काठमाडौं । यसवर्षको दोस्रो ब्लकबस्टर नेपाली फिल्म ‘गौँथली’ले प्रदर्शनको २४ दिनमै १९ करोड ७१ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको सिनेपा : बक्स अफिसको विवरणअनुसार फिल्मले आइतबार (२४ साउन)सम्म उक्त रकम संकलन गरेको हो । योसँगै ‘गौँथली’ नेपाली चलचित्रमध्ये सर्वाधिक कमाइ गर्ने सूचीमा चौथो स्थानमा पुगेको छ । अब चलचित्र १९ करोड ९२ लाख रुपैयाँ कमाइका साथ तेस्रो स्थानमा रहेको ‘१२ गाउँ’को रेकर्ड तोड्ने क्रममा छ ।
‘१२ गाउँ’पछि ‘गौँथली’को लक्ष्य ‘कबड्डी ४’को २१ करोड ४० लाख रुपैयाँको रेकर्डतर्फ हुनेछ । पछिल्लो व्यापारिक रफ्तारलाई आधार मान्दा ‘गौँथली’ नेपाली चलचित्रको इतिहासमै सर्वाधिक कमाइ गर्ने दोस्रो चलचित्र बन्ने सम्भावना बलियो देखिएको छ ।
साउन १ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले चौथो सातामा पनि आक्रामक व्यापारलाई निरन्तरता दिएको छ । गत शनिबारमात्रै चलचित्रले डेढ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको थियो भने आइतबारको व्यापार ४० लाख माथि रहेको बोर्डको तथ्यांक छ । पछिल्ला दिनमा पनि दर्शकको आकर्षण कायम रहनुले चलचित्रको व्यापारिक प्रदर्शन बलियो रहेको देखाएको छ । विशेषगरी महिला दर्शकको उपस्थिति हलमा उल्लेख्य रहेको बताइएको छ ।
बोर्डका अनुसार आइतबारसम्म ‘गौँथली’का सात लाख १५ हजार १९८ टिकट बिक्री भइसकेका छन् । २४ दिनमै यति ठूलो संख्यामा टिकट बिक्री गर्ने चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि ‘गौँथली’ पहिलो बनेको छ । अब यो चलचित्रले सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको कीर्तिमान बनाएको ‘पूर्णबहादुरको सारंगी’लाई समेत उछिन्ला कि नउछिन्ला भन्ने चासो बढेको छ । ‘पूर्णबहादुरको सारंगी’को कमाइलाई उछिन्न ‘गौँथली’ले अझै २७ करोड रुपैयाँभन्दा बढी कमाउनुपर्नेछ ।
डा.भोला रिजालका छोरा डा.कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ । शिक्षाको महत्त्वलाई मुख्य विषय बनाइएको यस चलचित्रले श्रीमान्–श्रीमतीको सम्बन्धसँग जोडिएको कथालाई प्रस्तुत गरेको छ ।







कांग्रेसभित्र बृहद् एकताका लागि राष्ट्रिय
विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,