नयाँदिल्ली । क्रिकेट इतिहासमा एकदिवसीय (वनडे) ले नयाँ र ऐतिहासिक कीर्तिमान कायम गरेको छ । स्कटल्याण्ड र क्यानडाबीच खेलिएको म्याचसँगै वनडे क्रिकेटले आफ्नो ५०००औँ अन्तर्राष्ट्रिय म्याचको आँकडा पूरा गरेको हो । यो उपलब्धि हासिल गर्ने वनडे क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेटकै पहिलो र एकमात्र फर्म्याट बनेको छ । सन् १८७७ मा टेस्ट क्रिकेटको सुरुवात भए पनि अहिलेसम्म टेस्ट म्याचहरू ३ हजारको आँकडासम्म पनि पुग्न सकेका छैनन्, जबकि ५५ वर्षको अन्तरालमा वनडेले पाँच हजार म्याचको लामो यात्रा तय गरेको हो ।
पाँच जनवरी १९७१ मा मेलबर्न क्रिकेट मैदानमा अस्ट्रेलिया र इंग्ल्याण्डबीचको टेस्ट म्याच लगातार चार दिन वर्षाले प्रभावित भएपछि दर्शकहरूलाई खाली हात फर्काउन नपरोस् भनी सुरु भएको ४०–४० ओभरको त्यो आकस्मिक खेल नै आज क्रिकेटको सबैभन्दा लोकप्रिय र ठूलो फर्म्याट बन्न पुग्यो । त्यसबेला खेलाडीहरूले सेतो लुगा लगाएका थिए र रातो बलले खेलिएको थियो । उक्त ऐतिहासिक सुरुवातपछि २९ वटा देशले वनडे खेलिसकेका छन् र यसै फर्म्याटले विश्वकपको अवधारणा जन्माएको हो जसमा भारत पहिलोपटक च्याम्पियनसमेत बनेको थियो ।
नियमहरूमा भएका अनगिन्ती प्रयोग
पहिलो वनडे ४०-४० ओभरको र प्रतिओभर ८ बलको थियो । सुरुवाती दिनहरूमा विभिन्न देशहरूले आ-आफ्नो सुविधाअनुसार ओभरहरू तय गर्ने गरेका थिए । इंग्ल्याण्डले ५५ ओभरका खेलहरू गराउँथ्यो भने १९७५ र १९७९ का पहिलो दुई विश्वकप ६०-६० ओभरका खेलाइएका थिए । न्युजिल्याण्डमा ३५ ओभर, वेष्ट इण्डिजमा ४५ ओभर तथा पाकिस्तानमा ३५, ४० र ५० ओभरका खेलहरू भए । पछि अन्तर्राष्ट्रिय क्रिकेटमा एकरूपता ल्याउन ५० ओभरको फर्म्याटलाई अपनाइयो । सन् १९७८ मा वेष्ट इण्डिज ५० ओभरको वनडे गराउने पहिलो देश बन्यो भने सन् १९८७ को विश्वकप पहिलोपटक ५० ओभरमा खेलियो । यद्यपि, इंग्ल्याण्डले त्यसबेला पनि केही समय ५५ ओभरकै खेल जारी राख्यो, तर सन् १९९६ को विश्वकपपछि भने पूर्ण रूपमा ५० ओभरको नियम विश्वभर लागू भयो ।
क्रिकेटमा भएका अधिकांश प्रयोगहरू सबैभन्दा पहिले वनडेमै गरिएका हुन् । तेस्रो अम्पायर, डे-नाइट क्रिकेट, सेतो बल, पावरप्ले, डिआरएस, डिएलएस र सुपर ओभरजस्ता महत्त्वपूर्ण नियमहरू यसै फर्म्याटका देन हुन् ।
बदलिदियो क्रिकेटको रूप
सन् १९७७ मा अस्ट्रेलियाली मिडिया व्यवसायी केरी प्याकरले ‘वर्ल्ड सिरिज क्रिकेट’को सुरुवात गरेपछि क्रिकेटको मुहार नै फेरियो । उहाँले विश्वका ठूला खेलाडीहरूसँग सम्झौता गरेर छुट्टै प्रतियोगिता आयोजना गर्नुभयो, जसमा खेलाडीहरू पहिलोपटक पेस्टल रंगका जर्सीमा मैदानमा उत्रिएका थिए । यसै शृंखलाले क्रिकेटमा तीन ठूला परिवर्तन ल्याएको हो ।
सन् १९७८-७९ को सिजनमा पहिलोपटक टोलीहरू रंगीन जर्सीमा देखिए, जसमा अस्ट्रेलियाले पहेँलो, वेष्ट इण्डिजले गुलाबी र वर्ल्ड–११ ले नीलो जर्सी लगाएका थिए । पहिलोपटक फ्लड लाइट्सको उज्यालोमा रात्रिकालीन म्याचहरू खेलाइए, जुन पछि अन्तर्राष्ट्रिय क्रिकेटको अभिन्न अंग बन्यो । राती रातो बल स्पष्ट नदेखिने हुँदा सेतो बलको प्रयोग थालियो । सन् १९९२ को विश्वकप पहिलो आइसिसी प्रतियोगिता बन्यो जहाँ रंगीन जर्सी, डे-नाइट म्याच र सेतो बल तीनै थोकको एकसाथ प्रयोग भयो ।
फिल्डिङ नियमहरू पनि एक रोचक घटनापछि बदलिएका हुन् । सन् १९७९ मा इंग्ल्याण्डका कप्तान माइक ब्रियरलीले अन्तिम बलमा विकेट किपरसमेत सबै १० जना फिल्डरहरूलाई बाउन्ड्रीमा उभ्याइदिनुभयो, जसले गर्दा ब्याट्सम्यानलाई चौका वा छक्का हान्न लगभग असम्भव भयो । यसपछि फिल्डिङ रेस्ट्रिक्सनको नियम ल्याइयो । सन् १९९२ को विश्वकपमा यसलाई पहिलोपटक मान्यता दिइयो र पछि २००५ मा पावरप्लेको सुरुवात भयो, जसमा समय-समयमा परिमार्जन हुँदै २०१५ देखि हालको फिल्डिङ नियम लागू हुँदै आएको छ ।
नतिजा निर्णयमा फेरबदल
वनडे क्रिकेटमा सबैभन्दा धेरै प्रयोग वर्षाले प्रभावित खेलका नियमहरूमा भए । सुरुमा हरेक देशले आफैं नियम बनाउँथे । सन् १९९१ को शारजाह कपमा खराब प्रकाशका कारण यस्तो अन्योल सिर्जना भयो कि खेलाडी, कप्तान र अम्पायर कसैलाई पनि नतिजा कसरी निकाल्ने भन्ने थाहा थिएन । त्यसपछि आइसिसीले समान नियम बनाउने प्रक्रिया थाल्यो । सन् १९९२ मा नयाँ नियम आए पनि विवाद रोकिएन र अन्ततः सन् १९९७ मा पहिलोपटक डकवर्थ-लुइस नियम लागू भयो, जसलाई सन् १९९९ मा आधिकारिकता पाइयो । पछि स्टिभन स्टर्नको संशोधनसहित यो ‘डिएलएस’ प्रणाली बन्यो जुन आजसम्म पनि प्रचलनमा छ ।
त्यस्तै, टाई म्याचहरूको निर्णयमा पनि समयसँगै ठूला फेरबदल भए । सुरुमा विकेटको संख्या वा लिग चरणको प्रदर्शनका आधारमा विजेता छिनोफानो हुन्थ्यो । सन् २०११ को विश्वकपदेखि न्युज्याटहरूमा सुपर ओभर लागू गरियो । सन् २०१९ को विश्वकप फाइनलमा बाउन्ड्री काउन्ट नियमको चौतर्फी आलोचना भएपछि आइसिसीले नियम फेर्दै २०२३ देखि टाई हुने हरेक वनडेको निर्णय सुपर ओभरबाटै गर्न अनिवार्य गर्यो । यसबाहेक, २००५ मा ‘सुपर सब’ नियम ल्याइएको थियो– जसमा अतिरिक्त खेलाडी मैदानमा उतार्न पाइन्थ्यो, तर यो प्रयोग एक वर्षभन्दा बढी टिक्न सकेन र खारेज गरियो ।
सेतो बल र बलरहरूको चुनौती
सन् २००१ सम्म आउँदा रातो बल वनडेबाट पूर्ण रूपमा बाहिरियो । तर, सेतो बल छिटो फोहोर हुने भएकाले आइसिसीले एकै इनिङ्समा दुईवटा नयाँ बल प्रयोग गर्ने नियम ल्यायो । यसले बल धेरै बेर नयाँ रहने हुँदा ‘रिभर्स स्विङ’को सम्भावना लगभग समाप्त भयो । बलरहरूको व्यापक गुनासोपछि २०२५ मा फेरि नियम बदलियो र अब ३४ ओभरपछि बलिङ गर्ने टोलीले दुईमध्ये कुनै एक पुरानो बलबाट बाँकी ओभर गराउन सक्ने व्यवस्था गरियो, जसले रिभर्स स्विङको सम्भावनालाई पुनः फर्काएको छ ।
समयसँगै वनडे क्रिकेटको ब्याटिङ ढाँचामा पनि क्रान्तिकारी परिवर्तन आएको छ । पहिलो १००० म्याचमा पहिलो इनिङ्सको औसत स्कोर २१३.९ रन रहेकोमा पछिल्लो १००० म्याचमा यो बढेर २४९.९७ रन पुगेको छ । पहिले ३०० भन्दा बढी स्कोर बन्नु दुर्लभ मानिन्थ्यो, तर पछिल्ला हजार म्याचहरूमा मात्र ३२१ पटक ३०० भन्दा बढीको स्कोर बनिसकेको छ– जसमा ८६ पटक त स्कोर ३५० रनभन्दा माथि पुगेको छ । ब्याटिङ औसत २६.३९ बाट बढेर २९.०३ पुगेको छ भने स्ट्राइक रेट ६६.१५ बाट बढेर ८३.४१ पुगेको छ । एक समय १२७ बलमा एक छक्का प्रहार हुने गरेकोमा अहिले हरेक ५५.४२ बलमा छक्का प्रहार भइरहेको तथ्यांकले देखाउँछ ।
टी–२० र फ्रेन्चाइजी लिगहरूको बाढीका कारण द्विपक्षीय सिरिजहरू केही घटे पनि विश्वकप र च्याम्पियन्स ट्रफी जस्ता मेगा टुर्नामेन्टहरूले यो फर्म्याटको लोकप्रियतालाई अझै पनि उच्च स्थानमा राखेका छन् ।
ऐतिहासिक वनडेमा स्कटल्याण्डको रोमाञ्चक जित
वनडे क्रिकेटको ५०००औँ ऐतिहासिक माइलस्टोन म्याचमा घरेलु टोली स्कटल्याण्डले क्यानडालाई ९ रनले पराजित गरेको छ । आइसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत डंडीमा खेलिएको रोमाञ्चक तथा ऐतिहासिक मुकाबलमा स्कटल्याण्डका फिनले म्याकक्रीथ ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभयो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटिस टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८१ रनको सम्मानजनक स्कोर बनायो । सुरुवातमा ओपनर जर्ज मुन्से बिना कुनै रन बनाएर आउट भए पनि म्याकक्रीथ र ब्रैंडन मैकमुलेनले इनिङ्सलाई सम्हाल्नुभयो । फिनले म्याकक्रीथले उत्कृष्ट ब्याटिङ गर्दै १४० बलमा ९ चौका र २ छक्काको मद्दतले ११२ रनको शतकीय पारी खेल्नुभयो । यसबाहेक रिची बेरिंगटनले २९ र माइकल जोन्सले ३६ रन बनाउनुभयो । पारीको अन्त्यतिर सफयान शरीफले अविजित २२ रन र ओलिभर डेविडसनले अविजित ११ रन (४ बल) जोड्दै टोलीको योगफल २८१ रनसम्म पुर्याउनुभयो । क्यानडाका लागि जाहिद शिरजादले ३ र कलीम सनाले २ विकेट लिनुभयो ।
२८२ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडाको टोलीले कडा संघर्ष गरे पनि ४९.२ ओभरमा २७२ रनमा अल आउट हुन पुग्यो । क्यानडालाई रोक्ने क्रममा स्कटल्याण्डका ब्रैंडन मैकमुलेनले ३ र ओलिभर डेविडसनले २ विकेट लिएर टोलीलाई ऐतिहासिक ५००० औँ वनडेमा रोमाञ्चक जित दिलाउनुभयो । एजेन्सी







रास्वपामा चिसिँदो सम्बन्ध, सल्किँदो आगो
राशिफल २२ साउन, वृष :
‘जय नेपाल पार्टी’को उदय :
नयाँ तलबमान सार्वजनिक
कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का