काठमाडौं । सरकारले २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा प्रतिनिधिसँग छलफल गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले बहुराष्ट्रिय करदाता कम्पनीलाई नेपालमा लगानी बढाउन आग्रह गर्दै वैध लगानी, सम्पत्ति र नाफाको सुरक्षा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सोमबार आयोजित बैठकमा उहाँले निजी क्षेत्रलाई शंकाको दृष्टिले नभई राष्ट्र निर्माणको अभिन्न साझेदारका रूपमा हेर्ने भन्दै निजी क्षेत्रलाई विश्वास दिलाउन खोज्नुभएको थियो ।
नेपालको अर्थतन्त्र निर्माणमा निजी क्षेत्रले पुर्याएको योगदानको प्रशंसा गर्दै निजी क्षेत्रलाई देशको सबैभन्दा ठूलो करदाता, रोजगारदाता र लगानीकर्ता भएकाले सरकारले अबको प्राथमिकता केवल कर संकलनमा मात्र सीमित नभई उत्पादन र लगानीको वातावरण सुधार्नेमा केन्द्रित रहने मन्त्री वाग्लेको भनाइ थियो । उहाँले सरकारले यस वर्षको बजेटमार्फत् निजी क्षेत्रमैत्री सन्देश दिएको जिकिर गर्दै उहाँले उत्पादन, लगानी, नाफा र पुनः लगानीको चक्रलाई तीव्र बनाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा मन्त्री वाग्लेले व्यवसायीहरूलाई ढुक्क भएर लगानी विस्तार गर्न आग्रह गर्दै कानुनी स्थिरता, पूर्वानुमेय कर प्रणाली र प्रशासनिक सरलीकरणका लागि सरकार तयार रहेको बताउनुभयो ।
अर्थमन्त्री वाग्लेले भन्नुभयो, ‘जब उद्योगले नाफा कमाउँछ, तबमात्र पुनः लगानी सम्भव हुन्छ । पुनः लगानीले उत्पादन र रोजगारी बढाउँछ, जसले राज्यको राजस्वमा पनि योगदान पुर्याउँछ । सरकार र निजी क्षेत्रको सम्बन्ध एकअर्काको सफलतामा निर्भर रहेको छ ।’
बैठकमा उहाँले व्यवसायीहरूलाई ढुक्क भएर लगानी विस्तार गर्न आग्रह गर्दै कानुनी स्थिरता, पूर्वानुमेय कर प्रणाली र प्रशासनिक सरलीकरणका लागि सरकार तयार रहेको बताउनुभयो । उहाँले आगामी छ महिनाभित्र गर्नुपर्ने प्रमुख पाँच निर्णयबारे व्यवसायीसँग सुझाव माग गर्नुभयो । निजी क्षेत्रका समस्या तत्काल सम्बोधन गर्न अर्थ मन्त्रालयमा एउटा रेस्पोन्स डेस्क स्थापना गरिने र त्यसले उठाएका विषयहरूको समयबद्ध कार्यान्वयनको अनुगमन गर्ने जानकारी मन्त्री वाग्लेले गराउनुभयो । सरकारले इमानदारीपूर्वक कर तिर्ने व्यवसायीलाई केवल राजस्वको स्रोतका रूपमा मात्र नभई राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्ने नीति लिएको भन्दै उहाँले कर तिर्ने संस्कृतिलाई उच्च सामाजिक सम्मान दिलाउन सरकारले विशेष काम गरिरहेको बताउनुभयो । मन्त्री वाग्लेले सरकारले विशेषगरी कर प्रशासन, नियमन, जग्गा प्राप्ति, ऊर्जा, श्रम, पूर्वाधार, वित्त र निर्यातमा रहेका अड्चनहरू पहिचान गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।
बैठकमा उहाँले सहभागी व्यवसायीलाई लगानी विस्तार गर्न आह्वान गर्दै भन्नुभयो, ‘हामी यस्तो वातावरण निर्माण गर्न चाहन्छौं, जहाँ उद्योगी सफल हुँदा समाजले गर्व गरोस्, लगानीकर्ताले सुरक्षित महसुस गरोस्, करदाता सम्मानित होस् र युवा उद्यम गर्न प्रेरित होस् । यही विश्वासबाट हामी नेपाललाई लगानीमैत्री, व्यवसायमैत्री र उत्पादनमुखी अर्थतन्त्र बनाउने अभियानमा अघि बढेका छौँ । आउनुहोस्, सरकार र निजी क्षेत्रबीचको यो साझेदारीलाई अझ सुदृढ बनाऔँ । आगामी दशक नेपालमा ठूलो लगानी, ठूलो उत्पादन, ठूलो रोजगारी र ठूलो आत्मविश्वासको दशक बनाऔं ।’
उक्त बैठकमा नेपालमा व्यवसाय सञ्चालन गर्दै आएका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरू सूर्य नेपाल, एनसेल आजियाटा, आरती स्ट्राइप्स, गोर्खा ब्रुअरी, हिमालय एअरलाइन्स, होङ्सी शिवम् सिमेन्ट, डुसान इनरबिलिटी कम्पनी, डाबर नेपाल, बोटलर्स नेपाल (तराई), युनिलिभर नेपाल, एसियन पेन्ट्स (नेपाल), पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना, गोर्खा लाहारी, ह्वासिन सिमेन्ट नारायणी, न्यू होप एग्रो बिजनेस नेपाल, नेपाल वेलहोप एग्रि-टेक, वरुण वेभरेज नेपाल, टर्किस एयरलाइन्स, भोटेकोशी पावर कम्पनी र बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) का प्रतिनिधि सहभागी थिए । उल्लेखित कम्पनीहरू उत्पादन, दूरसञ्चार, पेय पदार्थ, सिमेन्ट, ऊर्जा, हवाई सेवा, निर्माण, कृषि, उपभोग्य वस्तुलगायतका क्षेत्रमा संलग्न रहेका छन् ।







प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै