काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले निर्वाचनअघि गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाउनुभएको छ।
शनिबार आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रममा सम्बोधन गर्दै चौधरीले निर्वाचनअघि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका युवालाई स्वदेश फर्काउने, सुशासन कायम गर्ने र देशलाई नयाँ ढंगले सञ्चालन गर्ने दाबी गरे पनि व्यवहारमा त्यसको उल्टो अवस्था देखिएको बताउनुभयो।
सरकारले नागरिकमाथि करको भार थप्दै गएको आरोप लगाउँदै उहाँले कर तिर्ने नागरिकलाई थप बोझ पार्नुभन्दा करको दायित्व पूरा नगर्ने पक्षलाई करको दायरामा ल्याउनुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “सबै कुरामा कर थोपरेर नागरिक सर्वोच्चताको कुरा गर्छौँ। कर तिर्नेले तिरे कि तिरेनन्, त्यहाँ हेर्नुपर्छ।”
चौधरीले सरकारप्रति नागरिक सन्तुष्ट हुन नसकेको दाबी गर्दै किसानले उत्पादनको उचित मूल्य नपाएको विषयसमेत उठाउनुभयो। उहाँका अनुसार चैते धान किसानले प्रतिक्विन्टल २ हजार ५ सय रुपैयाँमा बिक्री गर्न बाध्य भए पनि बिचौलियाले त्यही धान महँगो मूल्यमा उपभोक्तालाई बिक्री गरिरहेका छन्।
निर्वाचनअघि गरिएका प्रतिबद्धता स्मरण गर्दै चौधरीले विदेशमा रहेका युवालाई स्वदेश फर्काउने भनिए पनि उनीहरू विदेशिने क्रम नरोकिएको, सुशासन र डिजिटल सेवाको प्रतिबद्धता गरिए पनि नागरिकले दैनिक जीवनमा सहजता महसुस गर्न नसकेको टिप्पणी गर्नुभयो।
उहाँले देश निर्माणका लागि सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको स्पष्ट पार्नुभयो। आफूहरू सरकारको विरोधका लागि मात्रै मोर्चाबन्दीमा नलागेको बताउँदै चौधरीले सरकारलाई आफ्ना सुझाव र नागरिकका समस्या सम्बोधन गर्न आग्रह गर्नुभयो।
उहाँले सरकारले आवाजलाई बेवास्ता गर्दै गए आन्दोलनको स्वरूप परिवर्तन हुन सक्ने चेतावनीसमेत दिनुभयो।
“सरकार, हाम्रा कुरा पनि सुनिदेऊ है,” उहाँले भन्नुभयो, “हाम्रा कुरा नसुन्दै जाने हो भने बिस्तारै हामीले फुसफुसाएका आवाज स्वरमा परिणत हुन्छन्। ती स्वरलाई पनि सुनिएन भने चिच्याहटमा परिणत हुन्छन्।”
चौधरीले आफूहरू तत्काल सडक आन्दोलन वा धर्नामा जाने पक्षमा नरहेको उल्लेख गर्दै सरकारलाई समयमै नागरिकका माग र सुझाव सम्बोधन गर्न आग्रह गर्नुभयो।







प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै