आत्मदाह भन्नाले आफूले आफैंलाई जलाउने वा आफ्नै आत्मलाई पोल्ने कार्य भन्ने बुझिन्छ । प्राण उत्सर्ग गर्ने उद्देश्यले कसैले यस्तो कार्य गर्नसक्छ । यो आत्महत्याकै एउटा तरिका हो । अधिकांश आत्मदाहको घटना व्यक्ति आफैंबाट हुने गर्दछ भने केही विरलै घटना अन्य व्यक्तिकै कर्तव्यबाटै हुनसक्छ । यो आत्महत्याको सबैभन्दा सकसपूर्ण कार्य हो । गत असार २५ गते बिहीबार मुगु घर भई काठमाडौं बस्दै आएका २५ वर्षीय गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागको गेटनजिकै सडक किनारमै पेट्रोल छर्केर आफ्नै शरीर जलाए । उपचारको क्रममा भोलिपल्टै वीर हस्पिटलमा उनको मृत्यु भएको विदितै छ । गणेश नेपालीको मृत्यु भएकै दिन वा असार २६ गते शुक्रबारै सर्लाहीको गोडैता नगरपालिका-१० का ३५ वर्षीय विवेक मण्डलले पनि शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका थिए तर उनलाई सोही दिन हेलिकप्टरद्वार उपचारार्थ काठमाडौं ल्याइयो । अधिकांश शरीरको भाग जलेका मण्डलको उपचारकै क्रममा असार ३० गते मृत्युभयो ।
व्यावहारिक जीवनमा आइलाग्ने चुनौती सामना गर्नसक्ने सामर्थ्य नभएका कारण नैराश्य बढ्दै गए अन्ततः आफ्नै जीवनलाई बोझ ठान्न पुग्छ । यसरी एकोहोरिइसकेको व्यक्तिलाई सान्त्वना दिने, ढाडस दिने र प्रोत्साहित गर्ने कोही नभए बाँच्नुभन्दा मर्नु निको भन्ने अवस्थामा पुग्छ । घरपरिवारका सदस्य चलाख छन् भने व्यक्ति एकोहोरिएको अवस्थामा पुगेको उसको हर्कतबाटै थाहा पाउन सक्छन् ।
यसैगरी असार २७ गते शनिबारकै दिन, काठमाडौंको बुद्धनगर निवासी ५२ वर्षीय आश्विन राउतले पनि घरकै भान्सा कोठामा पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरे । ती तीन घटना चालु आर्थिक वर्षमा भएको ११ आत्मदाह प्रयासमध्येकै तीनवटा हुन् । यस वर्षभित्र घटेका ती घटनामध्येमा नौजनाको ज्यान गएको छ । आत्महत्याका यी घटना दुःखद् छन् । जीवनका चुनौतीहरूको सामना गर्न मानिसलाई बलियो बनाउने भन्नेतर्फ कार्य गर्न जरुरी छ । हामीले आफ्नो जीवन त चुनौतीको सामना गर्नकै लागि हो भन्ने ठान्नुपर्दछ । चुनौतीबाट पन्छनु हुँदैन ।
आत्मदाह आफैंमा अपराधिक कार्य हो । सम्बन्धित व्यक्तिकै मृत्यु हुने भएकाले यो झट्ट हेर्दा कसुरविहीन अपराध जस्तो देखिन्छ । मृतकलाई आत्मदाह गर्नेसम्मको अवस्थामा पुर्याउने वा त्यस्तो कार्य गराउन अभिप्रेरित गराउने अन्य कोही भए त्यस्तो व्यक्ति यो घटनामा दोषी ठहरिन्छ । अधिकांश व्यक्ति आफ्नै चारित्रिक एवं व्यावहारिक कारणबाट, पारिवारिक समस्या, पेशा व्यवसायमा आइलाग्ने बाधा अवरोधबाट, कामकार्यमा हुने असफलता, पेशारहित बन्नुपरेको अवस्था, शारीरिक अशक्तताकै कारण, प्रेम वियोग तथा मानसिक सन्तुलन गुमाएकै कारणबाट आत्मदाह गर्ने अवस्थामा पुग्छन् ।
समष्टिगत रूपमा भन्नुपर्दा व्यावहारिक जीवनमा आइलाग्ने चुनौतीहरू सामना गर्नसक्ने सामर्थ्य नभएका कारण नैराश्य बढ्दै गए अन्ततः आफ्नै जीवनलाई बोझ ठान्न पुग्छ । यसरी एकोहोरिइसकेको व्यक्तिलाई सान्त्वना दिने, ढाडस दिने र प्रोत्साहित गर्ने कोही नभए व्यक्ति बाँच्नुभन्दा मर्नु निको भन्ने अवस्थामा पुग्छ । घरपरिवारका सदस्य चलाख छन् भने एकोहोरिएको अवस्थामा पुगेको उसको हर्कतबाटै थाहा पाउन सक्छन् । अन्यथा एकोहोरिइसकेको व्यक्तिले आत्महत्याको सहज बाटो अपनाउने क्रममा आत्मदाहलाई रोज्न पुग्छ । यो विक्षिप्त मानसिकताकै उपज हो ।
कतिपय व्यक्तिले आत्मदाह गर्नुअघि आफू के कारणले त्यो अवस्थामा पुगेको भन्ने खुलाई सुसाइड नोट छोडेका हुन्छ । कतिले प्रविधिको माध्यमबाटै नैराश्यता व्यक्त गर्दछन् । कतिले घनिष्ट मित्रसँगै तनावको कुरा व्यक्त गर्दछन् । २०७९ साल माघ १० गते बानेश्वरस्थित संसद् भवनअगाडि आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले आफूले व्यावसायिक असफलताले आत्मदाह गर्नुपरेको भनी सुसाइडनोट छोडेका थिए ।
आत्मदाहको अधिकांश घटनामा मुख्य कसुरदार त मृतक आफैं हुनसक्ने भएकाले यस अपराधमा कर्तव्यबाट भएकोबाहेक अरूमा कसुरदार भनेकै दुरुत्साहनकर्ता नै हुन् । दुरुत्साहन शब्दको शाब्दिक अर्थ अनुचित वा खराब गतिविधिमा उक्साउने वा अभिप्रेरित गराउने कार्य भन्ने बुझिन्छ । अपराधिक कार्यसँग जोडेर हेर्दा आत्मदाह दुरुत्साहन भन्नाले व्यक्तिलाई आत्मदाह गर्न अग्रसर गराउने कार्य मानिन्छ । यस्तो कार्यमा अभिप्रेरित गर्ने निकटतम सहयोगी, विश्वास प्राप्त व्यक्ति, व्यावसायिक साझेदार, विभिन्न वित्तीय निकाय एवं संघसंस्थाका पदाधिकारी, राज्य संयन्त्रकै पदाधिकारीमात्र होइन परिवारकै सदस्य हुनसक्छन् । दुरुत्साहनकर्तालाई दण्ड सजाय हुनसक्छ ।
दुरुत्साहन शब्द कुनै एक विषयवस्तुसँग मात्रै सम्बन्धित हुँदैन । मानिसले जीवनयापन गर्ने क्रममा समाजको जुनसुकै क्षेत्रमा राख्ने सम्बन्ध, सम्पर्क सहकार्य र साथसहयोगसँग सम्बद्ध व्यक्तिमध्येकै कोही दुरुत्साहनकर्ता हुनसक्छन् । मृतक गणेश नेपालीकै सन्दर्भ हो महानगरीय प्रहरीले मोटरसाइलको चक्कामा लक लगाएको कार्य । समस्या माथि समस्या खडा गर्ने महानगरीय नियम र त्यसलाई व्यवहारमा उतार्न आदेश दिने पदाधिकारी आदेश कार्यान्वयन गर्ने व्यक्तिभन्दा बढी दोषी हुन्छन् भन्ने कुरा हामीले बुझ्नुपर्दछ । दुरुत्साहनकर्ताको जड त्यस्तैमा सम्बन्धित हुन्छ । यी सबै विषय आत्मदाह गर्न अभिप्रेरित गर्ने वातावरणीय पृष्टभूमिभित्रै समेटिएका हुन्छन् ।
गणेशका आफन्तले प्रशासनसँग प्रारम्भमै गणेशलाई शहीद घोषणा गर्नुपर्ने, दोषीलाई कारबाही, पर्याप्त राहत वा क्षतिपूर्ति र परिवारलाई रोजगारीको माग राखेका थिए । शहीद घोषणाबाहेकका माग महानगरले पूरा गरेको छ । दोषीउपर कारबाही हुनुपर्ने माग सडकदेखि सदनसम्मै छ । यही क्रममा घटना छानबिनको निम्ति टोली गठन भई कार्य नै प्रारम्भ भइसकेकै अवस्था छ तर यस क्रममा गृहमन्त्री सुदन गुरुङले संसद्मा व्यक्त गरेको विचार भने आश्चर्य लाग्दो छ । सो बारेमा टीकाटिप्पणी त भइसकेकै छन् । तथापि मन्त्री गुरुङको त्यो अभिव्यक्तिकै यो अंशलाई भने सबैले अनौठो ठानेका छन् ।
मन्त्री गुरुङद्वारा व्यक्त विचारको मुख्य आशय ‘गणेश नेपालीको मोटरसाइलमा ट्राफिक प्रहरीले नभई महानगरीय प्रहरीले लक लगाएको, महानगीय प्रहरी पनि स्थानीय सरकारकै भएको । स्थानीय सरकार पनि सांसद सदस्यहरूकै भएको’ भन्ने अंश भने अत्यन्त मार्मिक र संवेदनशील छ । मन्त्रीको यस विचारले स्थानीय सरकार प्रतिपक्षको भएको र त्यो सरकार संघीय सरकारअन्तर्गतको नभएको स्पष्ट गर्दछ । गृहमन्त्री गुरुङद्वारा व्यक्त यी विचार अपरिपक्वपनको प्रतिबिम्बको हो । संघीय लोकतान्त्रिक राज्यको केन्द्रीय सरकार मातहतै अन्य प्रदेश र स्थानीय सरकार रहेका हुन्छन् । उनीहरूले गरेको राम्रो कामको जस लिने र नराम्रो कामको अपजस व्यहोर्ने दायित्व संघीय सरकारकै हो । प्रतिपक्षलाई दोष दिएर मन्त्री गुरुङ उम्कन मिल्दैन ।
यत्रतत्र चौतर्फी रूपमै समस्याको भुमरीमा रुमलिएको व्यक्तिको मानसिक सन्तुलन नै विक्षिप्त भइसकेको हुन्छ । गणेश नेपालीको निम्ति महानगरीय प्रहरीले लगाएको मोटरसाइकलमा लक यही बिन्दुको हो । जसले उनको मस्तिष्कमा एकत्रित नकारात्मक भावनालाई सल्काउने सलाईकै काँटीको कार्य गर्यो । यसपछि त गणेश नेपालीले संयमता पूर्णरूपमा गुमाए । आत्मदाह नै सर्वोत्तम उपाय ठाने तर त्यसको पृष्टभूमि बनेको सामाजिक वातावरणलाई हेर्ने हो भने गणेश नेपालीले किस्तामा मोटरसाइकल लिएको, किस्ता तिर्न परेको कठिनाइ, घरपरिवारको पालनपोषण, बालबालिकाको पठनपाठन, औषधोपचार, राइडरले भोग्नुपरेको वातावरणीय समस्या, सीमित आम्दानीमा सबै कुरा धान्नुपर्ने अवस्थासम्मका कुरा आत्मदाह पृष्ठभूमि वातावरणीय कारण नै हुन् ।
यत्रतत्र चौतर्फी समस्याको भुमरीमा रूमलिएको व्यक्तिको मानसिक सन्तुलन नै विक्षिप्त भइसकेको हुन्छ । त्यस अवस्थामा उसको हितविपरीत हुने सानो कार्य नै उसको निम्ति पहाड जत्रै बन्नसक्छ । गणेश नेपालीको निम्ति महानगरीय प्रहरीले लगाएको मोटरसाइकलमा लक यही बिन्दुको हो । जसले उनको मस्तिष्कमा एकत्रित नकारात्मक भावनालाई सल्काउने सलाईकै काँटीको कार्य गर्यो ।
आत्मदाहको पृष्ठभूमि सबैको समान हुँदैन । यो व्यक्तिको पेशा र जीवनयापनसँग सरोकार राख्ने विषयवस्तु सम्बद्ध हुन्छ । दृष्टान्तको निम्ति कुनै युवायुवतीबीचको प्रेम सम्बन्धमा उत्पन्न हुने खटपट र तनावकै कारण कुनै एक पक्षले आत्मदाह गर्यो भने अर्को पक्षलाई दुरुत्साहनको अभियोग लाग्नसक्छ । त्यस अवस्थामा दुरुत्साहन पुष्टि पनि हुनसक्छ तर प्रेममा जोडिएकै दुवै युवायुवतीले नै आत्मदाह गरेको अवस्थामा भने त्यो अवस्थाको दुरुत्साहनकर्ता परिवारकै सदस्य निकटतम साथीसँगी र उनीहरूको अपसी प्रेमबाट इर्ष्यालु बनेको तेस्रो पक्षसम्म अनुसन्धान मोडिनसक्छ । दुवैतर्फका परिवारकै सदस्यको इन्कारी, जातीय विभेदकै कुरा तथा तेस्रो पक्षकै स्वार्थको बाधक उनीहरूको आपसी सम्बन्ध बन्न पुगेको अवस्थामा कुन पक्षको भूमिका दुरुत्साहनकर्ताको रूपमा बढी गहन देखिन्छ ? उसैउपर कारबाही हुने अवस्था आउँनसक्छ ।
आत्मदाहको दुरुत्साहनको कारकतत्व हालै सिर्जित होइन । समाजमा दशकौं पहिलेबाटै उत्पन्न भई राजनीतिक स्वार्थले मलजल गर्दै ल्याएको विकृति हो । माथि उल्लेखित आत्मदाह गर्ने गणेश नेपाली र आश्विन राउत तथा प्रयास गर्ने विवेक मण्डलकै मानसिकता र वातावरणीय पृष्टभूमिलाई विविध कोणबाट विश्लेषण गरौं ।
अधिकांश आत्मदाहका घटनामा मनोवैज्ञानिक पक्षभन्दा वातावरणीय पृष्टभूमि बढी जिम्मेवार देखिन्छ । त्यसमध्ये पनि राज्यकै अनुदार राजनीतिक, प्रशासनिक, सामाजिक, आर्थिक एवं न्यायिक नीति सम्बद्ध विविध पक्ष प्रमुख कारकतत्व बनेको छ । राज्यका यिनै आधारभूत नीति जनहितकर नभई स्वार्थ केन्द्रित हुँदा हाम्रो सामाजिक वातावरण नै समस्याग्रस्त बन्दै आयो । मुलुकमा सरकार भएको व्यावहारिक अनुभूति नै जनताले गर्न पाएनन् । यदि सरकार भएको अनुभूति हुन्थ्यो भने महँगी, भ्रष्टाचार, असुरक्षा र बेरोजगारी बढ्ने थिएन । राज्य प्रशासन जनउत्तरदायि हुन्थ्यो । राजनीतिक व्यक्तिले राजनीतिलाई आर्जनको पेशा होइन निःस्वार्थ सेवा ठान्थे ।
विपन्न र बेरोजगारीबाट जनताले मुक्ति पाउँथे । कसैले तनाव र चिन्तामा डुब्नु पर्दैनथ्यो । तस्कर र अपराधीको बिगबिगी हुँदैनथ्यो । शान्ति सुरक्षा प्रभावकारी हुन्थ्यो । यी त सत्ता सञ्चालकले गर्नैपर्ने आधारभूत कार्य नै हुन् । कुनै नौला कुरै होइनन् । तर विगतका सत्ता सञ्चालकहरू अधिकांश त आपसी मिलेमतोमै प्रतिस्पर्धात्मक रूपमै राजनीतिक अपराधमा सरिक भए । जनताको नामबाट ब्रह्मलुटै मच्चाए । जनजीवकाको सवाललाई ध्यानै दिएनन् । यसैको परिणाम समाज समस्याग्रस्त बन्दै आयो ।
यही पृष्टभूमिमा गणेश नेपाली, विवेक मण्डल र आश्विन राउत आत्मदाह गर्न अग्रसर भए । यसैले आत्मदाहमात्र होइन सबै प्रकारका आत्महत्यादेखिका आपराधिक कार्य नियन्त्रण गर्ने हो भने व्यक्तिभन्दा पहिलो राज्य नै जनउत्तरदायि बन्नुपर्दछ । वर्तमान सरकारले यसतर्फ विशेष ध्यान पुर्याओस् ।






प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि