काठमाडौं । जापानी इन्सेफ्लाइटिस (जेई) भाइरसको संक्रमणबाट पछिल्लो ५५ दिनमा नौ जनाको मृत्यु भएको छ । कुल ४६ जना जापानी इन्सेफ्लाइटिसबाट प्रभावित भएकामा नौ जनाको मृत्यु भएको र ३७ जना अस्पतालमा भर्ना भएका छन् । मृत्यु हुनेमा कोशी प्रदेशका ६, मधेस प्रदेशका दुई र लुम्बिनी प्रदेशका एकजना छन् ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले असार र साउनको तथ्यांक विश्लेषण गर्दा नौ जनाको मृत्यु भएको बताउनुभयो ।
उपलब्ध तथ्यांकअनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै ६ जनाको मृत्यु भएको छ । जसमा झापामा तीनजना तथा इलाम, मोरङ र सुनसरीमा एक-एक जनाको मृत्यु भएको छ । त्यसैगरी, मधेस प्रदेशका धनुषा र रौतहटमा एक–एकजना गरी दुई जनाको मृत्यु भएको छ । यस्तै बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट र सप्तरी गरी ११ जना बिरामी परेका छन् । यसैगरी, दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु भएका र संक्रमितमध्ये अधिकांश खोप नलगाएका हुन् ।
संक्रमण फैलिने क्रम बढ्दै
पछिल्ला केही वर्षयता नेपालमा जेई संक्रमण फैलिने क्रम बढ्दै गएको छ । गत वर्ष जेई संक्रमणबाट ४१ जनाको मृत्यु भएको थियो भने १४१ जना संक्रमित भएका थिए । संक्रमण ४५ भन्दा बढी जिल्लाका ११७ भन्दा बढी स्थानीय तहमा फैलिएको थियो । सो वर्ष संक्रमणबाट हुने मृत्युदर करिब २३ प्रतिशत थियो । यस्तै, २०८१ मा काठमाडौं उपत्यकाका एक जनासहित २३ जनाको जेई संक्रमणबाट मृत्यु भएको थियो भने कम्तीमा ८० जना संक्रमित भएका थिए । स्वास्थ्य अधिकारीहरूका अनुसार यस वर्ष पनि संक्रमितमध्ये करिब २० प्रतिशतको मृत्यु भएको छ ।
नेपालमा किटजन्य रोगमध्ये जेईलाई उच्च मृत्यु गराउने रोगका रूपमा लिइन्छ । जापानी इन्सेफ्लाइटिस एसिया तथा पश्चिमी प्रशान्त क्षेत्रका केही भागमा स्थानीय रूपमा पाइने भाइरल मस्तिष्क संक्रमण हो । जेई भाइरस संक्रमित क्युलेक्स जातका लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । यो फ्लाभिभाइरस समूहमा पर्ने रोग हो । डेंगी, जिका, पहेँलो ज्वरो र वेस्ट नाइल भाइरस पनि यही समूहमा पर्छन् । जेई भाइरसको मुख्य स्रोतको रूपमा सुँगुर र हाँसलाई मानिन्छ । सुँगुर पाल्ने तथा धानखेत आसपास बसोबास गर्ने मानिस संक्रमणको बढी जोखिममा हुन्छन् ।
यस संक्रमणबाट बाँच्न या संक्रमण हुन नदिन खोपलाई नै प्रभावकारी उपाय मानिन्छ । विज्ञहरूका अनुसार जेई संक्रमणबाट गम्भीर बिरामी हुने तथा मृत्यु हुने जोखिम कम गर्न खोप प्रभावकारी उपाय हो । गत वर्षको तथ्यांकले पनि जेई संक्रमणबाट मृत्यु भएका वा गम्भीर असर भोगेका अधिकांश व्यक्ति खोप नलगाएको समूहका रहेको देखाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार जेई संक्रमणका कारण गम्भीर बिरामी भएका करिब एकतिहाइको मृत्यु हुनसक्छ । संक्रमणबाट बाँच्नेहरूमध्ये करिब आधामा दीर्घकालीन रूपमा गम्भीर स्नायुजन्य समस्या वा अपांगता हुनसक्ने जोखिम हुन्छ ।
११ जिल्लामा खोप अभियान सञ्चालन
सरकारले यस वर्ष जेईको उच्च जोखिम रहेका ११ जिल्लामा खोप अभियान सञ्चालन गर्न ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । खोप अभियानका लागि चितवन, कैलाली, तनहुँ, दाङ, झापा, कपिलवस्तु, मोरङ, रुपन्देही, सुनसरी, रौतहट र सर्लाही छनोट गरिएका छन् । यी जिल्लामा जेईका कारण बिरामी हुने तथा मृत्यु हुने दर तुलनात्मक रूपमा बढी देखिएको छ । तर खोप खरिद तथा आपूर्ति प्रक्रियामा समय लाग्ने भएकाले अभियान आगामी वैशाखअघि सुरु नहुने स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
जेईविरुद्धको खोप औषधि पसलबाट समेत खरिद गर्न सकिने तर, खोप महँगो पर्ने भएकाले जोखिममा रहेका धेरै नागरिकले आफ्नै खर्चमा खोप लगाउन सक्ने अवस्था नरहेको विज्ञहरू बताउँछन् । सरकारी स्वास्थ्य संस्थामार्फत बालबालिकालाई जेईविरुद्धको खोप निःशुल्क दिने गरिएको छ । तर, खोपको पहुँच नपुगेका तथा खोप नलगाएका जनसंख्यामा संक्रमणको जोखिम अझै कायम रहेकाले उच्च जोखिम भएका क्षेत्रमा खोप अभियान विस्तार गर्नुपर्ने विज्ञहरूले भनाइ छ ।







राजधानीमा विविध कार्यक्रमसहित मनाइयो ३२
सुशासनका लागि राजनीतिक नेतृत्वमा अनुशासन
सिंहदरबारको नाम फेर्न सांसद ढकालको
उच्च आर्थिक वृद्धिको लागि नीतिगत
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु,
भदौदेखि रास्वपाको ‘नागरिक, नीति र