काठमाडौं। सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनको सम्भावनाबारे अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले जुट मिलको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्ने जिम्मेवारीसहित कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वीरेन्द्रकुमार यादवका अनुसार बैठकमा विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्न निकायबाट तयार गरिएका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै पुनः सञ्चालनका लागि आवश्यक रणनीति तय गर्ने विषयमा छलफल भएको थियो ।
बैठकमा अर्थ सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलगायत सम्बन्धित मन्त्रालयका अधिकारी तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो । छलफलमा मिलको व्यवस्थापन, सञ्चालनको सम्भावना, विद्यमान समस्या तथा पुनः सञ्चालनका लागि अपनाउन सकिने विभिन्न विकल्पबारे विचारविमर्श गरिएको थियो ।
कार्यदलले जुट मिल पुनः सञ्चालनका लागि आवश्यक आर्थिक, प्राविधिक, कानुनीलगायत विषयको वस्तुगत अध्ययन गर्नेछ । कार्यदलको अध्ययन तथा सिफारिसका आधारमा सरकारले आवश्यक निर्णय लिनेछ । कार्यदलले एक महिनाभित्र प्रतिवेदन बुझाउनेछ ।
सहसचिवको संयोजकत्वमा कार्यदल
प्रधानमन्त्री कार्यालयका अनुसार कार्यदलको संयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिव रहनुहुनेछ । कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव सदस्य रहनुहुनेछ ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट दुई जना विज्ञ सदस्य मनोनित गरिनेछ । मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखाका उपसचिव सदस्य–सचिव रहने व्यवस्था गरिएको छ ।
कार्यदलले यसअघि विराटनगर जुट मिल पुनः सञ्चालनका सम्बन्धमा भएका निर्णय तथा विभिन्न निकायबाट गठन भएका कार्यदलले पेस गरेका प्रतिवेदन, सुझाव र सिफारिससमेत अध्ययन गर्नेछ ।
त्यसैगरी, मिल परिसरमा रहेका भवन, कारखाना, अन्य भौतिक संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्थाबारे समेत अध्ययन गरिनेछ ।
मिलको सम्पत्ति तथा दायित्वसम्बन्धी विषयको फरफारकका लागि आवश्यक कानुनी तथा व्यावहारिक सुझावसमेत कार्यदलले सरकारलाई दिनेछ । कार्यदलले आफ्नो प्रतिवेदन एक महिनाभित्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्नेछ ।






आन्दोलनका कारण योजनावद्ध काम गर्न
करिब ६४७ किलो गाँजासहित दुई
विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष
मेसीको दुई गोलमा इन्टर मियामीको
नेपालले एसियाडमा २२ खेलमा १३६
२०२७ एकदिवसीय विश्वकप छनोट