विराटनगर । ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको रजिष्टर्ड कार्यालय बुढीगंगा गाउँपालिका–५ मा सम्पन्न विशेष साधारणसभाले २० प्रतिशत सेयर आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेको छ । नेपालमा प्लाइउड उत्पादन तथा निर्यात गर्दै आएको ग्रिनप्लाई नेपाल कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर(आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात्् १६ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी गरेको हो । आइपिओ निष्कासनको तयारी स्वरूप कम्पनी गत आर्थिक वर्षमा नै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भइसकेको छ ।
साथै विशेष साधारणसभाबाट कम्पनीको संस्थापक सेयरको अंकित मूल्यमा एक सय २५ प्रिमियम थप गरी मूल्य कायम गर्ने निर्णय गरेको छ । ग्रिनप्लाई नेपालले छोटो अवधिमै प्लाइउड उद्योगमा उल्लेखनीय प्रगति हासिल गरेको कम्पनीका रूपमा आफूलाई स्थापित गरेको छ । कम्पनीको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा १८.९६ प्रतिशतले बिक्री वृद्धि गर्दै वार्षिक कारोबार करिब ४७.५ करोड पुगेको छ । कम्पनी विगत पाँच वर्षदेखि निरन्तर नाफामा सञ्चालन हुँदै आएको छ, जसले यसको सुदृढ वित्तीय अवस्था, प्रभावकारी व्यवस्थापन तथा व्यावसायिक स्थायित्वलाई पुष्टि गर्ने कम्पनीको दाबी छ ।
ग्रिनप्लाई नेपालले उत्पादनको करिब ३० प्रतिशत आन्तरिक बजारमा बिक्री गर्दै आएको छ भने ७० प्रतिशतभन्दा बढी उत्पादन भारतलगायतका अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएको छ । निर्यात प्रवर्द्धनमा योगदान पुर्याएबापत कम्पनीले नेपाल सरकारबाट निर्यात अनुदानसमेत प्राप्त गर्दै आएको छ । कम्पनीले बिआइएस सर्टिफिकेसन प्राप्त गरी भारतीय बजारमा आफ्ना उत्पादन निर्यात गरिरहेको जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको पुँजीगत संरचनामा पनि उल्लेखनीय सुधार भएको छ । कम्पनीको ओभरअल गियरिङ अनुपात ७.४१ गुणाबाट घटेर २.४४ गुणामा झरेको छ ।
सो अवधिमा छ करोड नयाँ सेयर पुँजी थपिएको तथा नेपाल वित्तीय प्रतिवेदन मापदण्डअनुरूप सञ्चित नाफा समायोजन भएपछि कम्पनीको मूर्त खुद सम्पत्ति करिब आठ करोड २० लाखबाट बढेर २२ करोड ६० लाख पुगेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्रिनप्लाई नेपाल गुणस्तरीय तथा वातावरणमैत्री प्लाइउड, ब्लाकबोर्ड तथा फ्लस डोर उत्पादनमा केन्द्रित छ । आधुनिक प्रविधि, दक्ष व्यवस्थापन, गुणस्तर सुनिश्चितता तथा सुदृढ वितरण सञ्जालमार्फत् कम्पनीले आफ्नो बजार विस्तारलाई तीव्र बनाइरहेको जनाएको छ ।
कम्पनीले नेपालमा हुने प्लाइउड आयात प्रतिस्थापनमा योगदान पुर्याउँदै आन्तरिक माग पूरा गर्नुका साथै निर्यात विस्तार गर्ने लक्ष्य राखेको छ । दीर्घकालीन मूल्य सिर्जना गर्दै लगानीकर्तालाई आकर्षक प्रतिफल प्रदान गर्ने प्रतिबद्धतासहित उत्पादनमूलक उद्योगको अग्रणी ब्राण्ड बन्ने लक्ष्य कम्पनीले लिएको जनाएको छ । मोरङको बुढीगंगा गाउँपालिका–५ मा रजिष्टर्ड कार्यालय रहेको ग्रिनप्लाई नेपालका अध्यक्ष प्रतिष्ठित उद्योगी जीवनप्रसाद रिजाल हुनुहुन्छ । कम्पनीमा दिवाकर राठी, डगेन्द्रप्रसाद रिजाल, मनिष खेतान, सुनिल अग्रवाल तथा विवेक अग्रवाललगायतको मुख्य लगानी रहेको छ । कम्पनीको स्टार इन्भेष्टमेन्ट फण्ड लिमिटेड, टप फण्ड लिमिटेड तथा हार्वेस्ट भेन्चर्सको समेत संस्थागत लगानी रहेको कम्पनीले जनाएको छ ।






मेसीको दुई गोलमा इन्टर मियामीको
नेपालले एसियाडमा २२ खेलमा १३६
२०२७ एकदिवसीय विश्वकप छनोट
फिफा अध्यक्षले माफी मागे, तत्काललाई
एनटी टप एण्ड टी-२० खेल्न
देशभरका आदिवासी जनजाति काठमाडौंमा जुट्दै,