काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्वअडानबाट अन्ततः पछि हट्नुभएको छ । विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्वअडानबाट पछि हट्दै प्रधानमन्त्री शाहले आज (सोमबार) नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लाग्नुभएको हो । भारतीय राजदूत नवीन श्रीवास्तवलाई आज बिहान ११ बजे भेट्ने तय भएको छ । त्यस्तै, चिनियाँ राजदूत चाङ माओमिङसँग आजै अपराह्न ३ बजे भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । मंगलबार नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बमसँग भेटवार्ता गर्ने तय भएको छ ।
१३ चैतमा प्रधानमन्त्री बनेयता शाह र काठमाडौंस्थित राजदूतहरूबीच यो पहिलो व्यक्तिगत शिष्टाचार भेट हुनेछ । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री शाहले विदेशी कूटनीतिज्ञसँग एक्लाएक्लै भेट नगर्ने नीति लिनुभएको थियो । प्रधानमन्त्री शाहले सुरुमा राजदूतहरूसँग मात्र नभई भ्रमणमा आउने वरिष्ठ विदेशी अधिकारीहरूसँग पनि एक्लाएक्लै भेट नगर्ने अडान राख्नुभएको थियो । सोही क्रममा काठमाडौंस्थित अमेरिकी दूतावासले दक्षिण-मध्य एसियाली मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर र दक्षिण-मध्य एसियाका लागि राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरसँगको भेटघाटका लागि गरेको अनुरोध प्रधानमन्त्री शाहले अस्वीकार गर्नुभएको थियो । त्यस्तै, नेपाल भ्रमणमा आउनुभएकी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सलाई पनि प्रधानमन्त्री शाहले भेट दिनुभएन । प्रधानमन्त्री बालेनले भेट्न नमानेपछि भारतका विदेश सचिव विक्रम मिस्रीले आफ्नो नेपाल भ्रमण अन्तिम समयमा स्थगित गर्नुभएको थियो । चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेनलाई शुभकामना तथा बधाई दिन राजदूतहरूले समय माग पनि भेट्न अस्वीकार गर्नुभएको थियो ।
विगतमा मुलुकका राष्ट्र र सरकार प्रमुखले विदेशी कूटनीतिज्ञलाई सहजै भेट दिँदाको परिणाम राष्ट्रियता कमजोर बनेको प्रधानमन्त्री बालेनको तर्क थियो । यो विषयमा प्रधानमन्त्री हुनुअघि बालेनले विदेशी कूटनीतिकसँगको भेटवार्ता र ‘प्रोटोकल’ बारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको थियो । त्यसैअनुरूप प्रधानमन्त्रीमा नियुक्त भएको चार महिनासम्म ‘प्रोटोकल’लाई नीति बनाएर विदेशी राजदूतलाई भेट्न अस्वीकार गरे पनि बालेन अहिले पूर्ववत् अडानबाट पछि हट्नुभएको हो ।
यसअघि गत चैत १३ मा प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री शाहले राजदूत र कूटनीतिक नियोगमा प्रमुखसँग सामूहिक भेटवार्ता गर्नुभएको थियो । छुट्टाछुट्टै भेट्न गरेको आग्रहलाई अस्वीकार गर्नुभएका प्रधानमन्त्रीले चैत २५ गते एकैपटक सबै देशका राजदूतसँग सामूहिक भेटघाट गर्नुभएको हो । सोही क्रममा परराष्ट्र मन्त्रालयमार्फत नेपालको विदेश नीतिबारेमा पनि जानकारी गराउनुभएको थियो । सामूहिक भेटवार्तामा राजदूत तथा कूटनीतिक नियोगका प्रमुखले प्रधामन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए । सामूहिक भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्याण्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसंघका राजदूत तथा नियोग प्रमुखहरू उपस्थित थिए । त्यसपछि जेठ १२ गते प्रधानमन्त्री शाहले नेपालस्थित युरोपेली संघ (इयु) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेमटवार्ता गर्नुभएको थियो ।
विदेशी कूटनीतिज्ञसँग एक्लाएक्लै भेट नगर्ने नीति बनाए पनि प्रधानमन्त्री शाहले असार २३ मा एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष मासातो कान्दासँग एक्लाएक्लै भेटवार्ता गर्नुभएको थियो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री शाह र अध्यक्ष कान्दाबीच नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधार विकास गरी तीनवटा विषयमा केन्द्रित भएर छलफल भएको थियो । यो भेटलाई प्रधानमन्त्रीको सचिवालयले कूटनीतिकभन्दा पनि विकास साझेदारका प्रमुखसँगको भेटवार्ताको रूपमा अर्थ लगाएको थियो । त्यसपछि प्रधानमन्त्री शाहले पहिलोपटक भारतीय र चिनियाँ राजदूतलाई एक्लाएक्लै भेट्न लाग्नुभएको हो । शाहले दुई साताअघि नै भारत र चीनका राजदूतलाई भेट्ने योजना बनाए पनि सुनसरी र अन्य जिल्लामा भएका हिंसात्मक घटनाका कारण पछि धकेलिएको हो । भारत र चीनका राजदूतसँगको भेटघाटको कार्यसूची मुख्यतया परिचयात्मक हुने बताइएको छ । त्यसक्रममा राजदूतहरूले शाहलाई द्विपक्षीय सम्बन्धको अवस्थाबारे जानकारी गराउने र आफ्नो सरकारका तर्फबाट सन्देशहरू हस्तान्तरण गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री र राजदूतको बैठकमा परराष्ट्र मन्त्रालयका अधिकारीहरू, सम्बन्धित महाशाखा प्रमुख र प्रधानमन्त्री कार्यालयका अधिकारीहरू पनि सहभागी हुनसक्ने बताइएको छ ।
प्रधानमन्त्री बालेन्द्रका कारण नेपालको अन्तर्राष्ट्रिय सम्बन्धहरू धमिलो हुँदै गइरहेको टिप्पणी हुँदै आएको छ । त्यसलाई सम्हाल्न सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनाल आफैँ सक्रिय भएका थिए । यो बीचमा सभापति लामिछानेले भारतको पाँच दिने भ्रमण गरिसक्नु भएको छ । परराष्ट्रमन्त्री खनालले भारत र चीनको भ्रमण गरिसक्नु भएको छ । सभापति लामिछाने चीन भ्रमणमा जाने तयारीमा रहनुभएको छ । अमेरिकामा हुन गइरहेको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानुपर्नेमा प्रधानमन्त्री नजाने भएपछि परराष्ट्रमन्त्री खनाल आफैँ जाने तयारीमा रहनुभएको छ । प्रधानमन्त्री बालेन्द्रलाई भारतबाट भ्रमणका लागि निम्तो आएको छ । तर, हालसम्म प्रधानमन्त्रीले विदेश भ्रमणमा जाने मनस्थिति बनाउनुभएको छैन । आजदेखि सुरु हुने राजदूतहरूसँगको भेटघाटपछि प्रधानमन्त्रि शाह विदेश भ्रमण जाने वातावरण बन्ने अपेक्षा गरिएको छ ।
छिमेकी मुलुकका राजदूतहरूलाई एकैदिन भेट्ने निर्णयले नेपालका लागि दुवै मुलुकको समान महत्त्व रहेको सन्देश प्रधानमन्त्रीले दिन खोजेको दाबी गरिएको छ । समयतालिका भने पहिले भारत र त्यसपछि चीनसँग भन्ने सरकारको घोषित परराष्ट्र नीतिअनुरूप मिलाइएको छ । भोलिपल्ट (मंगलबार) कार्यवाहक अमेरिकी राजदूतलाई भेटर अमेरिका नेपालको अर्को महत्त्वपूर्ण मित्र भएको सन्देश दिन खोजेको हुनसक्ने कूटनीतिज्ञहरूले बताएका छन् । सरकारले सय दिन पूरा गरेपछि प्रधानमन्त्रीलाई सल्लाहकारहरूले उद्योगी–व्यवसायी, सञ्चारमाध्यमका प्रतिनिधिका साथै काठमाडौंस्थित राजदूतहरू लगायतलाई भेट्न सुझाव दिएका थिए । त्यसयता प्रधानमन्त्री शाहले व्यापारी, उद्योगी–व्यवसायीसँग लगातार छलफल गर्नुभएको छ । प्रधानमन्त्री शाहले केही दिन पहिले मधेसकेन्द्रित राजनीतिक दल र सांसदहरूसँग समेत छलफल गर्नुभएको थियो ।
सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप गर्छौं : सभापति लामिछाने
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने चेतावनी दिनुभएको छ । सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै सभापति लामिछानेले सरकार बाटोबाट विचलित भए राजनीतिक दलका तर्फबाट नियन्त्रण गर्ने र पुनः सही मार्गमा ल्याउने क्षमता आफूहरूसँग सुरक्षित रहेको दाबी गर्नुभएको हो । सरकार अहिले नै असफल भइनसकेको र त्यस्तो अवस्था आउन नदिनेमा आफूहरू सचेत रहेको उल्लेख गर्दै भन्नुभयो, ‘सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ । काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्टी हामीसँग छ । आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्छ ।’ सभापति लामिछानेले मुलुकको वर्तमान राजनीतिक परिस्थिति र सरकार सञ्चालनको प्रक्रियालाई हवाई उडानसँग तुलना गर्दै रोचक ढंगले प्रष्ट्याउनुभयो । उडानका क्रममा कहिलेकाहीँ मौसम खराब हुँदा वा अन्य प्राविधिक कारणले जहाज हल्लिने (टर्बुलेन्स) समस्या आए पनि त्यसले दुर्घटना नै निम्त्याउँछ भनेर डराउनु नपर्ने उहाँको भनाइ छ । उहाँले राजनीतिमा पनि यस्ता सानातिना अवरोध र समस्याहरू आइरहने तर त्यसले मुलुकलाई गन्तव्यमा पुग्नबाट रोक्न नसक्ने विश्वास व्यक्त गर्नुभयो ।
सरकार शासकीय अराजकतामा फस्यो, लेन मिच्ने छुट छैन : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले सरकारको ‘शासकीय अराजकता’बाट आक्रान्त भएको आरोप लगाउनुभएको छ । आइतबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारले विधिसम्मत प्रक्रिया र शक्ति पृथकीकरणको सिद्धान्तको सीमासमेत नाघ्न थालेको आरोप लगाउनुभयो । कार्यपालिकाले न्यायपालिकाको सीमासमेत आफूभित्र पर्नेगरी व्यवहार गर्न थालेको तथा संवैधानिक निकाय र संसद्लाई समेत नमान्ने प्रवृत्ति देखिएको भन्दै उहाँले यस्तो प्रवृत्तिलाई छुट दिन नहुने बताउनुभयो । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारलाई ‘एक्सप्रेस वे’मा गुडिरहेको गाडीसँग तुलना गरेको प्रसंग उल्लेख गर्दै थापाले सरकार तीव्र गतिमा अघि बढ्नसक्ने भए पनि ‘लेन मिच्न’ नपाउने बताउनुभयो । ‘प्रधानमन्त्रीजीले मेरो गाडी एक्सप्रेस वेमा हिँडेको हो भन्नुभयो । मेरो गाडीमा ब्रेक छैन भन्नुभयो । ब्रेक राख्नुस् नराख्नुस् तपाईंको छनोटको विषय हो । तर, स्पिडमा हिँड्ने हो र एक्सप्रेस वेमा जाने हो तर लेनभन्दा बाहिर जान्छु भन्ने तपाईंको छनोटको विषय होइन’, थापाले भन्नुभयो । सरकारले विधिसम्मत प्रक्रियाभन्दा बाहिर जान नपाउने र शक्ति पृथकीकरणको सिद्धान्तलाई तिलाञ्जलि दिन नसक्ने उहाँको भनाइ थियो । एउटै प्रकृतिका घटना पटक–पटक दोहोरिन थाले त्यसलाई संयोग नभई प्रवृत्तिका रूपमा बुझ्नुपर्ने भन्दै थापाले त्यस्तो प्रवृत्तिलाई माफी दिने छुट कांग्रेससँग नरहेको प्रष्ट पार्नुभयो ।
बाह्य शक्तिले खेलेको प्रति चिन्तित छौँ : ज्ञवाली
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले गम्भीर राजनीतिक अस्थिरताको समयबाट नेपाल पार भएको बताउनुभएको छ । क्युबामा सम्पन्न कम्युनिष्ट तथा मजदुर पार्टीहरूको २५औँ अन्तर्राष्ट्रिय बैठकलाई सम्बोधन गर्दै नेता ज्ञवालीले राजनीतिक अस्थिरताको समयबाट नेपाल पार भएको बताउनुभएको हो । देशभित्रको असन्तोषलाई उपयोग गरेर बाह्य शक्तिले खेलेको टिप्पणी गर्दै नेता ज्ञवालीले भन्नुभयो, ‘देशभित्रको असन्तोषलाई उपयोग गरेर बाह्य शक्तिहरूले राजनीतिक रूपमा अस्थिरता ल्याउन खोजेकोमा हामी धेरै चिन्तित छौँ ।’






प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि