काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सातवटै प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा मिलेर संयुक्त सरकार बनाउने प्रस्ताव पार्टीले अस्वीकार गरेको बताउनुभएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले प्रदेश सरकारको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै यस्तो बताउनुभएको हो।
उहाँका अनुसार तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्षबीच भएको समझदारीअनुसार निश्चित समयपछि कांग्रेस नेतृत्वमा रहेका प्रदेशमा एमाले र एमाले नेतृत्वमा रहेका प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो।
सोही समझदारी कार्यान्वयनका लागि एमालेसँग छलफल गरिए पनि सबै प्रदेशमा कांग्रेस, एमाले र नेकपा सम्मिलित संयुक्त सरकार बनाउने प्रस्ताव आएपछि कांग्रेसले अस्वीकार गरेको सभापति थापाले बताउनुभयो।
“हामी प्रदेशमा सरकारमा छौँ। केही ठाउँमा अहिले छैनौँ। हामी नेकपा (एमाले)सँग सातवटै प्रदेशमा एउटा सहमतिमा थियौँ,” उहाँले भन्नुभयो।
मधेस प्रदेशमा भने विशिष्ट अवस्था रहेको उल्लेख गर्दै उहाँले त्यहाँ कांग्रेस, एमाले र नेकपा सम्मिलित संयुक्त सरकार रहेको बताउनुभयो।
“आदरणीय नेता शेरबहादुर देउवा पार्टी सभापति हुँदै गर्दा उहाँ र नेकपा (एमाले)का अध्यक्षबीचमा हस्ताक्षर भएर सरकार बन्दै गर्दा निश्चित समयपछि कांग्रेस भएको ठाउँमा एमाले र एमाले भएको ठाउँमा कांग्रेसले नेतृत्व गर्ने भन्ने सहमति भएको रहेछ,” उहाँले भन्नुभयो।
उक्त समझदारीअनुसार अघि बढ्ने विषयमा छलफल भएको र त्यसको नेतृत्व पार्टीका उपसभापति विश्वप्रकाश शर्माले गर्नुभएको उहाँले जानकारी दिनुभयो।
तर, छलफलका क्रममा सबै प्रदेशमा कांग्रेस, एमाले र नेकपा मिलेर संयुक्त सरकार बनाउनुपर्ने प्रस्ताव आएको थापाले बताउनुभयो।
“हामीलाई के प्रस्ताव गरियो भने सबै प्रदेशमा कांग्रेस, एमाले र नेकपा मिलाएर संयुक्त सरकार बनाउनुपर्छ भन्ने प्रस्ताव रह्यो। त्यो प्रस्ताव हामीले मानेनौँ,” उहाँले भन्नुभयो।
सभापति थापाले प्रदेशमा प्रतिपक्ष नै नराखी तीन दल मिलेर सरकार बनाउनु पार्टी, संघीयता र लोकतन्त्रका लागि उपयुक्त नहुने स्पष्ट पार्नुभयो।
“प्रदेशमा अपोजिशन नै नराखी तीन पार्टी मिलेर सरकार बनाउने कुरा ठीक हुँदैन। यो पार्टी, संघीयता र लोकतन्त्रका लागि पनि ठीक छैन,” उहाँले भन्नुभयो।
उहाँले संघीय सरकार र प्रदेशमा प्रतिपक्षको भूमिकामा रहेका कांग्रेसले आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा समेत पार्टीभित्र थप छलफल आवश्यक रहेको बताउनुभयो।







अपहरणमा परेको १२ दिनपछि १५
विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय
मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा
एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,
विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति