काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशल कुमार धोवीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार वडाध्यक्ष धोवी, वडा सचिव वीरबहादुर थापा मगर तथा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादीहरू विकास कुमार चापागाई र रविन्द्र लामिछानेविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
आयोगमा परेको उजुरीमाथि अनुसन्धान गर्दा उनीहरूले आपसी मिलेमतो र योजनामा गैरकानुनी लाभ लिने–दिलाउने उद्देश्यले सरकारी कागजात तथा अभिलेखमा हेरफेर गरेको पुष्टि भएको जनाएको छ ।
अनुसन्धानका क्रममा २०७९ साउन १० गते रविन्द्र लामिछाने र विकास कुमार चापागाईबीच भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१७ स्थित कित्ता नम्बर ९९८, क्षेत्रफल १६४.१४ वर्गमिटरको जग्गा खरिदका लागि ७० लाख रुपैयाँ लेनदेन भएको देखाउने झुट्टा तथा नक्कली करारनामा तयार गरिएको आयोगले जनाएको छ ।
उक्त करारनामा प्रमाणित गर्न नेपालगन्ज उपमहानगरपालिका–२० वडा कार्यालयको आर्थिक वर्ष २०७९/८० को लिखत प्रमाणित दर्ता किताबमा २०८३ सालमा सच्याउने, थपघट गर्ने र प्रमाणित गर्ने कार्य भएको आयोगको दाबी छ ।
त्यस क्रममा हाल प्रयोगमा रहेको वडा कार्यालयको सरकारी छापसमेत दुरुपयोग गरिएको आयोगले जनाएको छ । यस्तो कार्यबाट प्रतिवादीहरूले गैरकानुनी लाभ लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगको भनाइ छ ।
त्यस्तै, वडाध्यक्ष धोवी र वडा सचिव थापा मगरले आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी २०८३ असार २९ गतेको चलानी नम्बर ७२४० को विवरणसमेत फेरबदल गरेको आयोगले जनाएको छ ।
उनीहरूले चलानी नम्बर ७२४२ मार्फत झुट्टा विवरणसहितको गलत लिखत तयार गरी आयोगको अभिलेखमा रहने गरी पत्राचार गरेकोसमेत अनुसन्धानबाट पुष्टि भएको अख्तियारको दाबी छ ।
आयोगले प्रतिवादीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिमको कसुर भएको ठहर गर्दै सोही ऐनअनुसार सजायको मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा