काठमाडौं । नेपाली खेलकुदमा पछिल्लो समय उत्कृष्ट नतिजा दिँदै आएको कराते आगामी २०औँ एसियाली खेलकुदमा नेपालका लागि पदकको आशा गरिएको प्रमुख खेल बनेको छ । १९औँ एसियाली खेलकुदमा करातेकी एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेपछि यसपटक पनि करातेबाट पदकको अपेक्षा बढेको हो । एरिकाले एसियाडमा ऐतिहासिक सफलता हात पारेसँगै एसियन च्याम्पियनसिप, विश्व च्याम्पियनसिप तथा कराते प्रिमियर लिगमा समेत कुमुतेतर्फ राम्रो प्रदर्शन गर्दै आउनुभएको छ । यसपटक भने कुमुतेसँगै काताबाट पनि पदकको आशा गरिएको छ ।
आगामी सेप्टेम्बर १९ देखि जापानको आइची-नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदमा नेपालले करातेका सात विधामा चुनौती प्रस्तुत गर्ने तयारी गरेको छ । कातातर्फ महिला एकल र महिला टिम कातामा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । महिला एकल कातामा सानुमाया थिङले नेपालको प्रतिनिधित्व गर्नुहुनेछ भने महिला टिम कातामा सानुमायासँगै मेघा लिम्बू र एलिसा रास्कोटी मगरले प्रतिस्पर्धा गर्नुहुनेछ । नेपालले एसियाली खेलकुदमा पहिलोपटक महिला टिम कातामा सहभागिता जनाउन लागेको हो ।
राष्ट्रिय कराते टोलीका काता प्रशिक्षक मण्डेकाजी श्रेष्ठका अनुसार छोटो समयको तयारी भए पनि टिम काताका खेलाडीले अपेक्षाकृत राम्रो प्रगति गरिरहेका छन् । नेपालले ‘मिसन २०२६’ अन्तर्गत विगत तीन वर्षदेखि एकल काताका लागि तयारी गर्दै आएको थियो । तर, एसियाडमा एउटै देशले करातेका सीमित विधामा मात्र सहभागिता जनाउन पाउने भएपछि पुरुष एकल काताको स्थानमा महिला टिम कातालाई समावेश गरिएको हो ।
टिम काताका खेलाडीलाई अन्तर्राष्ट्रिय म्याच एक्सपोजरको कमी भएकाले नेपाल कराते महासंघले उनीहरूलाई बंगलादेशमा भएको दक्षिण एसियाली च्याम्पियनसिपमा सहभागी गराएको थियो । करिब १५-२० दिनको प्रशिक्षणपछि प्रतियोगितामा सहभागी नेपाली महिला टिम काताले स्वर्ण पदक जितेपछि प्रशिक्षक र खेलाडी थप उत्साहित भएका छन् ।
प्रशिक्षक श्रेष्ठले जापानमा हुने एसियाडअघि नेपाली टोलीलाई केही समयअगावै जापान पुर्याएर त्यहाँको मौसम तथा वातावरणमा अभ्यस्त गराउन सके अझ राम्रो तयारी हुने बताउनुभयो । करातेको विश्व शक्तिका रूपमा रहेको जापानमै एसियाली खेलकुद आयोजना हुन लागेकाले त्यहाँको वातावरणमा प्रशिक्षण र अभ्यासको अवसर महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । नेपाल कराते महासंघले पनि प्रतियोगिताअघि नै खेलाडीलाई जापान पुर्याएर तयारी गराउने योजना बनाइरहेको छ ।
१९औँ एसियाली खेलकुदमा रजत पदक जित्नुभएकी एरिका गुरुङ यसपटक भने स्वर्ण पदक जित्ने लक्ष्यसहित तयारीमा जुट्नुभएको छ । कुमुतेतर्फ कुशल श्रेष्ठको प्रशिक्षणमा सातदोबाटोमा अभ्यास गरिरहनुभएकी एरिकाले पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि निरन्तर राम्रो प्रदर्शन गर्दै आउनुभएको छ । ‘गत एसियाडको पदकले आत्मविश्वास बढाएको छ । यसपटक अझ राम्रो प्रदर्शन गर्दै स्वर्ण पदक जित्ने लक्ष्य छ’, एरिकाको तयारीबारे प्रशिक्षक श्रेष्ठले बताउनुभयो ।
करातेमा पुरुषतर्फ तीन र महिलातर्फ पाँच खेलाडीले नेपालको प्रतिनिधित्व गर्ने तयारी छ । पछिल्लो समय महिला खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय प्रदर्शन गर्दै आएकाले महिला खेलाडीबाट पनि राम्रो नतिजाको अपेक्षा गरिएको छ ।
महिला टिम काताका खेलाडीका लागि एसियाडको अनुभव नयाँ हुनेछ । टिमकी सदस्य मेघा लिम्बूका अनुसार टोलीले हरेक दिन आफ्नो प्रदर्शन सुधार गर्ने लक्ष्यसहित प्रशिक्षण गरिरहेको छ । बंगलादेशमा भएको दक्षिण एसियाली प्रतियोगितामा स्वर्ण पदक जितेपछि टोलीको आत्मविश्वास थप बढेको उहाँले बताउनुभयो । एसियाडअघि जापानमै केही समय प्रशिक्षण गर्न पाए टोलीलाई प्रतियोगिताको वातावरण बुझ्न र प्रदर्शन सुधार गर्न थप सहयोग पुग्ने उहाँको विश्वास छ । ‘हरेक दिन अघिल्लो दिनभन्दा राम्रो गर्ने लक्ष्यसहित प्रशिक्षण गरिरहेका छौँ । दक्षिण एसियाली प्रतियोगिताले हामीलाई धेरै आत्मविश्वास दिएको छ’, मेघाले भन्नुभयो ।
महिला एकल काताकी सानुमाया थिङ पनि एसियाडमा राम्रो नतिजा निकाल्ने लक्ष्यसहित प्रशिक्षणमा जुट्नुभएको छ । गत वर्ष एसियन च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नुभएकी सानुमाया त्यही प्रदर्शनका आधारमा विश्व च्याम्पियनसिपका लागिसमेत छनोट हुनुभएको थियो । तीन वर्षदेखि एसियाडलाई लक्षित गरेर तयारी गर्दै आउनुभएकी सानुमायाले प्रतियोगिता नजिकिँदै जाँदा आफ्नो प्रदर्शनमा सुधार भइरहेको बताउनुभयो ।
‘तीन वर्षदेखि नै हामीले एसियाडलाई लक्ष्य गरेर तयारी गरिरहेका छौँ । प्रतियोगिता नजिकिँदै जाँदा तयारी पनि अझ राम्रो हुँदै गएको छ’, उहाँले भन्नुभयो ।
एरिका गुरुङले अघिल्लो एसियाडमा पदक जित्नुले आफूहरूलाई पनि प्रेरणा मिलेको सानुमायाको भनाइ छ । बंगलादेशमा भएको दक्षिण एसियाली प्रतियोगिताले थप अन्तर्राष्ट्रिय एक्सपोजर दिएको र त्यसको अनुभवलाई एसियाडमा उपयोग गर्ने उहाँले बताउनुभयो ।
जापानको आइची-नागोयामा हुने २०औँ एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १३६ खेलाडीले सहभागिता जनाउने तयारी छ । जसमा ८० पुरुष र ५६ महिला खेलाडी रहनेछन् । नेपाली टोलीमा ३२ प्रशिक्षक रहनेछन् ।
यसपटकको एसियाडका लागि नेपाली खेलाडीले लामो समयदेखि तयारी गरिरहेकाले पनि विगतको तुलनामा राम्रो नतिजा आउने अपेक्षा गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले क्लोज क्याम्प सञ्चालन गरी खेलाडीलाई नियमित प्रशिक्षणसँगै पोषणयुक्त आहार उपलब्ध गराउन थालेपछि खेलाडीको मनोबलसमेत बढेको प्रशिक्षक श्रेष्ठ बताउनुहुन्छ । तर, प्रतियोगिता नजिकिँदै जाँदा खेलाडीलाई आवश्यक खेल सामग्री उपलब्ध गराउनुपर्ने चुनौती पनि रहेको उहाँको भनाइ छ ।
सबै खेलाडीले व्यक्तिगत रूपमा पर्याप्त खेल सामग्री खरिद गर्न सक्ने अवस्था नरहेकाले समयमै आवश्यक सामग्री उपलब्ध गराउन उहाँले सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ ।







वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने
हिमालयन रिइन्स्योरेन्स शेयर कारोबार प्रकरण:
आन्दोलनका कारण योजनावद्ध काम गर्न
करिब ६४७ किलो गाँजासहित दुई
विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष
मेसीको दुई गोलमा इन्टर मियामीको