रुपन्देही । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (यूसीएमएस)ले रेडियोलोजी विभाग स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा १२८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान सेवा सञ्चालनमा ल्याएको छ। कलेजले गम्भीर अवस्थाका बिरामीका लागि भेन्टिलेटर सुविधासहितको नयाँ एम्बुलेन्स सेवा पनि सुरु गरेको छ।
नयाँ सिटी स्क्यान मेसिन र एम्बुलेन्स सेवाको शनिबार कलेजका प्रबन्ध निर्देशक खुमाप्रसाद अर्यालले औपचारिक शुभारम्भ गर्नुभयो।
कलेजले यसअघि सञ्चालनमा रहेको सिटी स्क्यान मेसिन विस्थापन गरी करिब रु पाँच करोड ५० लाखको लागतमा नयाँ प्रविधियुक्त १२८ स्लाइसको मेसिन जडान गरेको हो। नयाँ मेसिनबाट कम समयमा परीक्षण सम्पन्न गर्नुका साथै उच्च गुणस्तरको प्रतिवेदन तयार गर्न सकिने कलेजले जनाएको छ।
नयाँ सिटी स्क्यानमा मुटुको थ्रीडी स्क्यान गर्न सकिने सुविधा छ। यसमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि र स्वचालित पोजिसनिङ प्रणालीसमेत समावेश गरिएको छ। यसबाट शरीरका विभिन्न अंगको विस्तृत परीक्षणसँगै मुटुसम्बन्धी जटिल अवस्थाको अध्ययन गर्न सहज हुने कलेजको भनाइ छ।
रेडियोलोजी विभाग प्रमुख प्राध्यापक डा. सदन मुखीले नयाँ प्रविधिले बिरामीको परीक्षणलाई थप सहज, छिटो र प्रभावकारी बनाउने बताउनुभयो। उहाँका अनुसार नयाँ प्रविधिबाट कम समयमा गुणस्तरीय र भरपर्दो प्रतिवेदन तयार गर्न सकिनेछ।
२४ घण्टा सिटी स्क्यान सेवा
कलेजका अनुसार नयाँ सिटी स्क्यान सेवा २४ घण्टा सञ्चालन हुनेछ। यसबाट आकस्मिक अवस्थामा अस्पताल आउने बिरामीलाई आवश्यकताअनुसार तत्काल परीक्षण गर्न सहज हुनेछ।
रेडियोलोजी विभागमा हाल एक जना प्राध्यापक, दुई जना सहप्राध्यापक, चार जना उपप्राध्यापक, १५ जना प्राविधिक, दुई जना नर्सिङ कर्मचारी र तीन जना सहयोगीसहित २७ जना जनशक्ति कार्यरत छन्।
नयाँ प्रविधिको सिटी स्क्यान सेवा सञ्चालनमा आएपछि लुम्बिनी प्रदेशसहित आसपासका क्षेत्रका बिरामीलाई उच्च प्रविधिको परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने कलेजले अपेक्षा गरेको छ। विशेषगरी मुटुसम्बन्धी रोग तथा अन्य जटिल स्वास्थ्य समस्याको पहिचानमा नयाँ प्रविधिले सहयोग पुग्ने कलेजको विश्वास छ।
भेन्टिलेटरसहितको एम्बुलेन्स
कलेजले करिब रु ३३ लाखको लागतमा खरिद गरेको भेन्टिलेटरसहितको नयाँ एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको छ।
एम्बुलेन्सबाट गम्भीर अवस्थाका बिरामीलाई अस्पताल ल्याउन तथा आवश्यक परे अन्य स्वास्थ्य संस्थामा लैजान सेवा उपलब्ध गराइनेछ। एम्बुलेन्स सेवा पनि २४ घण्टा सञ्चालन हुने प्रबन्ध निर्देशक अर्यालले बताउनुभयो।
बिरामीलाई सरल, सहज र सुलभ दरमा सेवा उपलब्ध गराउने उद्देश्यले एम्बुलेन्स सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो। नेपाल सरकारबाट उपलब्ध हुने छुट सुविधालाई समेत समेटेर सेवा प्रदान गरिने उहाँको भनाइ छ।
स्वास्थ्य सेवामा प्रविधि विस्तार
२०५४ सालमा स्थापना भएको यूसीएमएसले पछिल्लो समय स्वास्थ्य सेवामा आधुनिक प्रविधि र उपकरण थप गर्दै आएको जनाएको छ। रेडियोलोजी विभाग स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा नयाँ सिटी स्क्यान र एम्बुलेन्स सेवा थप गरिएको कलेजले जनाएको हो।
नयाँ सिटी स्क्यान सञ्चालनमा आएपछि लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रका बिरामीले अत्याधुनिक परीक्षण सेवा सहज रूपमा पाउने कलेजको अपेक्षा छ। जटिल परीक्षणका लागि अन्यत्र जानुपर्ने अवस्थालाई नयाँ सेवाले केही हदसम्म कम गर्ने कलेजको विश्वास छ।
कलेजले नयाँ उपकरणमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै बिरामीलाई सहज र सुलभ दरमा सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। २४ घण्टा सेवा सञ्चालन हुने भएकाले आकस्मिक अवस्थामा आउने बिरामीले समेत तत्काल परीक्षण सेवा पाउनेछन्।
आगामी दिनमा बिरामीको आवश्यकता र स्वास्थ्य क्षेत्रमा विकास हुँदै गएको प्रविधिअनुसार थप सेवा तथा उपकरण विस्तार गर्दै जाने कलेजले जनाएको छ। नयाँ सेवा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनको सञ्चालन कलेजका सूचना अधिकारी सुशील गुरुङले गर्नुभएको थियो।






प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि