प्रवाहका ठूला कुरा गर्नेहरू सत्तामा पुगेपछि नागरिकलाई लाइनमा बस्न बाध्य पारिरहेको टिप्पणी गर्नुभयो।
‘देश निरन्तर संकटको यात्रामा छ। ४६ सालको आन्दोलन, जनयुद्ध र मधेस आन्दोलनका माध्यमबाट ठूलो बलिदानी त भयो, तर जनताले अपेक्षा गरेको सुखद् दिन अझै आउन सकेको छैन,’ उहाँले भन्नुभयो।
विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रममा अध्यक्ष साहले निराश जनतामा उत्साह जगाउन तथा देशको अस्तित्व रक्षाका लागि सबैलाई एकजुट हुन आह्वान गर्नुभयो।
उहाँले अग्रगामी मोर्चा विगतको विभाजनको चक्रबाट मुक्त रहने र नेपाली राजनीतिमा देखिएका विकृति अन्त्य गर्ने ऐतिहासिक अभिभारा पूरा गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न