काठमाडौं । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि पुरुषतर्फ परन्तप भण्डारी र महिलातर्फ लिजा श्रेष्ठले जित्नुभएको छ । शनिबार राति दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित समारोहमा भण्डारी र श्रेष्ठलाई प्रतियोगिताको शीर्ष विजेता घोषणा गरिएको हो । उपाधिसँगै दुवै विजेताले जनही नगद पाँच लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरेका छन् । साथै आगामी डिसेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एन्ड मिस्टर सेलिब्रेटी इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत उनीहरूले पाएका छन् ।
भण्डारीले ‘बेस्ट वाक’, ‘बेस्ट फिजिक्स’ र ‘बेस्ट फिगर’को उपाधिसमेत हात पार्नुभयो भने श्रेष्ठले ‘कमर्सियल मोडल’को उपाधि जित्नुभयो । प्रतियोगितामा पुरुषतर्फ अनुस्कृत न्यौपाने प्रथम रनरअप र सुशान्त प्रजापति द्वितीय रनरअप घोषित हुनुभयो । महिलातर्फ प्रियंका ओली प्रथम रनरअप र खुसी बोहरा द्वितीय रनरअप बन्नुभयो ।
प्रतियोगिताको फाइनलमा २६ महिला र १६ पुरुष गरी ४२ प्रतियोगी सहभागी थिए । विभिन्न विधातर्फ मनिष ओली र काया थापा ‘मस्ट पपुलर’, सुशील थापा मगर र काया थापा ‘मस्ट स्टाइलिस’, अनुष सक्सेना र उगेश्ना तिमल्सिना ‘बेस्ट पर्सनालिटी’ घोषित हुनुभयो ।
त्यस्तै, अस्निका ठकुरीले ‘बेस्ट वाक’, सुशान्त प्रजापति र प्रियंका ओलीले ‘पब्लिक च्वाइस’, सुशान्त प्रजापति र कृशला संगतले ‘मस्ट फोटोजेनिक’को उपाधि जित्नुभयो । सिम्रन कार्कीले ‘बेस्ट फिजिक्स’ र ‘बेस्ट फिगर’, अनुस्कृत न्यौपानेले ‘कमर्सियल मोडल’ तथा सृष्टि न्यौपानेले ‘बेस्ट कन्टेन्ट क्रिएटर’को उपाधि हात पार्नुभयो ।
‘मोडल हन्ट नेपाल’को यो १०औँ संस्करण हो । प्रतियोगिताका निर्णायकमा माल्भिका सुब्बा, प्रशान्त ताम्राकार, राजभाई सुवाल, हिमाञ्चल राज केसी, विनय जोशी, रमिला नेम्कुल र मनिष राई रहनुभएको थियो ।
आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेका अनुसार प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्यांग्वेज, फोटोसुट र एक्सप्रेसनलगायतका विषयमा ग्रुमिङ प्रशिक्षण दिइएको थियो । कोरियोग्राफर सबिता कार्की र मेन्टर अजय गुरुङ रहेको प्रतियोगितामा मनिष राई, कासा, मर्स्याङ्दी, सरिता अटायर र विमिन्स प्लानेटले फेसन डिजाइनमा सहकार्य गर्नुभएको थियो । र्याम्प शो तथा विभिन्न सांगीतिक प्रस्तुतिसहित सम्पन्न प्रतियोगितामा सहभागीहरूले आफ्नो प्रस्तुति दिएका थिए ।







गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो
सरकारको पूर्ण मूल्याङ्कन गर्ने बेला
सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप
सुनको मूल्य तोलामा चार हजार
‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर