काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले सङ्घीयता, गणतन्त्र र समावेशितालगायतका राजनीतिक उपलब्धिको रक्षाका लागि ‘अग्रगामी मोर्चा’ले सशक्त भूमिका खेल्ने बताउनुभएको छ।
शनिबार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष परियारले वर्तमान सरकार जनभावनाविपरीत र विचारविहीन भएको टिप्पणी गर्नुभएको हो।
उहाँले युवाहरूका सपना र आदर्शलाई दक्षिणपन्थी शक्तिले दुरुपयोग गरिरहेको आरोप लगाउँदै ती सपना साकार पार्न अग्रगामी मोर्चा गठन गरिएको स्पष्ट पार्नुभयो।
सरकारलाई जनताको ‘सेवक’का रूपमा परिभाषित गर्दै उहाँले सरकारलाई ‘अभिभावक’ मान्ने परम्पराको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो।
मधेस र पहाडबीचको सम्बन्धबारे चर्चा गर्दै अध्यक्ष परियारले दुई क्षेत्रबीच केवल सद्भाव मात्र नभई ‘समभाव’ आवश्यक रहेको बताउनुभयो।
गरिब, सुकुम्बासी, मजदुर तथा उत्पीडित वर्गका पक्षमा मोर्चाले सडक र सदन दुवैबाट आवाज उठाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रममा उहाँले नयाँ भनिएका राजनीतिक शक्तिले नेपालको राजनीतिक इतिहासको अवमूल्यन गरिरहेको भन्दै असन्तुष्टिसमेत व्यक्त गर्नुभयो। समाज विकासको क्रममा हरेक पुस्ताको योगदान महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले उपेन्द्र यादव, जनार्दन शर्मा, प्रभु साह र रेशम चौधरीलगायतका नेताले गरेको संघर्षलाई नजरअन्दाज गर्न नमिल्ने बताउनुभयो।
अध्यक्ष परियारले २००७ सालदेखिको निरन्तर संघर्ष, मधेस आन्दोलन र जनयुद्धबाट प्राप्त नागरिक सर्वोच्चता, सङ्घीयता तथा सामाजिक न्यायका पक्षमा मोर्चा सधैँ उभिने बताउनुभयो।
‘यदि संख्याको बलमा रहेको वर्तमान सरकारले यी उपलब्धिमाथि आक्रमण गर्न खोजेमा मोर्चाले त्यसको सशक्त प्रतिवाद गर्नेछ,’ उहाँले भन्नुभयो।
सरकार नेपाली जनताको सेवक भएको भन्दै उहाँले सरकारलाई अभिभावकका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिको आलोचना गर्नुभयो।
‘आवधिक निर्वाचनबाट आएको पाँच वर्षे सरकारले राज्यका स्थापित ऐतिहासिक संस्था र विधिभन्दा बाहिर गएर काम गर्न पाउँदैन। जुन दिन जनताको धैर्य टुट्छ र उनीहरू जाग्छन्, त्यो दिन बालुवाटार र सिंहदरबार धेरै टाढा हुनेछैनन्,’ उहाँले भन्नुभयो।
अध्यक्ष परियारले वर्तमान संविधान पूर्ण नभए पनि तुलनात्मक रूपमा उत्पीडित समुदायको पक्षमा रहेको उल्लेख गर्दै यसको रक्षाका लागि जनता सचेत हुनुपर्ने बताउनुभयो।
अग्रगामी मोर्चाले आगामी दिनमा समाजवाद, सुशासन र सामाजिक रूपान्तरणका लागि निरन्तर संघर्ष गर्ने संकल्प गरेको छ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।






शरणार्थीले निम्त्याउने समस्या
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
कक्षा १२ को मौका परीक्षाको
आजका लागि तोकियो विदेशी मुद्राको
सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष
कठिन चुनौतीबीच जनादेशको जिम्मेवारी