काठमाडौं । झण्डै दुईतिहाइ बहुमतसहित सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पाँच महिना नपुग्दै दोहोरो दबाबमा पर्नुभएको छ । जनजीविकाका सवालमा सरकार खरो रूपमा उत्रिन नसकेको भन्दै स्वयं सत्तापक्षकै सांसदहरूले समेत सरकारको चर्को आलोचना गर्न थालेका हुन् । विपक्षीहरूले त सुरुदेखि नै सरकारको आलोचना गरिरहेका छन् । यसअघि सत्तापक्षका सीमित सांसदले असन्तुष्टि जनाए पनि पछिल्लो समय रास्वपाभित्रै सरकारविरोधी स्वरहरू बढ्न थालेको हो । आन्तरिक रूपमा झांगिँदै गएको रास्वपाभित्रको असन्तुष्टि अब सदनमै पोखिन थालेको छ । सरकारले गरेको कामप्रति रास्वपाका सांसद नै असन्तुष्ट देखिएका छन् । उनीहरूले प्रतिनिधिसभा बैठकमै रास्वपाका सांसदहरूले शाह र सरकारमाथि गम्भीर प्रश्न उठाउन थालेका छन् । खाना पकाउने ग्यास नपाएर लाइनमा बस्दा जनताले खेपिरहेको सास्तीबारे रास्वपाकै सांसदले प्रश्न उठाएका छन् ।
रास्वपा सांसद रमेश प्रसाईंले दुई तिहाइको सरकार हुँदा पनि ग्यासका लागि जनता लाइनमा बस्दा आफूलाई लाज लागेको टिप्पणी गर्नुभयो । यसैगरी, रास्वपा सांसद टीका संग्रौलाले मृत्यु भएपछि पनि दाहसंस्कारका क्रममा कर तिनुपर्ने नीतिप्रति आपत्ति जनाउनुभयो । विपन्न नागरिकको मृत्युमा निःशुल्क दाउरा उपलब्ध गराउन उहाँले सरकारसँग माग गर्नुभयो । रास्वपाकै अर्का सांसद मनीष झाले सरकार सञ्चालनमा ढंग नपुगेको टिप्पणी गर्नुभएको छ । ‘निष्ठामा कुनै शंका छैन । नियतमा पनि प्रश्न छैन । तर, कताकता ढंग नपुगेको हो कि भन्ने लाग्छ । त्यो स्वीकार गर्नुपर्छ’, शुक्रबारको संसद् बैठकमा उहाँले भन्नुभयो । रास्वपा सांसद अमरेशकुमार सिंहले भने अलि पहिल्यैदेखि सरकारको विरोध गर्दै आउनुभएको छ । उहाँले सरकारको बजेटमा पनि चर्को असन्तुष्टि जनाउनुभएको थियो ।
यसअघि विपक्षीहरूले त सुरुदेखि नै राजनीतिक प्रतिशोध साँधेर नेता-व्यापारीलाई धरपकड गरेको, बिना कुनै योजना सुकुम्बासीलाई हटाएको, सेवा प्रभाहमा सुधार गर्न नसकेको र संसद्प्रति प्रधानमन्त्री जवाफदेही नभएको लगायत आरोप लगाएर विरोध गर्दै आएका छन् । विपक्षीको विरोधमा यसअघि रास्वपा सांसदले प्रतिवाद गर्ने गरे पनि पछिल्लो समय आफ्नैबाट समेत सरकारको विरोध हुन थालेको हो ।
कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन : बालेन
सत्तापक्षबाटै सरकारको विरोध हुन थालेपछि प्रधानमन्त्री शाहले पनि घुमाउरो तरिकाले असन्तुष्टि जनाउनुभएको छ । सांसदहरूले शुक्रबार संसद्मै सरकारको विरोध गरेपछि उहाँले मध्यराति फेसबुकमा स्टाटस लेखेर आफ्नो असन्तुष्टि सार्वजनिक गर्नुभएको हो । आफू एक्लो भएको र एक्लै लड्नुपरेको उहाँको आशय छ । ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलोचोटि होइन’, उहाँले भन्नुभएको छ । सही समय आउन केही समय लाग्ने पनि उहाँले बताउनुभएको छ । ढिला भए पनि गलत नहुने उहाँको भनाइ छ । ‘सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुनसक्छ,’ उहाँले भन्नुभएको छ, ‘सही समय आउन कहिलेकाहीँ समय लाग्छ । नआत्तिनुस्, गलत हुँदैन ।’
राष्ट्रिय उद्योग तथा संस्थानमा सुधार दाबी
पछिल्लो समय बजारमा एलपी ग्यासको अभाव देखिएको छ । राहदानी बनाउन घण्टौँ लाइन बस्नुपर्ने र तीन सातादेखि यातायातको सर्भर नचलेर सेवाग्राहीले दुःख पाइरहेका छन् । यी विषयलाई लिएर सरकारको आलोचना सुरु भएपछि प्रधानमन्त्री शाहले भने राष्ट्रिय उद्योग तथा संस्थानमा सुधारका प्रयास भइरहेको दाबी सार्वजनिक गर्नुभएको छ । प्रधानमन्त्री शाहले शनिबार बिहान लामो फेसबुक स्टाटस लेख्दै बन्द तथा घाटामा रहेका सरकारी उद्योग र संस्थान सुधारको दिशामा अघि बढेको दाबी गर्नुभएको हो । प्रधानमन्त्रीले लामो समय घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा दुई करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको बताउनुभएको छ ।
प्रधानमन्त्रीले नेपाल वायुसेवा निगमको आर्थिक अवस्थामा समेत सुधार आएको दाबी गर्नुभएको छ । दुग्ध विकास संस्थान (डिडिसी)मा किसानको रोकिएको बक्यौता भुक्तानीलाई प्राथमिकता दिइएको प्रधानमन्त्रीको भनाइ छ । उहाँका अनुसार किसानलाई भुक्तानी गर्ने चक्र आठ महिनाबाट घटाएर दुई–तीन महिनामा झारिएको छ ।
सिंहदरबार वैद्यखाना विकास समितिबाट सरकार गठनपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरिएको प्रधानमन्त्रीले बताउनुभएको छ ।
हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन
लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको प्रधानमन्त्रीले बताउनुभएको छ । तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादनसमेत हुन थालेको उहाँको भनाइ छ । परीक्षणपछि उद्योग नेपाल सरकारले नै सञ्चालन गर्ने योजना रहेको उहाँले उल्लेख गर्नुभएको छ ।
उद्योगमा २६ वर्षपछि फेरि कपडा बुन्ने तान चल्न थालेका छन् । उद्योगका पुराना मेसिन तथा तान मर्मतसम्भार गरेपछि शनिबारदेखि परीक्षण उत्पादन सुरु गरिएको हो । नेपाली सेनाको नेतृत्वमा उद्योग परिसरमा रहेका मेसिन तथा तानको मर्मत गरी परीक्षण उत्पादन थालिएको प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले जानकारी दिनुभयो । परीक्षण उत्पादनका क्रममा केही मात्रामा कपडा उत्पादनसमेत सुरु भएको प्रधानमन्त्री शाहले बताउनुभएको छ । हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको हो ।
सरकार एक्लो छैन, तर सुधार गर्नैपर्ने केही पक्ष छन् : झा
रास्वपाका नेता मनीष झाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सरकारमा कोही एक्लै नभएको जवाफ दिनुभएको छ । प्रधानमन्त्री शाहले आफू एक्लै लड्नु परेको बताएपछि जवाफमा झाले आफू सरकारको साझामै रहेको बताउनुभएको हो । तर, सुधार गर्नैपर्ने केही पक्ष भने रहेको उहाँको भनाइ छ । ‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन । हामी सबै साथमा छौँ’, झाले भन्नुभएको छ, ‘हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शंका छैन तर सुधार गर्नैपर्ने केही पक्ष छन् ।’
संसद्मा अवसर खेर नजाओस् भनेर सचेत गराइएको र यो काम निरन्तर हुने उहाँको भनाइ छ । ‘यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ’, उहाँले भन्नुभएको छ, ‘जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु । यहाँ कोही एक्लो छैन ।’
भीमार्जुनको प्रश्न- सरकारलाई जवाफदेही नभए यसलाई बदल्न किन सक्नुहुन्न ?
संविधानविद् डा. भीमार्जुन आचार्यले सत्तारूढ दलका नेता तथा सांसदहरूले आफ्नै सरकारका काम कारबाहीप्रति प्रश्न उठाउन थालेकोमा टिप्पणी गर्नुभएको छ । सत्तारूढ दलका नेताहरूले सरकारका कामबारे प्रश्न उठाउन थालेकोमा खुसी व्यक्त गर्दै उहाँले उनीहरूको दोहोरो चरित्रमाथि भने प्रश्न उठाउनुभएको छ । आफैँले बनाएको सरकार संसद्, संविधान, दल र जनता कसैप्रति पनि जवाफदेही नभएको देखेको हो र यसका काम कारबाहीप्रति साँच्चै असन्तुष्ट बनेको हो भने यसलाई बदल्ने तागत सत्तापक्षका नेता तथा सांसदहरूसँगै रहेको उहाँको भनाइ छ । सत्तापक्ष र प्रतिपक्ष दुवै आफैँ बन्ने तमासा नदेखाउन आग्रह गर्दै आचार्यले किन सरकार बदल्न नसकेको ? भनेर प्रश्न गर्नुभएको छ ।
एक्लो भएको चिन्ता छाडेर कार्यशैली बदल्नुहोस् : पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नो कार्यशैली बदल्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री शाहले फेसबुकमा ‘एक्लै लड्नुपर्ने’ भन्दै पोष्ट गरेपछि पोखरेलले एक्लो भएको चिन्ता छाडेर कार्यशैली बदल्न सुझाव दिनुभएको हो । आफ्नै चुनावी वाचा र प्रतिबद्धता सम्झन, जनमतको सम्मान गर्न, संसदीय दल र सार्वभौम संसद्प्रति उत्तरदायी बन्न पोखरेलले प्रधानमन्त्री शाहलाई आग्रह गर्नुभएको छ । आफ्ना कमजोरीहरू सहर्ष स्वीकार गर्दै सच्याएर अघि बढेमा कहिल्यै एक्लो भएको अनुभूति गर्नु नपर्ने पोखरेलको भनाइ छ । तर, अहिलेकै ढंगले चलेमा एक्लो मात्र नभई पूर्णरूपमा असफल हुने निश्चित रहेको पोखरेलको दाबी छ ।
नयाँ सरकार बने पनि मुलुक निराशातर्फ गइरहेको छ : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ सरकार बने पनि मुलुक निराशातर्फ गइरहेको बताउनुभएको छ । राप्रपाको काठमाडौं महानगरपालिका नगर अधिवेशन शनिबार उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले नयाँ सरकार बने पनि मुलुकमा आशा जाग्न नसकेको बताउनुभएको हो । विगत ३५ वर्षदेखि सत्तामा रहेका दलहरूप्रति जनताको आक्रोश कायमै रहेको उहाँको भनाइ छ । गरिब, सुकुम्बासी र आम जनताका लागि राप्रपाले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ ।







कांग्रेसभित्र बृहद् एकताका लागि राष्ट्रिय
विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,