काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको आरोप लगाउनुभएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारले विधिसम्मत प्रक्रिया र शक्ति पृथकीकरणको सिद्धान्तको सीमासमेत नाघ्न थालेको आरोप लगाउनुभयो।
उहाँले कार्यपालिकाले न्यायपालिकाको सीमासमेत आफूभित्र पर्ने गरी व्यवहार गर्न थालेको तथा संवैधानिक निकाय र संसद्लाई समेत नमान्ने प्रवृत्ति दोहोरिएको भन्दै त्यस्ता गतिविधिमा छुट दिन नहुने बताउनुभयो।
प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको यात्रालाई ‘एक्सप्रेस वे’सँग तुलना गर्दै दिएको अभिव्यक्तिको प्रसंग उल्लेख गर्दै सभापति थापाले सरकारले तीव्र गतिमा अघि बढ्न चाहे पनि विधि र प्रक्रियाको ‘लेन’ मिच्न नपाउने बताउनुभयो।
“प्रधानमन्त्रीजीले मेरो गाडी एक्सप्रेस वेमा हिँडेको हो भन्नुभयो। मेरो गाडीमा ब्रेक छैन भन्नुभयो। ब्रेक राख्नुस्, नराख्नुस् तपाईंको छनोटको विषय हो। तर स्पिडमा हिँड्ने हो र एक्सप्रेस वेमा जाने हो भन्दैमा लेनभन्दा बाहिर जान्छु भन्ने तपाईंको छनोटको विषय होइन,” उहाँले भन्नुभयो।
उहाँले सरकार विधिसम्मत प्रक्रियाभन्दा बाहिर जान नपाउने र शक्ति पृथकीकरणको सिद्धान्तलाई बेवास्ता गर्न नपाउने बताउनुभयो।
“स्पिड बढाउन पाउनुहुन्छ, ब्रेक नलगाउन पनि पाउनुहुन्छ, तर लेनभन्दा बाहिर जान पाउनुहुन्न। यसको अर्थ विधिसम्मत प्रक्रियाभन्दा बाहिर जान सरकार पाउँदैन। शक्ति पृथकीकरणको सिद्धान्तलाई तिलाञ्जली दिन्छु भन्न पाउँदैनौँ,” उहाँले भन्नुभयो।
सभापति थापाले एउटै प्रकृतिका घटना पटक–पटक दोहोरिए त्यसलाई संयोग नभई प्रवृत्तिका रूपमा बुझ्नुपर्ने बताउनुभयो।
“एक पटक भयो भने त्यो संयोग हो भन्न सकिन्छ। दुई पटक भयो भने पनि संयोग हो भन्न सकिन्छ। तर एउटै कुरा पटक–पटक दोहोरिन्छ भने त्यो संयोग नभई प्रवृत्ति हो। त्यसमा माफी दिने छुट पनि हामीसँग छैन,” उहाँले भन्नुभयो।
उहाँले सरकारको कार्यशैलीले कार्यपालिकाको सीमा स्वीकार नगरेको आरोप लगाउनुभयो। कार्यपालिकाले न्यायपालिकाको सीमा पनि आफूभित्र पर्ने गरी व्यवहार गर्न थालेको तथा संवैधानिक निकाय र संसद्लाई समेत बेवास्ता गर्ने प्रवृत्ति देखिएको उहाँको भनाइ छ।
“सरकारले न्यायपालिकाको सीमा पनि मैभित्र पर्छ भन्ने मान्न थाल्यो। संवैधानिक निकायलाई उसले मान्दैन। संवैधानिक निकाय पनि मेरो आदेशपालक हो भन्न थाल्यो। संसद्लाई पनि मान्दैन,” उहाँले भन्नुभयो।
उहाँले शासकीय अराजकता सरकार नै नहुनु नभई सरकारमा रहेकाले शक्ति र प्रक्रियाको सीमा नाघ्नु भएको स्पष्ट पार्नुभयो।
“शासकीय अराजकता भनेको सरकार नहुने होइन, हुने हो। तर शक्ति र प्रक्रियाको सीमा नाघ्ने कुरा हो। नेपाल अहिले शासकीय अराजकताबाट आक्रान्त भएको छ। यो अराजकताको छुट हामीले यो सरकारलाई दिनु हुँदैन,” उहाँले भन्नुभयो।
सभापति थापाले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिनसम्बन्धी प्रतिवेदन लुकाइएको भन्दै आपत्तिसमेत जनाउनुभयो।
त्यस्तै, पछिल्लो समय मन्त्री तथा सत्तारूढ दलका सांसदहरूले सार्वजनिक रूपमा हप्कीदप्की दिने गरेको भन्दै उहाँले यस्तो शैलीले मुलुकलाई सही दिशातर्फ लैजान नसक्ने बताउनुभयो।
वर्तमान सरकार बरालिएर हिँडिरहेको आरोप लगाउँदै सभापति थापाले सरकारका अराजक गतिविधिमाथि खबरदारी गर्दै त्यसलाई सही ठाउँमा ल्याउने जिम्मेवारी कांग्रेसको भएको बताउनुभयो।






साउदी अरेबियालाई ५ विकेटले हराउँदै
बालेनलाई गगनको सुझाव : ‘महासभामा
बाढीले मनास्लु पदमार्ग अवरुद्ध, लार्केपास
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द,
भोटेकोशी बाढी महाविपत्ति हो, पीडितलाई
मकवानपुरमा मादक पदार्थ सेवनपछि कुटपिट,