काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रमुख राजनीतिक दलहरूले आफ्ना कमी–कमजोरी सच्याउँदै अघि बढ्नु नै नेपालको राजनीतिक भविष्यका लागि सुरक्षित बाटो भएको बताउनुभएको छ।
शनिबार नेकपा (एमाले) तारकेश्वर नगर कमिटीद्वारा आयोजित ‘मिसन पार्टी जागरण २०८३’ तथा पुष्पलाल स्मृति दिवस कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी र राजनीतिक आन्दोलन कमजोर हुनुका कारण पहिचान गरी समाधान गर्नु अहिलेको मुख्य सांगठनिक कार्यभार भएको बताउनुभयो।
उहाँले पार्टीलाई वैचारिक, राजनीतिक तथा संगठनात्मक रूपमा एकताबद्ध बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण आवश्यक रहेको उल्लेख गर्नुभयो। कार्यकर्ता पलायनप्रति चिन्ता व्यक्त गर्दै पोखरेलले पार्टी पुनर्गठनका लागि कार्ययोजना बनाउन कार्यदल गठन गरिएको जानकारी दिनुभयो।
उहाँले संस्थागत निर्णय र कार्ययोजना पर्खेर मात्र नबस्न कार्यकर्तालाई आग्रह गर्दै आ–आफ्नो क्षेत्रमा संगठनलाई व्यवस्थित र बलियो बनाउन तत्कालै पहल गर्न निर्देशन दिनुभयो।
निर्वाचनमा पार्टीले अपेक्षाअनुसार परिणाम ल्याउन नसके पनि जनताको मनोविज्ञान र भावनालाई बुझेर अघि बढ्न सके एमालेले वर्तमान चुनौती सामना गर्न सक्ने उहाँको दाबी थियो।
महासचिव पोखरेलले राष्ट्रका समस्या समाधान गर्ने क्षमता प्रमुख राजनीतिक दलहरूसँग मात्रै रहेको जिकिर गर्दै वैकल्पिक शक्तिका नाममा भइरहेका राजनीतिक प्रयोगले अपेक्षित परिणाम दिन नसक्ने तर्क गर्नुभयो।
उहाँले ‘देखाइदिऊँ’ भन्ने राजनीतिक प्रवृत्तिको परिणाम अहिले भोगिरहेको उल्लेख गर्दै प्रमुख दलहरूले आफ्ना कमजोरी सुधार्दै अघि बढ्नु नै नेपालको राजनीतिक भविष्यका लागि सुरक्षित बाटो भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “हामीले चुनाव हारेका छौँ, तर जनताको मनोविज्ञान र भावनालाई बुझेर अघि बढ्ने संकल्प गर्ने हो भने आजका चुनौती सामना गर्ने सामर्थ्य यही पार्टीसँग छ।”
संगठन निर्माणमा देखिएका समस्या समाधान गर्दै प्रविधिको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिँदै पोखरेलले आगामी कार्ययोजना सफल बनाउन कार्यकर्ताहरूलाई सक्रिय भएर लाग्न निर्देशनसमेत दिनुभयो।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :