काठमाडौं । सर्वोच्च अदालतले पार्टी आधिकारिकता विवादमा यसअघि गरेको फैसला पुनरवलोकनको अनुमति दिएसँगै विभाजनको डिलमा पुगेको कांग्रेसमा वैधानिकताको विवाद पुनः ब्युँतिएको छ । पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवाले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले बिहीबार पुनरवलोकनको अनुमति दिएको हो । सर्वोच्चको आदेशपछि केही प्रश्न उठे पनि केन्द्रीय समिति बैठकबाट धैर्यपूर्वक धारणा बनाउने संस्थापन पक्षको तयारी छ । इतर पक्षले सर्वोच्च अदालतले पुनरवलोकनका लागि दिएको अनुमतिको स्वागत गरेको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भई पार्टीलाई नयाँ कार्यदिशासहित नयाँ जीवन दिने इतर पक्षको भनाइ छ । सर्वोच्चको आदेशपछि कांग्रेस नेतृत्वको आधिकारिकता विवाद मुद्दाको अन्तिम किनारा पूर्ण इजलासबाट हुनेछ । पूर्ण इजलासले बहस र प्रमाणका आधारमा निर्णय लिनेछ । पुनरवलोकनमा अघिल्लो फैसलामा त्रुटि नदेखिए गगन थापा नेतृत्वकै कार्यसमितिको आधिकारिकता कायम रहनेछ । अघिल्लो फैसलामा त्रुटि देखिए अदालतले त्यसलाई उल्ट्याउन सक्छ । अदालतले अघिल्लो फैसला उल्टाए शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले वैधानिकता पाउनेछ । सर्वोच्चको अबको फैसलासँगै कांग्रेसको आधिकारिकता टुंगो लाग्नेछ ।
सर्वोच्च अदालतले फैसला पुनरवलोकनको अनुमति दिएसँगै कांग्रेसमा संस्थापन र इतर पक्ष झन् आमनेसामने भएका छन् । सर्वोच्चको अनुमतिपछि कांग्रेसको आन्तरिक राजनीतिक विवाद मत्थर हुने अपेक्षा गरिएको थियो । तर, अदालतले आधिकारिकता विवादमा पुनरवलोकनको अनुमति दिए पनि संस्थापन र इतर दुवै पक्षले पूर्वनिर्धारित आ-आफ्ना कार्यक्रम नरोक्ने घोषणा गरेका छन् । संस्थापन पक्षले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकताको कानुनी प्रतिरक्षा गर्दै तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्ने प्रतिक्रिया दिएको छ । इतर पक्षले यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा तय गरेको राष्ट्रिय भेला नरोक्ने जनाएको छ ।
संस्थापन पक्षले विशेष महाधिवेशन वैधानिक भएको दाबी गर्दै यसको औचित्य फेरि पनि सावित गर्ने अवसर आएको र कानुनी प्रतिरक्षा गर्ने जनाएको छ । इतर पक्षले अदालतको पछिल्लो आदेशपछि पार्टी एकताबद्ध हुने सम्भावना बढेको प्रतिक्रिया दिएको छ । इतर पक्षको राष्ट्रिय भेला आयोजक समितिका संयोजक पूर्वमहामन्त्री डा.शशांक कोइरालाले पुनरवलोकनबाट न्याय प्राप्त हुनेमा विश्वस्त रहेको उल्लेख गर्दै भन्नुभयो, ‘राष्ट्रसामु देखिएका चुनौतीहरूको सामना गर्न र कांग्रेसका सम्पूर्ण कार्यकर्तालाई एकताबद्ध गर्नु भेलाको मूल उद्देश्य छ । पूर्वनिर्धारित राष्ट्रिय भेला रोकिन्न ।’
केन्द्रीय समितिको बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्छ : सभापति थापा
कांग्रेस सभापति गगनकुमार थापाले केन्द्रीय समितिको बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताउनुभएको छ । शनिबार स्वर्गीय श्यामबहादुर कार्कीको १९औँ स्मृति दिवसमा भक्तपुरमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले आज (आइतबार) देखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने जानकारी दिनुभएको हो । उहाँले पार्टीलाई मौलिक इतिहास, त्याग र जगमा फर्काउँदै नयाँ ढंगले अघि बढाइने दाबीसमेत गर्नुभयो ।
हामी तथ्यसहित उपस्थित हुन्छौँ : उपसभापति शर्मा
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले हालै गरेको आदेशले पार्टीको आन्तरिक विवादका सन्दर्भमा गत वैशाख ४ गते भएको फैसलालाई नउल्ट्याएको स्पष्ट पार्नुभएको छ । निर्वाचन आयोगले गरेको दलको अभिलेख अध्यावधिकलाई समेत उक्त आदेशले बदर नगरेको उल्लेख गर्दै उपसभापति शर्माले भन्नुभयो, ‘सर्वोच्च अदालतको पछिल्लो आदेशले पुनरवलोकनको ढोका मात्र खोलेको हो । निर्वाचन आयोगले अध्यावधिक गर्दा निवेदन दिने पक्षको सुनुवाइ नगरेको भन्ने आधारमा पुनरवलोकनको अनुमति दिइएको देखिन्छ । अदालतको आदेश र व्याख्यालाई हामी सम्मान गर्छौं । पुनरवलोकनको प्रक्रियामा हामी विशेष महाधिवेशनको वैधानिक र राजनीतिक तथ्यहरू पुनः केस्रा-केस्रा केलाएर राख्नेछौँ । यसलाई हामीले तथ्य स्थापित गर्ने अर्को अवसरका रूपमा लिएका छौँ ।’
राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
कांग्रेसको असन्तुष्ट पक्षले यही साउन २९-३१ गतेको लागि तय गरेको राष्ट्रिय भेलालाई पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने हुनुभएको छ । राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक पूर्वमहामन्त्री डा.शशांक कोइरालाले भेलालाई निवर्तमान सभापति देउवाले सम्बोधन गर्ने जानकारी दिनुभएको छ । पूर्वसभापति देउवा स्वदेश फर्कने क्रममा कुनै पनि प्रकारको धरपकड हुने सम्भावना नरहेको र यदि त्यसो गरिएमा पार्टीले कडा प्रतिवाद गर्ने डा.कोइरालाको चेतावनी छ । कांग्रेसका भ्रातृ संस्था, शुभेच्छुक तथा सम्पूर्ण कार्यकर्ताहरूलाई भेलामा सहभागी हुन आह्वान गर्दै नेता कोइरालाले राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तमा आधारित भएर पार्टीलाई नयाँ जीवन दिने दृढ संकल्प व्यक्त गर्नुभएको छ ।
देउवा नेपाल आउने समय परिवर्तन
कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फर्कने तालिका संशोधन भएको छ । यसअघि २६ साउन राति ९ बजेर ४५ मिनेटमा काठमाडौं आइपुग्ने तय भएकामा सभापति देउवा अब २८ साउन दिउँसो नेपाल आउने हुनुभएको हो । स्वास्थ्य उपचारका लागि देउवा गत १३ फागुनमा सिंगापुर जानुभएको थियो । देउवा त्यसबेला प्रतिनिधिसभा निर्वाचनमा मतदानसमेत नगरी उपचारका लागि सिंगापुर जानुभएको थियो । करिब पाँच महिनापछि पूर्व–प्रधानमन्त्रीसमेत रहनुभएका देउवा स्वदेश फर्कन लाग्नुभएको हो । स्वदेश फर्कंदा विमानस्थलमा देउवालाई स्वागत गर्न ठूलो संख्यामा नेता–कार्यकर्ता उपस्थित गराउने तयारी रहेकाले रातिको समयलाई यताबाट संशोधन गर्न आग्रह गरिएको थियो । त्यसैअनुसार उहाँको टिकट सारिएको हो । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले भन्नुभयो, ‘पहिला २६ गते राति ९ बजेर ४५ मिनेटको थियो । सबैले दिउँसो आउनुपर्छ भनेपछि संशोधन भयो । अब २८ गते बैंकक हुँदै थाई एयरलाइन्सबाट दिउँसो १२ बजेर २५ मिनेटमा ल्याण्ड गर्ने तालिका छ । हामी १२ बजेभन्दा अगाडि नै एयरपोर्ट पुग्छौँ ।’ देउवा लामो समयपछि नेपाल फर्कन लागेकाले स्वागतका लागि ठूलो संख्यामा नेता-कार्यकर्ता विमानस्थलमा उपस्थित गराउने तयारी भइरहेको छ । कांग्रेस संस्थापनइतर समूहका प्रचारप्रसार संयोजक मीन विश्वकर्माले पनि पूर्वसभापति देउवाको स्वदेश फर्किने समय परिवर्तन भएको जानकारी दिँदै भन्नुभयो, ‘फ्लाइट २६ गते राति थियो । राति नआउनुस् । हामीले स्वागत गर्न पाउनुपर्यो भन्यौँ । अनि डेट सरेको हो । समय पनि दिउँसो भयो ।’ जेन-जी आन्दोलनका क्रममा देउवामाथि बूढानीलकण्ठ निवासमै सांघातिक आक्रमण गरी घाइते बनाइएको थियो ।
स्वागतका लागि विमानस्थलमा उपस्थित हुन आह्वान
कांग्रेसका पूर्वप्रवक्ता डा. प्रकाशशरण महतले पूर्व-प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने क्रममा स्वागतका लागि उपस्थित हुन नेता-कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ । काठमाडौंको बसुन्धारामा शनिबार नुवाकोट-१ का अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै उहाँले पूर्वसभापति देउवाको स्वागतका लागि त्रिभुवन विमानस्थलमा उपस्थित हुन नेता-कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको हो । डा.महतले भन्नुभयो, ‘हामी स्वागत गर्नको लागि विमानस्थलमा जान्छौँ । त्यहीअनुसार नेताकर्तालाई आह्वान गरेका छौँ ।’ यता, देउवा स्वदेश फर्किने तयारीमा रहेका बेला देउवाविरुद्ध कुनै कानुनी मुद्दा वा पक्राउ पुर्जी रहे नरहेको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
केन्द्रीय समिति बैठक आज
पार्टीभित्रको आन्तरिक विवादले विभाजनको रूप लिएको बेला नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने बैठकमा असोजमा तय गरिएको १५औँ महाधिवेशनको तयारीलाई मुख्य एजेण्डा बनाइएको छ । यस्तै, समसामयिक राजनीति, अघिल्लो साता पूर्वी तराईका जिल्लाहरूमा फैलिएको साम्प्रदायिक हिंसा, सरकारका काम कारबाही र पार्टीको सांगठनिक विषयबारे पनि छलफल हुने बताइएको छ । राष्ट्रिय भेला अघि पार्टी एकताका लागि नेतृत्वबाट ठोस पहल नभए नयाँ दल घोषणासम्म हुने इतर समूहका नेताहरू बताउँदै आएका छन् । यस विषयमा पनि बैठकले निर्णय लिनसक्ने सम्भावना छ । तर, सर्वोच्च अदालतले आधिकारिकतासम्बन्धी विवाद पुनरवलोकन गर्ने बाटो खोलेसँगै कांग्रेसमा तत्काल पार्टी विभाजन हुने सम्भावना भने कमजोर बनेको छ ।






बालेन नेतृत्वको सरकार शासकीय अराजकतामा
कांग्रेसभित्र बृहद् एकताका लागि राष्ट्रिय
विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी