साहित्य मानिसको संवेदनाको भाषा हो । यही संवेदनालाई शब्दमा उतारेर समाजलाई सोच्न बाध्य बनाउने स्रष्टामध्ये एक हुनुहुन्छ शंकर पाण्डे ‘मुत्ति’ । चितवनको माडी नगरपालिका-२, शीतलपुरमा जन्मिनुभएका पाण्डे पछिल्लो समय नेपाली साहित्य, गीतसंगीत र सामाजिक गतिविधिमा सक्रिय हुनुहुन्छ । कथा, कविता, गीत र गजल सबै विधामा समान रूपमा कलम चलाउने उहाँ आफ्ना सिर्जनामार्फत सामाजिक चेतना, मानवीय संवेदना र जीवनका भोगाइलाई अभिव्यक्त गर्दै आउनुभएको छ । लामो समय निजी शिक्षा क्षेत्रमा आबद्ध रहनुभएका उहाँ अहिले नेपाली रैथाने उत्पादन तथा हस्तकलाका सामग्री विदेश निर्यात गर्ने व्यवसायमा पनि सक्रिय हुनुहुन्छ । साहित्य र व्यवसायलाई सँगसँगै अघि बढाइरहनुभएका पाण्डेको पछिल्लो गीत ‘मेरो आफ्नै संसार’ लोकप्रिय गायक प्रमोद खरेलको स्वर र कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीतमा सार्वजनिक भएपछि थप चर्चामा आउनुभएको छ । दुई दशकअघि लेखिएको गीत अहिले श्रोतामाझ पुग्दा उहाँले नयाँ उत्साह पाउनुभएको छ । साहित्य, संगीत, व्यवसाय र समाजसेवाको बहुआयामिक यात्राबारे स्रष्टा शंकर पाण्डे ‘मुत्ति’सँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशःं-
तपाईंको बाल्यकाल कस्तो रह्यो ?
मेरो जन्म चितवनको माडी नगरपालिका-२, शीतलपुरमा भएको हो । त्यतिबेलाको माडी अहिलेको जस्तो विकसित थिएन । गाउँको प्राकृतिक वातावरण, खेतबारी, जंगल र सरल जीवनशैलीबीच मेरो बाल्यकाल बित्यो । बुबा स्वर्गीय देवीप्रसाद पाण्डे र आमा सेतुकुमारी पाण्डेको संस्कारले मलाई मिहिनेत, अनुशासन र इमानदारी सिकायो । हामी पाँच सन्तानमध्ये म जेठो भएकाले सानैदेखि जिम्मेवारी बोक्ने अवसर पनि पाए । ग्रामीण परिवेशमा हुर्कँदा मानिसका दुःख-सुख नजिकबाट देख्न पाए । त्यही अनुभवले पछि मेरो लेखनमा मानवीय संवेदनालाई स्थान दियो ।
शिक्षा र साहित्यको सम्बन्ध तपाईं कसरी हेर्नुहुन्छ ?
मैले विद्यालय तहसम्मको शिक्षा माडीमै हासिल गरेँ । त्यसपछि भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्ययन गरेँ र स्नातकोत्तर त्रिभुवन विश्वविद्यालयबाट पूरा गरें । मेरो विचारमा शिक्षा र साहित्य एकअर्काका पूरक हुन् । शिक्षाले सोच्ने क्षमता दिन्छ भने साहित्यले त्यो सोचलाई मानवीय बनाउँछ । पुस्तकले ज्ञान दिन्छ, साहित्यले जीवन बुझाउँछ । अध्ययनले मेरो सिर्जनात्मक दृष्टि फराकिलो बनाएको छ ।
मेरो लागि कला साहित्य मनोरञ्जनको माध्यम मात्र होइन । यो समाजलाई ऐना देखाउने शक्ति हो । साहित्यले प्रश्न पनि गर्छ, उत्तर खोज्न पनि प्रेरित गर्छ । यदि एउटा कविता, एउटा गीत वा एउटा कथा पढेर कुनै व्यक्तिको सोच सकारात्मक दिशामा परिवर्तन हुन्छ भने त्यो नै साहित्यको सबैभन्दा ठूलो सफलता हो भन्ने लाग्छ ।
साहित्यतर्फको यात्रा कसरी सुरु भयो ?
लेख्ने रुचि विद्यालय जीवनदेखि नै थियो । सुरुमा कविता लेख्थेँ । पछि कथा, गजल र गीतमा पनि रुचि बढ्दै गयो । समाजमा देखिने अन्याय, विभेद, प्रेम, पीडा र संघर्षले मलाई लेख्न प्रेरित गर्यो । मलाई लाग्छ, स्रष्टाले केवल मनोरञ्जनका लागि होइन, समाजलाई सोच्न बाध्य बनाउने गरी लेख्नुपर्छ । त्यसैले मेरा अधिकांश सिर्जनामा कुनै न कुनै सामाजिक सन्देश हुन्छ ।
तपाईं कथा, कविता, गीत र गजल सबै विधामा लेख्नुहुन्छ । कुन विधाले बढी आकर्षित गर्छ ?
मेरो लागि सबै विधा प्रिय छन् । कहिलेकाहीँ कुनै अनुभूति कवितामा व्यक्त हुन्छ, कुनै कथा बन्न खोज्छ, कुनै गीतको लयमा बग्छ । त्यसैले म आफूलाई एउटामात्रै विधामा सीमित राख्न चाहन्नँ । साहित्यको जुन माध्यमबाट भाव प्रभावकारी रूपमा व्यक्त हुन्छ, त्यही विधा रोज्छु ।
तपाईंका सिर्जनामा मुख्य विषयवस्तु के-के हुन्छन् ?
समाज, मानवीय सम्बन्ध, प्रेम, वेदना, संघर्ष, आशा र चेतना मेरा प्रमुख विषय हुन् । विशेषगरी समाजमा सकारात्मक परिवर्तन ल्याउने र मानिसलाई सोच्न बाध्य बनाउने सिर्जना लेख्न मन पराउँछु । आजको समाजमा धेरै समस्या छन् । साहित्यले ती समस्यामाथि प्रश्न उठाउनुपर्छ । केवल रमाइलो गराउने साहित्यले मात्र आफ्नो उद्देश्य पूरा गर्दैन भन्ने मेरो विश्वास हो ।
यहाँको पछिल्लो गीत ‘मेरो आफ्नै संसार’ले राम्रै चर्चा पायो नि ?
यो गीत मेरो हृदयसँग जोडिएको सिर्जना हो । रोचक कुरा के छ भने यो गीत मैले करिब दुई दशकअघि लेखेको थिए । त्यसबेला विभिन्न कारणले सार्वजनिक हुनसकेन । समय बित्दै गयो । पछि यो गीतलाई संगीतकार सन्तोष श्रेष्ठले संगीत दिनुभयो । प्रमोद खरेलज्यूको स्वरले गीतलाई अझ प्रभावशाली बनायो । माधव खरेलले निर्देशन गर्नुभयो । अन्ततः गीत श्रोता–दर्शकमाझ आयो । गीत सार्वजनिक भएपछि धेरैले आत्मीय प्रतिक्रिया दिनुभयो । पुरानो सिर्जनाले नयाँ पुस्तासमेत छोएको देख्दा निकै खुशी लागेको छ ।
दुई दशक पुरानो सिर्जना अहिले सार्वजनिक हुँदा कस्तो अनुभूति भयो ?
सिर्जना समयभन्दा ठूलो हुन्छ भन्ने अनुभूति भयो । भावना कहिल्यै पुरानो हुँदैन रहेछ । आजका श्रोताले पनि त्यो गीतलाई आफ्नो जीवनसँग जोडेर सुन्नुभएको छ । त्यसले मलाई अझ धेरै पुराना सिर्जना सार्वजनिक गर्न प्रेरणा दिएको छ ।
अब अन्य गीत पनि आउँदैछन् ?
अवश्य । मैले विगतमा लेखेका धेरै गीत अझै सार्वजनिक भएका छैनन् । ती गीतलाई क्रमशः संगीतबद्ध गरेर ल्याउने तयारी भइरहेको छ । मेरो चाहना संख्या बढाउनु होइन, गुणस्तरीय सिर्जना श्रोतामाझ पुर्याउनु हो । एउटा राम्रो गीतले धेरै वर्षसम्म मानिसको मनमा स्थान बनाउनसक्छ ।
लामो समय निजी शिक्षा क्षेत्रमा पनि आबद्ध रहनुभयो जागिर छोडेर व्यवसाय रोज्नुभयो नि ?
धेरैले राम्रो जागिर छोडेर व्यवसायमा जानु जोखिमपूर्ण निर्णय हो भन्नुभयो । तर, मलाई लाग्यो, केही नयाँ गर्नुपर्छ । केवल आफ्नै लागि होइन, नेपाली उत्पादन र नेपाली पहिचानका लागि पनि काम गर्नुपर्छ । अहिले हामी नेपाली रैथाने उत्पादन तथा हस्तकलाका सामग्री विदेश पठाउने काम गरिरहेका छौं । हस्तकलाका सामग्रीसँगै अचार, गुन्द्रुक, मस्यौरालगायतका नेपाली स्वाद र संस्कृतिसँग जोडिएका उत्पादन विदेशमा रहेका नेपाली तथा अन्य ग्राहकसम्म पुर्याइरहेका छौं । मेरो लागि यो केवल व्यापार होइन, नेपाली मौलिकताको प्रवर्द्धन गर्ने अभियान पनि हो ।
व्यवसाय र साहित्यलाई सँगै अघि बढाउन कत्तिको चुनौती हुन्छ ?
समय व्यवस्थापन सबैभन्दा ठूलो चुनौती हो । व्यवसायले समय माग्छ, साहित्यले मन माग्छ । तर, दुवैलाई सन्तुलित बनाउने प्रयास गरिरहेको छु । म विश्वास गर्छु, जुनसुकै पेशामा रहे पनि सिर्जनशीलता मर्दैन । बरू जीवनका विविध अनुभवले साहित्यलाई अझ समृद्ध बनाउँछ । व्यवसायले पनि समाजका नयाँ पक्ष बुझ्ने अवसर दिएको छ, जुन मेरो लेखनमा प्रतिबिम्बित भइरहेको छ ।
समाजसेवामा पनि सक्रिय हुनुहुन्छ । यसको प्रेरणा कहाँबाट आयो ?
मानिस भएर समाजप्रति केही जिम्मेवारी हुन्छ भन्ने भावना सानैदेखि थियो । सकेको ठाउँमा सहयोग गर्ने, सामाजिक गतिविधिमा सहभागी हुने र सकारात्मक काममा हातेमालो गर्ने प्रयास गर्छु । मलाई लाग्छ, समाजसेवा ठूलो रकम खर्च गरेरमात्र हुँदैन । एउटा राम्रो विचार, एउटा प्रेरणादायी शब्द वा कसैको दुःखमा साथ दिनु पनि समाजसेवा हो । साहित्यले पनि यही काम गर्छ । त्यसैले म साहित्य र समाजसेवालाई अलग-अलग रूपमा हेर्दिनँ ।
आजको नेपाली साहित्यको अवस्था तपाईंलाई कस्तो लाग्छ ?
नेपाली साहित्य निकै समृद्ध छ । नयाँ पुस्तामा लेख्ने उत्साह प्रशंसनीय छ । डिजिटल माध्यमका कारण धेरै स्रष्टाले आफ्नो सिर्जना पाठकमाझ पुर्याउन सकेका छन् । तर, लेखनमा गहिराइ, अध्ययन र मौलिकताको आवश्यकता अझै छ । सामाजिक सञ्जालमा धेरै लेख्नु र राम्रो साहित्य सिर्जना गर्नु एउटै कुरा होइन । राम्रो साहित्यका लागि अध्ययन, धैर्य, अनुभव र भाषाप्रतिको जिम्मेवारी आवश्यक हुन्छ भन्ने लाग्छ ।
अहिले सामाजिक सञ्जालले साहित्यलाई कस्तो प्रभाव पारेको छ ?
सकारात्मक र नकारात्मक दुवै प्रभाव छन् । सकारात्मक पक्ष के भने नयाँ लेखकले सजिलै पाठक पाउन थालेका छन् । आफ्ना सिर्जना तुरुन्तै सार्वजनिक गर्न सकिन्छ । तर, नकारात्मक पक्ष पनि छ । तुरुन्तै चर्चित हुने होडमा कतिपय सिर्जना अपरिपक्व अवस्थामा नै सार्वजनिक हुने गरेका छन् । साहित्यमा धैर्य आवश्यक हुन्छ । सिर्जना समयसँगै परिष्कृत हुँदै जानुपर्छ भन्ने लाग्छ ।
तपाईंका सिर्जनामा वेदना र सामाजिक सन्देश बढी देखिन्छ । यसको कारण के हो ?
म मौन आवाजलाई शब्द दिने प्रयास गर्छु । वेदना भनेको निराशा मात्र होइन, परिवर्तनको सुरुवात पनि हो । मानिस दुःखबाट धेरै सिक्छ । त्यसैले मेरा गीत र कवितामा पीडा भए पनि अन्ततः आशा र सकारात्मक सन्देश हुन्छ ।
तपाईंका लागि साहित्य के हो ?
मेरो लागि साहित्य मनोरञ्जनको माध्यम मात्र होइन । यो समाजलाई ऐना देखाउने शक्ति हो । साहित्यले प्रश्न पनि गर्छ, उत्तर खोज्न पनि प्रेरित गर्छ । यदि एउटा कविता, एउटा गीत वा एउटा कथा पढेर कुनै व्यक्तिको सोच सकारात्मक दिशामा परिवर्तन हुन्छ भने त्यो नै साहित्यको सबैभन्दा ठूलो सफलता हो ।
यहाँका आगामी योजना के-के छन् ?
मेरा पुराना गीतहरू क्रमशः संगीतबद्ध गरेर सार्वजनिक गर्ने योजना छ । साहित्यिक यात्रालाई अझ सक्रिय बनाउने सोच छ । व्यवसायका माध्यमबाट नेपाली रैथाने उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा थप विस्तार गर्ने योजना पनि छ । नेपाली उत्पादन विश्व बजारमा सम्मानका साथ पुगून् भन्ने चाहना छ ।
अन्त्यमा ?
सबैभन्दा पहिले मेरो सिर्जनालाई माया गर्ने सम्पूर्ण पाठक, श्रोता, दर्शक तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । तपाईंहरूको प्रेम, सुझाव र आलोचनाले नै मलाई अझ राम्रो सिर्जना गर्न प्रेरित गरेको छ । मेरा लेख, कविता, गीत र गजल पढिदिनुहोस्, सुन्नुहोस् र खुलेर प्रतिक्रिया दिनुहोस् । सकारात्मक आलोचनाले स्रष्टालाई अझ परिपक्व बनाउँछ । मेरो विश्वास छ-साहित्य, संगीत र समाजसेवा एउटै यात्राका तीन फरक आयाम हुन् । यी सबैको अन्तिम उद्देश्य मानिसलाई मानिससँग जोड्नु, मानवीय मूल्य जोगाउनु र सकारात्मक समाज निर्माण गर्नु हो । म आगामी दिनमा पनि यही विश्वासका साथ कलम चलाइरहनेछु ।







राजधानीमा विविध कार्यक्रमसहित मनाइयो ३२
सुशासनका लागि राजनीतिक नेतृत्वमा अनुशासन
सिंहदरबारको नाम फेर्न सांसद ढकालको
उच्च आर्थिक वृद्धिको लागि नीतिगत
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु,
भदौदेखि रास्वपाको ‘नागरिक, नीति र