काठमाडौं । चलचित्र ‘गौँथली’ले मनोरञ्जनसँगै बालविवाह न्यूनीकरण, छोरीको शिक्षा तथा फरक क्षमता भएका व्यक्तिप्रतिको सामाजिक दृष्टिकोण परिवर्तनका लागि दिएको सन्देश प्रभावकारी बन्दै गएको छ । स्थानीय तहले सञ्चालन गरिरहेका बालबालिकासम्बन्धी अभियान तथा जनचेतनामूलक कार्यक्रमलाई सहयोग पुग्नेगरी चलचित्र निर्माण भएको भन्दै गाउँपालिका राष्ट्रिय महासंघ नेपालले ‘गौँथली’को टिमलाई सम्मान गरेको छ ।
महासंघले चितवनमा आयोजित कार्यक्रममा चलचित्रका निर्देशक डा.कपिल रिजाल, अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्कालाई सम्मान गरेको हो । स्थानीय तहबाट सञ्चालन भइरहेका ‘बालविवाहमुक्त पालिका’ अभियान तथा फरक क्षमता भएका व्यक्तिको अधिकार र सम्मानका विषयमा भइरहेका जनचेतनामूलक गतिविधिमा चलचित्र ‘गौँथली’ले महत्त्वपूर्ण योगदान पुर्याउने महासंघको विश्वास छ ।
सम्मानपछि निर्देशक डा.कपिल रिजालले चलचित्रले उठाएका विषयलाई बुझेर त्यसको सामाजिक सन्देशलाई आत्मसात् गरेकोमा गाउँपालिका राष्ट्रिय महासंघप्रति आभार व्यक्त गर्नुभयो । उहाँका अनुसार ‘गौँथली’केवल मनोरञ्जनका लागि निर्माण गरिएको चलचित्र नभई सामाजिक सोच र व्यवहार परिवर्तनको उद्देश्यसहित तयार गरिएको चलचित्र हो ।
चलचित्रमा ‘ठूले’को भूमिका निर्वाह गर्नुभएका अभिनेता अरुण क्षेत्रीले आफूले निर्वाह गरेको पात्रले फरक क्षमता भएका व्यक्तिलाई प्रेरणा दिएको प्रतिक्रिया पाएको बताउनुभयो । उहाँका अनुसार ‘ठूले’को चरित्रले सामाजिक विभेद, पूर्वाग्रहभन्दा माथि उठेर निस्वार्थ सहयोग र मानवीयताको सन्देश दिन्छ । यही कारण उक्त पात्र दर्शकमाझ प्रभावकारी बनेको उहाँको भनाइ छ ।
‘ठूलेले धेरैलाई प्रेरणा दिएको खबर मैले पाएको छु । त्यो पात्रले चलचित्रमा निस्वार्थ रूपमा गरेका कार्यले सामान्य मान्छेलाई पनि एकपटक आफूलाई समीक्षा गर्न बाध्य बनाउँछ,’ क्षेत्रीले भन्नुभयो, ‘मैले कलाकारितामा निकै मिहिनेत र इन्जोय गरेको पात्र हो- ठूले ।’
चलचित्रमा शीर्ष भूमिका निर्वाह गरेकी अभिनेत्री सिम्रन खड्काले ‘गौँथली’मार्फत आफूले अवसरसँगै चुनौती पनि पाएको बताउनुभयो । छोरीले आफ्ना इच्छा र सपना त्याग्नुभन्दा त्यसका लागि संघर्ष गरेर सफलता हासिल गर्नुपर्ने सन्देश चलचित्रले दिएको उहाँको भनाइ छ ।
‘गौँथलीले छोरी मान्छेले आफ्नो इच्छालाई मार्न नभई संघर्ष गरेर त्यसमा सफलता प्राप्त गर्नुपर्छ भन्ने प्रेरणादायी सन्देश दिएको छ,’ खड्काले भन्नुभयो, ‘नेपालभरका दर्शक भेट्दा हामीले फिल्ममार्फत भन्न खोजेको भावनालाई उहाँहरूले बुझ्नुभएको पाएका छौं ।’
सामाजिक विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘गौँथली’ले बक्स अफिसमा समेत उल्लेखनीय सफलता हासिल गरिरहेको छ । साउन १ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्र प्रदर्शनको चौथो सातामा प्रवेश गर्दा पनि दर्शकको आकर्षणमा कमी आएको छैन । ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारको अभिनय छ । बालकलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गर्नुभएको छ ।
डा.भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा.कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गर्नुभएको छ । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल हुनुहुन्छ । निर्माताको रूपमा सुमन गिरी र डा.कपिल रिजाल हुनुहुन्छ भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सहनिर्माताको रूपमा रहनुभएको छ । चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन् ।





विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन