काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको गोलीकाण्डमा गम्भीर घाइते भएका अमित यादवको बायाँ हात काट्नुपरेको छ ।काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत यादवको सोमबार शल्यक्रियाका क्रममा हात काटिएको अस्पताल प्रशासनले जनाएको छ । अमितलाई घटनाका क्रममा बायाँ हात र कोखामा गोली लागेको थियो । सुरुमा विराटनगरमा उपचार गराइएका उहाँलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
कप्तानगञ्जमा साउन १० गते राति भएको गोलीकाण्डमा घाइते भएका आठ जनाको उपचार अझै जारी छ । तीमध्ये दुई जनाको काठमाडौं र छ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचारकै क्रममा यसअघि एक घाइतेले गोली लागेको खुट्टा गुमाएका थिए भने अहिले अर्का घाइते अमितले हात गुमाउनुपरेको हो ।
यसअघि देवानगञ्ज-३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको गोली लागेको बायाँ खुट्टा काठमाडौंस्थित शिक्षण अस्पतालमा काटिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई विराटनगरस्थित विराट नर्सिङ होमबाट एयर एम्बुलेन्समार्फत काठमाडौं ल्याइएको थियो । गोली लाग्दा बायाँ तिघ्राको नसामा गम्भीर क्षति पुगेको चिकित्सकले बताएका थिए ।
विराटनगरस्थित न्युरो अस्पतालमा तीन जना घाइतेको उपचार भइरहेको छ । देवानगञ्ज-४ का १८ वर्षीय मिथिलेश मेहताको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो । शल्यक्रियामार्फत गोली निकालिएको थियो । अस्पतालका अनुसार उहाँको अवस्था मध्यम छ ।
सोही अस्पतालमा उपचाररत देवानगञ्ज-४ का २२ वर्षीय हरेराम यादवको दुवै तिघ्राको बीच भागमा गोली लागेको थियो । उहाँको शल्यक्रिया सम्पन्न भइसकेको र स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । देवानगञ्ज-३ का १८ वर्षीय अमलेश मेहताको बायाँ पिठ्युँमा गोली लागेको थियो । उहाँको पनि सफल शल्यक्रिया भएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
यस्तै, विराट नर्सिङ होममा तीन जना घाइतेको उपचार भइरहेको छ । देवानगञ्ज-३ का २५ वर्षीय सुनील मेहताको बायाँ घुँडामुनिको पछाडिको भागमा गोली लागेको थियो । उहाँको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । देवानगञ्ज-४ का १८ वर्षीय अमितकुमार यादवको कम्मरको अगाडिबाट गोली प्रवेश गरी पछाडिबाट निस्किएको थियो । शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ । देवानगञ्ज-४ कै २६ वर्षीय सुनील मेहताको बायाँ कुहिनामा गोली लागेको थियो । उहाँको पनि शल्यक्रिया सम्पन्न भइसकेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत अमित यादव । तस्वीर : सामाजिक सञ्जाल







सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :