भक्तपुर । नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा सञ्चालित रक्तसञ्चार केन्द्रले एक वर्षको अवधिमा ७५३ युनिट रगत संकलन गरी ७१८ जना बिरामीलाई सेवा दिएको छ।
मध्यपुर थिमि नगरपालिका र त्रिभुवन विश्वविद्यालय लायन्स क्लबको समन्वयमा २०८२ असार १५ गते स्थापना भएको केन्द्रले आकस्मिक शल्यक्रिया, गम्भीर दुर्घटना तथा आईसीयू र सीसीयूमा उपचाररत बिरामीलाई २४सै घण्टा सुरक्षित रगत उपलब्ध गराउँदै आएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट दीपेन्द्रकुमार रौशनले स्थानीयस्तरमै रक्तसञ्चार सेवा उपलब्ध गराई आकस्मिक अवस्थामा काठमाडौं र ललितपुरस्थित केन्द्रीय रक्तसञ्चार केन्द्रमा धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले सेवा सुरु गरिएको बताउनुभयो। रगतको अभावमा आकस्मिक उपचार प्रभावित हुन नदिन केन्द्रले काम गरिरहेको उहाँको भनाइ छ। मध्यपुर थिमि नगरपालिकाका नगरवासीलाई भने निःशुल्क रगत उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो।
ब्लड बैंक इन्चार्ज सुनिल भासिमाका अनुसार एक वर्षमा संकलित रगतको करिब ८० देखि ९० प्रतिशत बिरामीका लागि वितरण गरिएको छ। संकलित रगतबाट प्याक्ड रेड ब्लड सेल (पीआरबीसी), फ्रेश फ्रोजन प्लाज्मा (एफएफपी) र प्लेटलेट कन्सन्ट्रेट (पीसी) छुट्याएर बिरामीको आवश्यकताअनुसार प्रयोग गर्ने गरिएको छ।
उहाँका अनुसार ए र ओ पोजिटिभ रक्तसमूहको माग बढी रहेको छ भने नेगेटिभ रक्तसमूहका अधिकांश प्रकारको रगत अभाव हुने गरेको छ। यस्तो अवस्थालाई सम्बोधन गर्न रक्तसमूहअनुसार लक्षित रक्तदान अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो।
केन्द्रले पहिलो वर्षमा २१ वटा रक्तदान कार्यक्रम सञ्चालन गरी करिब ७ सय स्वयंसेवी रक्तदाताबाट रगत संकलन गरेको छ। रक्तदातामध्ये करिब ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला रहेको केन्द्रले जनाएको छ।
आगामी दिनमा रक्तसञ्चार केन्द्रलाई पूर्ण स्वचालित प्रणालीमा लैजाने, आधुनिक इलेक्ट्रोनिक प्रविधि तथा आवश्यक उपकरण थप गर्ने योजना रहेको भासिमाले बताउनुभयो। जटिल रक्तसम्बन्धी विषयमा अनुसन्धान गर्दै सेवा विस्तार गर्ने र ग्रेड ‘बी’को लाइसेन्स प्राप्त गर्ने लक्ष्यसमेत केन्द्रले लिएको छ।
स्थानीयस्तरमै रक्तसञ्चार सेवा उपलब्ध भएपछि मध्यपुर थिमि तथा भक्तपुरका बिरामीलाई आकस्मिक अवस्थामा रगत खोज्दै काठमाडौं वा ललितपुर पुग्नुपर्ने बाध्यता घटेको छ। यद्यपि नेगेटिभ रक्तसमूहको नियमित अभाव र बढ्दो मागका कारण सेवा विस्तारसँगै नियमित रक्तदाता बढाउन तथा आधुनिक उपकरण र पूर्ण स्वचालित प्रणाली विकास गर्नुपर्ने आवश्यकता देखिएको छ।







कांग्रेसभित्र बृहद् एकताका लागि राष्ट्रिय
विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,