ललितपुर । महानायक राजेश हमालले कलाकारिताका विभिन्न विधामध्ये हास्य विधा अर्थात् कमेडी सबैभन्दा चुनौतीपूर्ण रहेको बताउनुभएको छ।
नेपालको पहिलो ‘कमेडी एक्ट’मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’को आइतबार ललितपुरमा आयोजित औपचारिक घोषणा कार्यक्रममा बोल्दै हमालले मानिसलाई हँसाउनु निकै कठिन कार्य भएको बताउनुभयो।
भावनात्मक प्रस्तुति वा प्रेमका विषयमार्फत दर्शकलाई रुवाउन सहज भए पनि हँसाउनु निकै चुनौतीपूर्ण हुने उहाँको भनाइ छ।
“भावनामा आएर कसैलाई रुवाउन वा माया–प्रीतिका कुरा प्रस्तुत गर्न सहज भए पनि प्रस्तुतिमार्फत कसैलाई हँसाउनु निकै चुनौतीपूर्ण हुन्छ। यो व्यक्तिको ‘सेन्स अफ ह्युमर’सँग प्रत्यक्ष जोडिने विषय हो,” उहाँले भन्नुभयो।
हास्य विधामा क्रियाशील कलाकारहरूप्रति उच्च सम्मान व्यक्त गर्दै हमालले कमेडीलाई जटिल कलाका रूपमा व्याख्या गर्नुभयो। उहाँले कार्यक्रममा उपस्थित अभिनेता रविन्द्र झाको प्रसंग उल्लेख गर्दै हास्य कलाकारहरूको प्रस्तुति शैली र शिल्पको प्रशंसा गर्नुभयो।
हास्य विधामा आधारित रियालिटी शोको हिस्सा बन्न पाउँदा आफू खुसी रहेको उहाँले बताउनुभयो। ‘सुपर कमेडी लिग’ले नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
‘यो शो मेरा लागि एउटा स्कुल हो’ : रविन्द्र झा
अभिनेता रविन्द्र झाले ‘सुपर कमेडी लिग’ आफ्नो लागि महत्वपूर्ण सिकाइको केन्द्र भएको बताउनुभयो।
कार्यक्रममा आफूले पाएको जिम्मेवारीभन्दा पनि त्यसबाट प्राप्त हुने अनुभव र ज्ञानलाई बढी प्राथमिकता दिने उहाँले बताउनुभयो। कार्यक्रममा महानायक राजेश हमालको उपस्थितिलाई मुख्य आकर्षणका रूपमा उल्लेख गर्दै झाले नयाँ तथा पुराना कलाकारको संगमबाट धेरै कुरा सिक्ने अवसर मिल्ने अपेक्षा व्यक्त गर्नुभयो।
“यो शो मेरा लागि एउटा स्कुल हो, जहाँ म शिक्षकको भूमिकामा छु भने राजेश दाइ प्रधानाध्यापक हुनुहुन्छ। उहाँसँग सहकार्य गर्न पाउनु र उहाँबाट धेरै कुरा सिक्न सकिने अवसर हुनु मेरा लागि खुसीको कुरा हो,” झाले भन्नुभयो।
शोका प्राविधिक तथा अन्य पक्षबारे भने केही समय कुर्नुपर्ने उहाँको भनाइ छ। केही एपिसोड प्रसारण नभएसम्म धेरै बोल्नुभन्दा कामबाटै कार्यक्रमको क्षमता देखाउनु उचित हुने उहाँले बताउनुभयो।
‘ओझेलमा परेका प्रतिभाका लागि उत्कृष्ट मञ्च बन्नेछ’ : सुरक्षा पन्त
अभिनेत्री सुरक्षा पन्तले ‘सुपर कमेडी लिग’मा टिम क्याप्टेनको भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो। उहाँले कार्यक्रमको अवधारणाले आफूलाई निकै आकर्षित गरेको बताउनुभयो।
पारिवारिक तथा सौहार्दपूर्ण वातावरणमा हेर्न मिल्ने हास्य–व्यङ्ग्यात्मक कार्यक्रमले नेपाली समाजमा छुट्टै पहिचान बनाउन सक्ने उहाँको विश्वास छ।
पन्तका अनुसार उचित प्लेटफर्मको अभावमा ओझेलमा परेका प्रतिभाका लागि यो कार्यक्रम उत्कृष्ट मञ्च बन्न सक्छ।
“हाम्रो समाजमा धेरै प्रतिभाशाली व्यक्तिहरू हुनुहुन्छ, जसले उचित प्लेटफर्मको अभावमा आफ्नो कला लुकाएर बस्नुभएको छ। त्यस्ता लुकेका प्रतिभाहरूलाई एउटा बृहत् मञ्च प्रदान गर्नु नै यो लिगको सबैभन्दा ठूलो सफलता हुनेछ,” उहाँले भन्नुभयो।
सामान्यतया पर्दामा गम्भीर चरित्रमा देखिँदै आउनुभएकी पन्तले आफू व्यक्तिगत रूपमा कमेडी विधाको ठूलो प्रशंसक रहेको बताउनुभयो। कमेडी विधामा आफूलाई धेरै अवसर नआए पनि यो कार्यक्रममार्फत नयाँ अनुभव हासिल गर्न उत्साहित रहेको उहाँले बताउनुभयो।
क्याप्टेनको जिम्मेवारीलाई आफूले व्यक्तिगत चुनौतीका रूपमा लिएको उल्लेख गर्दै उहाँले टोलीलाई निश्चित दृष्टिकोणमा अघि बढाएर उत्कृष्ट प्रदर्शन गराउनु नेतृत्व कौशल सिक्ने अवसरसमेत हुने बताउनुभयो।
नेपालमा पहिलोपटक सुरु हुन लागेको ‘कमेडी एक्ट’मा आधारित ‘सुपर कमेडी लिग’ले नेपाली हास्य क्षेत्रमा नयाँ प्रयोग र रचनात्मक अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।







एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,
विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति
विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण