काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले विभिन्न राजनीतिक दल र समूह मिलेर गठन गरिएको ‘अग्रगामी मोर्चा’ सत्ता प्राप्तिका लागि नभएको बताउनुभएको छ।
शनिवार आयोजित मोर्चा घोषणा कार्यक्रममा अध्यक्ष राउतले संविधानवाद, संघीय लोकतान्त्रिक गणतन्त्र तथा दशकौँ लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षाका लागि मोर्चा गठन गरिएको बताउनुभयो।
उहाँले राजनीतिक दल र नेतृत्वप्रति जनताको निराशा बढ्दै गएको तथा मुलुक अराजकतर्फ धकेलिएको दाबी गर्नुभयो। अराजकता अन्त्य गरी देशलाई संविधान, विधि र कानुनी शासनका आधारमा सञ्चालन गर्न लोकतान्त्रिक, सामाजिक लोकतान्त्रिक, क्रान्तिकारी तथा समाजवादी धारका शक्तिहरूलाई समेटेर मोर्चा गठन गरिएको उहाँको भनाइ छ।
राउतले लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता, प्रेस स्वतन्त्रता र मानव अधिकारलगायतका उपलब्धिको रक्षामा मोर्चा अग्रपंक्तिमा रहने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘यो मोर्चा संघर्षका लागि बनेको मोर्चा हो, सत्ता प्राप्तिका लागि हामीले गठबन्धन गरेका होइनौँ। तपाईंहरू ढुक्क कुर्सीमा बस्नुस्, तर संविधानवादमा चल्नुस्, संघीय लोकतान्त्रिक गणतन्त्रका मूल्य–मान्यताअनुसार चल्नुस्।’
मोर्चा गठनपछि सत्तामा रहेका केही व्यक्तिले आफ्नो पद जोखिममा परेको ठानेको हुनसक्ने भन्दै राउतले कसैको कुर्सी खोस्नु आफूहरूको उद्देश्य नभएको स्पष्ट पार्नुभयो। तर सरकारमा रहेकाहरूले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रका मूल्य–मान्यताअनुसार शासन सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ।
राउतले विगतमा राजनीतिक दल तथा मोर्चाबाट भएका कमजोरीको समीक्षा गर्दै सुधारसहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो। मोर्चाले जनतामा बढेको राजनीतिक निराशा र ‘अभिभावकविहीन’ अवस्थाको अनुभूति अन्त्य गर्ने दाबी गर्दै उहाँले नेता–कार्यकर्तालाई गाउँ–टोलसम्म पुगेर सकारात्मक सन्देश दिन आग्रह गर्नुभयो।
जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाललगायत दल तथा समूहले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका हुन्।







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :