काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनसम्बन्धी सर्वोच्च अदालतको पुनरावलोकन प्रक्रियाको सामना गर्ने बताउनुभएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले विशेष महाधिवेशन विधानसम्मत, आवश्यक र औचित्यपूर्ण भएको दाबी गर्नुभयो।
उहाँले विशेष महाधिवेशनबाट भएका निर्णयलाई निर्वाचन आयोगले अद्यावधिक गर्दै त्यसलाई मान्यता दिएको बताउनुभयो। त्यसपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत पुगेको र अदालतबाट समेत विशेष महाधिवेशनका पक्षमा आदेश आएको उहाँको भनाइ थियो।
तर, उक्त आदेशविरुद्ध परेको निवेदनमा सर्वोच्च अदालतले पुनरावलोकन गर्ने निर्णय गरेपछि कांग्रेसले अब कानुनी प्रक्रियाबाटै आफ्नो पक्षको प्रतिरक्षा गर्ने उहाँले बताउनुभयो।
“अब हामी शानका साथ अदालत जाने, शानका साथ त्यसको डिफेन्स गर्ने हो,” सभापति थापाले भन्नुभयो।
उहाँले अदालतको निर्णयका विषयमा सरकारका व्यक्तिहरूले के भने वा कसले कहाँ के कुरा गर्यो भन्नेभन्दा संवैधानिक तथा न्यायिक संस्थामाथि विश्वास गर्नुपर्ने बताउनुभयो।
“सरकारका मान्छेका कुरा छाडेर सर्वोच्च अदालतजस्ता संस्थालाई हामीले विश्वास गर्नुपर्छ,” उहाँले भन्नुभयो, “पञ्चायतकालमा पनि बीपी कोइरालाले विश्वास गरेको अदालतलाई हामीले मान्नुपर्छ।”
सभापति थापाले विशेष महाधिवेशनमा सहभागी नभएका कांग्रेसका नेता तथा कार्यकर्तालाई समेत नेतृत्वको पक्षमा उभिन आग्रह गर्नुभयो। उहाँले पार्टीभित्र कसैलाई पहिलो वा दोस्रो दर्जाको व्यवहार नगरिने स्पष्ट पार्नुभयो।
विशेष महाधिवेशनसम्बन्धी विवाद अब राजनीतिक विषयमा मात्र सीमित नरही न्यायिक तथा कानुनी लडाइँका रूपमा समेत अघि बढ्ने संकेत उहाँको अभिव्यक्तिले गरेको छ।







प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै