काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीहरूको स्मृतिमा काठमाडौंमा ‘ट्रिब्युट रन ५के’ आयोजना गरिएको छ । हिमाल आरोहणका क्रममा ज्यान गुमाएका नेपाली आरोहीप्रति श्रद्धाञ्जली तथा उनीहरूको साहस, समर्पण र योगदानको स्मरण गर्दै आयोजना गरिएको पाँच किलोमिटर दौडमा आरोही, पर्वतारोहणप्रेमी, धावक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
शनिबार कपनको बालुवाखानीबाट सुरु भएको ‘ट्रिब्युट रन ५के’ बौद्धस्थित ऐतिहासिक बौद्धनाथ स्तुपामा पुगेर सम्पन्न भएको थियो । दौडमा सहभागीहरूले बौद्धनाथ पुगेर ब्रोड पिकमा ज्यान गुमाएका आरोहीहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कार्यक्रमका क्रममा ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) नेतृत्वको नेपाली टोलीको तस्वीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो । सहभागीहरूले दिवंगत आरोहीहरूको सम्झनामा दीप प्रज्ज्वलनसमेत गरेका थिए ।
हिमालमा साहसिक यात्राका क्रममा जीवन गुमाएका आरोहीहरूको सम्झनालाई जीवित राख्ने उद्देश्यले आयोजना गरिएको उक्त दौडले पर्वतारोहण क्षेत्रसँग जोडिएका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याएको थियो । दौडमा सहभागीहरूले आरोहीहरूको योगदानलाई सम्झिँदै उनीहरूका परिवारप्रति ऐक्यबद्धता र सम्मान व्यक्त गरेका थिए ।
आयोजकका अनुसार ‘ट्रिब्युट रन ५के’ सामान्य दौड प्रतियोगिताभन्दा फरक उद्देश्यले आयोजना गरिएको कार्यक्रम हो । हिमाल आरोहणका क्रममा ज्यान गुमाएका आरोहीप्रति सम्मान व्यक्त गर्नुका साथै पर्वतारोहण क्षेत्रमा उनीहरूले पुर्याएको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।
नेपाल विश्वकै प्रमुख पर्वतारोहण गन्तव्यका रूपमा परिचित रहे पनि हिमाल आरोहणसँगै जोडिएको जोखिम अझै चुनौतीका रूपमा रहेको भन्दै कार्यक्रममा सहभागीहरूले आरोहीको सुरक्षालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । उनीहरूले हिमालमा हुने जोखिम न्यूनीकरण, मौसम तथा हिमपहिरोसम्बन्धी पूर्वसूचना प्रणालीको प्रभावकारिता, उद्धार संयन्त्रको सुदृढीकरण तथा आरोहण व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
ब्रोड पिकमा भएको हिमपहिरोमा नेपालीसहित विभिन्न देशका आरोहीले ज्यान गुमाएका छन् । घटनाले अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायसँगै नेपालको पर्वतारोहण क्षेत्रमा समेत गहिरो क्षति पुर्याएको छ । विशेषगरी नेपाली आरोहीहरूको निधनले पर्वतारोहण क्षेत्रसँग सम्बन्धित समुदायमा शोक र पीडा थपिएको छ ।
दिवंगत आरोहीहरूको सम्मानमा यसअघि पनि काठमाडौंमा श्रद्धाञ्जली, दीप प्रज्ज्वलन तथा विभिन्न स्मृति कार्यक्रम आयोजना हुँदै आएका छन् । ‘ट्रिब्युट रन ५के’ पनि त्यही शृंखलाको एउटा कार्यक्रमका रूपमा आयोजना गरिएको हो । कार्यक्रममा सहभागी आरोही तथा पर्वतारोहणप्रेमीहरूले हिमाल आरोहण केवल साहस र कीर्तिको विषयमात्र नभई मानव जीवनसँग जोडिएको संवेदनशील क्षेत्र भएकाले आरोहीको सुरक्षालाई केन्द्रमा राखेर आगामी दिनमा नीति तथा व्यवस्थापन सुधार गर्नुपर्ने बताएका थिए ।
उनीहरूले हिमालमा बढ्दो जोखिमलाई गम्भीर रूपमा लिँदै आरोहणपूर्व जोखिम मूल्यांकन, प्रभावकारी मौसम सूचना, सुरक्षित आरोहण मार्गको व्यवस्थापन, दक्ष उद्धार टोली तथा आवश्यक प्रविधिको उपलब्धतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । बौद्धनाथ स्तुपामा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले दिवंगत आरोहीहरूको सम्झनामा दीप प्रज्ज्वलन गर्दै उनीहरूको साहस र योगदानलाई सम्मान गरेका थिए । दौडमार्फत् स्वास्थ्य, एकता र सामाजिक ऐक्यबद्धताको सन्देशसँगै हिमालमा ज्यान गुमाएका आरोहीप्रति सम्मान व्यक्त गरिएको आयोजकले जनाएको छ ।






मेसीको दुई गोलमा इन्टर मियामीको
नेपालले एसियाडमा २२ खेलमा १३६
२०२७ एकदिवसीय विश्वकप छनोट
फिफा अध्यक्षले माफी मागे, तत्काललाई
एनटी टप एण्ड टी-२० खेल्न
देशभरका आदिवासी जनजाति काठमाडौंमा जुट्दै,