विर्तामोड । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीभित्र बृहद् एकता कायम गर्ने अभियानका रूपमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताउनुभएको छ।
नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलामा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय राजनीति, कूटनीतिक सम्बन्ध, पार्टीभित्रको अन्योल तथा स्थानीय तह निर्वाचनलगायत विषयमा नीतिगत छलफल हुने जानकारी दिनुभयो।
कांग्रेसभित्रको विवाद र त्यसको न्यायिक निरूपणका विषयमा बोल्दै नेता सिटौलाले विपक्षीलाई सुनुवाइको अवसरसमेत नदिई निर्वाचन आयोगले गरेको निर्णयलाई सर्वोच्च अदालतले पनि तत्कालीन सभापति शेरबहादुर देउवालाई सुनुवाइको अवसर नदिई सदर गरेको भन्दै त्यसविरुद्ध पुनरावलोकनका लागि निवेदन दिइएको बताउनुभयो।
“प्रतिवादीलाई सुनुवाइको मौका नदिई गरेको निर्णय बदर हुन्छ,” उहाँले भन्नुभयो, “निर्वाचन आयोग र सर्वोच्च अदालतले तत्कालीन सभापति शेरबहादुर देउवालाई सुनुवाइको मौका समेत नदिई फैसला गर्नु गलत हो।”
नेता सिटौलाले कार्यकर्तालाई पार्टीबाट पन्छाएर वा गलहत्याएर राजनीति गर्न नसकिने बताउँदै एकलौटी ढंगले पार्टी सञ्चालन गर्न खोज्दा थप समस्या निम्तिने चेतावनी दिनुभयो।
“कार्यकर्ता लखेटेर र गलहत्याएर राजनीति हुँदैन,” उहाँले भन्नुभयो, “एकलौटी गर्न खोजे पार्टीभित्र थप दुर्गति निम्तन्छ।”
भदौ २३ र २४ गतेको आन्दोलनपछि पार्टीलाई थप मजबुत र एकीकृत बनाउनुपर्ने अवस्थामा विशेष महाधिवेशनमार्फत पार्टी कब्जा गर्न खोज्नु वर्तमान नेतृत्वको गलत कदम भएको उहाँले टिप्पणी गर्नुभयो।
“भदौ २२ सम्म शेरबहादुरको काखमा बस्ने, २५ गते सबै नष्ट गरौँ भन्न मिल्छ?” उहाँले प्रश्न गर्नुभयो। “देउवासँग मेरा सयौँ असहमति छन्, तर राजनीति भनेको आपत पर्दा सहयोग गर्ने हाम्रो संस्कार हो। सहयोग गर्ने बेलामा पार्टीबाट गलहत्याउने काम ठीक भएन।”
कसले विशेष महाधिवेशनमा सहभागिता जनायो, को राष्ट्रिय भेलामा गयो तथा कसले सदस्यता अद्यावधिक गर्यो वा गरेन भन्ने विषयभन्दा माथि उठेर पार्टीभित्र बृहद् एकता कायम गर्न नेता सिटौलाले कार्यकर्तालाई आह्वान गर्नुभयो। उहाँले एकतामै पार्टीको शक्ति हुने दोहोर्याउँदै कार्यकर्ताको आत्मीयता र सम्मानबाट मात्रै पार्टी एकढिक्का बन्न सक्ने बताउनुभयो।
पहिले नै नवीकरण गरिसकेको सदस्यता पुनः अद्यावधिक गर्ने नाममा वर्तमान नेतृत्वले कतिपय वडा तथा तहगत सभापतिलाई कारबाही गर्नु स्वेच्छाचारी प्रवृत्ति भएको उहाँको टिप्पणी थियो।
‘स्टाटसले मात्रै देश चल्दैन’
अर्को प्रसङ्गमा नेता सिटौलाले वर्तमान प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको टिप्पणी गर्नुभयो।
“लोकतन्त्रमा प्रधानमन्त्री संसद्प्रति जवाफदेही र उत्तरदायी हुनुपर्छ,” उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले पर्दापछाडिबाट शासन गर्न खोजेको देखिन्छ। स्टाटसले मात्रै देश चल्दैन।”
संसद्मा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले संसद्बाटै दिनुपर्ने उहाँको भनाइ थियो।
भदौ २३ र २४ गतेका घटनाका विषयमा राष्ट्रिय मानव अधिकार आयोग र सरकारले गठन गरेको आयोगको प्रतिवेदनमा फरक तथ्य देखिएको उल्लेख गर्दै उहाँले त्यसबारे बृहत् अध्ययन र अनुसन्धान आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बाले निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनका पक्षमा एकलौटी निर्णय गरेपछि पुनः कानुनी प्रक्रिया अघि बढाइएको बताउनुभयो। कार्यक्रममा मदन बुढाथोकी, भगिरथ पोद्दारलगायतले मन्तव्य राख्नुभएको थियो। डा. खगेन्द्रपाण्डव अधिकारीले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले गर्नुभएको थियो।
नेपाल महिला संघ झापाद्वारा ७९औँ स्थापना दिवस मनाइयो
विर्तामोड, २४ साउन । नेपाल महिला संघ झापाले ७९औँ स्थापना दिवस मनाएको छ।
नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको तस्बिरमा माल्यार्पण गरी स्थापना दिवस मनाइएको हो।
कार्यक्रममा नेपाल महिला संघ झापाकी अध्यक्ष टीका सिटौला मैनालीले संघको स्थापना र योगदानबारे चर्चा गर्नुभएको थियो। उहाँका अनुसार तत्कालीन समयमा महिलाको शिक्षा, मतदानको अधिकार, मानव अधिकार तथा लैङ्गिक अधिकारका विषय उठाउँदै मंगलादेवी सिंहको नेतृत्वमा ११ सदस्यीय केन्द्रीय समिति गठन गरिएको थियो।
जहानियाँ राणा शासनका कारण राजनीतिक गतिविधि प्रतिबन्धित रहेको अवस्थामा स्थापना भएको महिला संघले नेपाली कांग्रेससँगै प्रजातन्त्र स्थापना तथा लोकतान्त्रिक विधि र पद्धतिका लागि संगठित रूपमा संघर्ष गरेको उहाँले बताउनुभयो।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य भुमादेवी घिमिरे, कांग्रेस जिल्ला सदस्यहरू देविका निरौला बस्नेत, लीला मैनाली, गीता ओडारी खरेल, सेलेतुन खातुनलगायत महिला संघका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण इन्दु पूर्वेलीले गर्नुभएको थियो।







विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण
पहिचान भइसकेका शव तत्काल परिवारलाई
सम्पत्ति शुद्धीकरण विभागका डिजीलाई पेस्तोल