एजेन्सी । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले युरेफी फुटबल महासंघमा महासचिव रहँदा एक कथित प्रेमिकालाई सम्बन्ध विच्छेदको क्षतिपूर्तिबापत ठूलो रकम भुक्तानी दिएको भन्ने दाबीलाई कडा रूपमा अस्वीकार गर्नुभएको छ । ‘डेली टेलिग्राफ’ले गरेको एक अनुसन्धानमा इन्फान्टिनोले आफ्नो कार्यकालमा महिलालाई गोप्य रूपमा रकम भुक्तानी गरेको दाबी गरिएको थियो ।
फिफा अध्यक्षका प्रवक्ताले टेलिग्राफसँग कुरा गर्दै इन्फान्टिनोले ती आरोपहरू पूर्ण रूपमा असत्य र आधारहीन रहेको बताएको जानकारी दिएका छन् । विवाहित ५६ वर्षीय इन्फान्टिनोका प्रवक्ताले भन्नुभएको छ, ‘फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यी आरोपहरूलाई दृढतापूर्वक अस्वीकार गर्नुहुन्छ र यी पूर्ण रूपमा असत्य हुन् । कुनै पनि किसिमको अनुपयुक्त आचरण वा विधान तथा नियमहरूको उल्लंघन भएको भन्ने कुरा मानहानीपूर्ण छ ।’ उहाँले युएफा वा फिफामा कहिल्यै पनि कुनै कर्मचारीले इन्फान्टिनोको व्यवहारविरुद्ध उजुरी नदिएको बताएका छन्, किनकि त्यस्तो कुनै घटना नै घटेको थिएन ।
युरोपेली फुटबलको साबिकको नियमनकारी निकाय युएफाले भने ती महिलासँग सम्बन्धित विषयमा प्रस्ट पार्दै ‘सम्बन्धित व्यक्तिलाई बिदाइ भुक्तानी’ गरिएको पुष्टि गरेको छ । सन् २००९ देखि २०१६ सम्म युएफाको महासचिवको जिम्मेवारी सम्हालेका इन्फान्टिनोको समयमा गरिएको उक्त भुक्तानीले स्थानीय बिजनेस स्कुलमा एमबिए पाठ्यक्रम पूरा गर्न आवश्यक पर्ने शुल्कसमेत कभर गरेको युएफाले जनाएको छ । युएफाले त्यसबेलाका सबै भुक्तानीहरू प्रचलित नियमअनुसार नै गरिएको स्पष्ट पारेको छ । यद्यपि आधुनिक र उच्च प्रोफाइल भएका संस्थाहरूको मापदण्ड अनुरूप अहिले त्यस्ता नियमहरू थप कडा बनाइएको छ ।
विश्वकपको सेयर निजी लगानीकर्ताहरूलाई बिक्री गर्ने विवादास्पद योजना असफल भएपछि पहिलेदेखि नै फिफा अध्यक्ष पद जोगाउन संघर्ष गरिरहेका इन्फान्टिनोमाथि यी नयाँ आरोपहरूले थप दबाब सिर्जना गरेका छन् । यसअघि नै उहाँले उक्त विवादास्पद प्रस्तावका सन्दर्भमा आफूबाट भएका ‘त्रुटिहरू’ का लागि माफी मागिसक्नुभएको छ । गत बुधबार मोरोक्कोमा भएको बैठकमा वरिष्ठ कार्यकारीहरूको समर्थन प्राप्त भएपछि उहाँले पदबाट राजीनामा भने दिनुभएको छैन ।
निजी लगानीकर्तालाई विश्वकपको स्वामित्व बिक्री गर्ने योजना पछि गएर खारेज गरिए तापनि युरोपेली टिमहरूले आफ्ना केही शर्तहरू अझै पूरा नभएको भन्दै फिफाका कार्यक्रमहरू बहिष्कार गर्ने धम्की दिइरहेका छन् । यद्यपि, दक्षिण अमेरिकी महासंघ, अफ्रिकी फुटबल महासंघका साथै विश्वकपका सह-आयोजक मेक्सिको र उपविजेता अर्जेन्टिनाका फुटबल संघहरूले भने इन्फान्टिनोलाई समर्थन गरेका छन् ।







सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
आजका लागि तोकियो विदेशी मुद्राको
कक्षा १२ को मौका परीक्षाको
सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष