मुगु । छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले आफ्नो पाँचवर्षे कार्यकालमा राज्यबाट प्राप्त हुने सेवा–सुविधाबापतको रकम व्यक्तिगत प्रयोजनमा खर्च नगरी समाजसेवामा लगाउने योजना सार्वजनिक गर्नुभएको छ।
सोमबार नगरप्रमुखको कार्यकक्षमा आयोजित पत्रकार भेटघाटमा उहाँले पाँचवर्षे कार्यकालमा प्राप्त हुने पारिश्रमिक, दसैँ सुविधा तथा तालिम, सेमिनार, गोष्ठी र बैठकबाट प्राप्त हुने अनुमानित भत्तासहित करिब रु २८ लाख १४ हजार समाजसेवामा खर्च गर्ने योजना सार्वजनिक गर्नुभएको हो।
नगरप्रमुख भामका अनुसार ५९ महिनाको पारिश्रमिकबापत प्रतिमहिना रु ३८ हजारका दरले रु २२ लाख ४२ हजार, दसैँ सुविधाबापत रु एक लाख ९० हजार तथा तालिम, सेमिनार, गोष्ठी र बैठकबाट प्राप्त हुने अनुमानित भत्ताबापत रु तीन लाख ८२ हजार गरी उक्त रकम समाजसेवामा खर्च गरिनेछ।
उहाँले छायानाथ रारा नगरपालिका तथा मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न क्षेत्रमा उक्त रकम खर्च गर्ने योजना बनाउनुभएको छ।
योजनाअनुसार शैक्षिक सामग्री वितरणमा रु आठ लाख, दलित तथा विपन्न वर्गका बालबालिकालाई न्यानो कपडा वितरणमा रु चार लाख ६० हजार, विपद् प्रभावितलाई राहतमा रु चार लाख, पाटी–पौवा, खानेपानी तथा धारा निर्माण र मर्मतमा रु चार लाख, बालविकास कक्षाका बालबालिकालाई खेलौना सहयोगमा रु दुई लाख, सरसफाइ सामग्री वितरणमा रु दुई लाख तथा बिरामी भेटघाट, फलफूल वितरण र अन्य सहयोगमा रु तीन लाख खर्च गरिनेछ।
नगरप्रमुख भामले नगरपालिकाबाट प्राप्त हुने भान्से, क्वार्टर र सञ्चार सुविधासमेत आफूले नलिएको बताउनुभयो। उहाँका अनुसार गमगढी बजार र नेपालगन्जमा रहेका दुई पुर्ख्यौली घरबाट प्राप्त हुने घरभाडा तथा श्रीमतीले गर्दै आएको खेतीपाती र तरकारी खेतीबाट प्राप्त आम्दानीबाट परिवारको शिक्षा, घरखर्च र व्यक्तिगत खर्च व्यवस्थापन हुँदै आएको छ।
भामले नगरप्रमुख निर्वाचित हुनुअघि नै आफूले राज्यबाट प्राप्त हुने सेवा–सुविधा व्यक्तिगत लाभमा प्रयोग नगरी समाजसेवामा लगाउने प्रतिबद्धता जनाउनुभएको थियो। उहाँले २०७४ सालको स्थानीय तह निर्वाचनमा छायानाथ रारा नगरपालिका–४ को वडाध्यक्ष निर्वाचित हुँदा प्राप्त सेवा–सुविधासमेत समाजसेवामै खर्च गरेको बताउनुभयो।
उहाँले राजनीतिलाई सेवाको माध्यमका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्दै भन्नुभयो, “राजनीति व्यवसाय होइन, सेवा हो। जनताको स्रोत व्यक्तिगत सम्पत्ति होइन, सार्वजनिक सम्पत्ति हो। जनप्रतिनिधिको पद सुविधा भोग्नका लागि होइन, जिम्मेवारी पूरा गर्नका लागि हो।”
नगरप्रमुख भाम नेपाली कांग्रेसबाट निर्वाचित हुनुहुन्छ।






ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि
कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः