काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन गर्न नसकिने बताउनुभएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी तय गरिएको कार्यतालिका नै अन्तिम भएको बताउनुभयो।
उहाँले पार्टीको विधान र प्रचलित कानुनअनुसार तय भएको महाधिवेशनको कार्यतालिका परिवर्तन गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पार्नुभयो।
“पार्टीको महाधिवेशनका लागि जुन मिति तय गरिएको छ, त्यो तलमाथि गर्ने सुविधा हामी कसैलाई पनि छैन। हाम्रो विधानको व्यवस्थाले त्यो कुरा तोकिदिएको छ। नेपालको कानुनको व्यवस्था पनि त्यही छ,” उहाँले भन्नुभयो।
सभापति थापाले असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनको कार्यतालिका नै अन्तिम भएको बताउँदै पार्टीको बृहत्तर एकताका लागि छुटेका नेता तथा कार्यकर्तालाई सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी गराउन केही समय लागेको स्पष्ट पार्नुभयो।
उहाँका अनुसार बढीभन्दा बढी नेता तथा कार्यकर्तालाई सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी गराउने उद्देश्यले कार्यतालिकालाई सहज बनाउने क्रममा केही समय लागेको हो। वडा अधिवेशन सुरु गर्ने मितिमा भने एक–दुई दिनभन्दा बढीको फरक नपर्ने गरी बैठकबाट टुंगो लगाइने उहाँले बताउनुभयो।
विशेष महाधिवेशन र पार्टीको वैधानिकतासम्बन्धी विषयमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशलाई आफूहरूले सामान्य रूपमा लिएको सभापति थापाले बताउनुभयो। उहाँले कांग्रेसले पुनः न्यायालयको सामना गर्ने बताउँदै न्यायालयप्रति विश्वास कायम राख्नुपर्नेमा जोड दिनुभयो।
विशेष महाधिवेशन विधानसम्मत भएको र त्यसलाई निर्वाचन आयोग तथा सर्वोच्च अदालतले यसअघि नै वैधानिकता दिएको दाबी गर्दै उहाँले त्यस विषयमा डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो।
“विशेष महाधिवेशनको विषयमा हिजो सत्य भएको कुरा फेरि पनि सत्य नै हुन्छ,” उहाँले भन्नुभयो, “कुनै व्यक्तिका कारण संस्थाको आलोचना गर्नुहुँदैन। यसले संस्थाहरूमाथिको विश्वास घटाउँछ।”
उहाँले पञ्चायतकालमा समेत बीपी कोइरालाले न्यायालयमाथि विश्वास गरेको स्मरण गर्दै कांग्रेसले पनि न्यायालयप्रति विश्वास राख्नुपर्ने बताउनुभयो।
“पञ्चायतकालमा पनि न्यायालयमाथि विश्वास गरेर जानुभएका बीपी कोइरालाका कार्यकर्ता हौँ हामी। त्यसकारण हामी न्यायालयमाथि विश्वास राख्नुपर्छ, राख्छौँ,” उहाँले भन्नुभयो।
सभापति थापाले १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा समेत जारी केन्द्रीय कार्यसमिति बैठकमा छलफल आवश्यक रहेको बताउनुभयो।







जलवायु परिवर्तनको असर न्यूनीकरण तथा
एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,
विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति
विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः