काठमाडौँ । सौरमासअनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजाआराधना गर्दै व्रत बसेका भक्तजनले आज गोदान र पूर्णपात्र गरी साउने सोमबारको व्रत समापन गरेका छन्।
साउनको अन्तिम सोमबारका अवसरमा भक्तजनले शिवको विशेष पूजाआराधना गर्दै व्रत समापन गरेका हुन्। पाँचवटै सोमबार व्रत गरेका भक्तजनले व्रतको समापनका लागि गोदान तथा पूर्णपात्र गर्ने परम्परा रहिआएको छ।
आज बिहानैदेखि पशुपतिनाथ मन्दिरको मूल मन्दिर बाहिरी क्षेत्रमा गोदान र पूर्णपात्र गर्न बसेका ब्राह्मण–पुरोहित तथा व्रतालु भक्तजनको घुइँचो लागेको थियो।
विशेषगरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले साउन महिनाका सोमबार नियमित व्रत बस्ने गर्छन्। धर्मग्रन्थमा साउनलाई शिवजीको महिना र सोमबारलाई शिवजीको बारका रूपमा उल्लेख गरिएको पाइन्छ। साउनको सोमबार शिवलिङ्गमा जलधारा मात्र अर्पण गरे पनि भगवान् शिव प्रसन्न भई मनोकामना पूरा हुने तथा पारिवारिक सुख, शान्ति प्राप्त हुने धार्मिक विश्वास छ।
धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बार मानी यस दिन विशेष आराधना गर्ने परम्परा रहेको छ। उहाँका अनुसार कुनै कुलविशेषले चान्द्रमासअनुसारको श्रावण महिनामा साउने सोमबारको व्रत गरे पनि कर्कट राशिमा सूर्य रहेका सोमबार विशेष रूपमा शिवजीको आराधना गर्ने शास्त्रीय विधि छ।
यस वर्ष साउन ४, ११, १८ र २५ गते गरी चार वटा सोमबार परेका छन्। आज अन्तिम सोमबार भएकाले भक्तजनले विशेष पूजाआराधना तथा गोदान–पूर्णपात्र गरी व्रत विधिपूर्वक समापन गरेका हुन्। नयाँ व्रत सुरु गर्न पाँच वटा सोमबार परेको वर्ष नै कुर्नुपर्ने लोकमान्यता रहे पनि चार वटा सोमबार परेको वर्षदेखि समेत नयाँ व्रतालुले व्रत आरम्भ गर्न सक्ने शास्त्रीय मत रहेको डा. गौतमले बताउनुभयो।
साउने सोमबारको व्रत गरेमा यस लोकमा सुख–शान्ति तथा परलोकमा सद्गति प्राप्त हुने धार्मिक ग्रन्थमा उल्लेख रहेको बताइन्छ। साउने सोमबार र हरितालिका तीजको व्रत महिलाले मात्र गर्नुपर्ने व्यवहार देखिए पनि शास्त्रीय मान्यताअनुसार महिला र पुरुष दुवैले व्रत गर्न सक्ने डा. गौतमले बताउनुभयो। परिवारमा भने प्रायः महिलाले सबैको प्रतिनिधित्व गर्दै व्रत बस्ने गरेका छन्।
साउन महिनालाई शिवजीको महिना मान्दै धेरै भक्तजनले मांसाहार तथा मदिरा सेवन नगर्ने परम्परा पनि छ। शिवजीलाई जलधारा प्रिय हुने धार्मिक विश्वासका कारण साउनमा पवित्र तीर्थस्थलबाट जल ल्याएर पशुपतिनाथलगायत शिवालयमा चढाउने भक्तजनको समेत भीड लाग्ने गरेको छ।
यस वर्ष पनि भक्तजनले सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा अर्पण गरेका छन्। साउनभर बोलबम यात्राका कारण सुन्दरीजल क्षेत्र भक्तजनले भरिभराउ बनेको थियो। भोलेनाथ काँवरिया सङ्घ, बोलबम काँवरिया सङ्घ र श्री पशुपतिनाथ काँवरिया समितिलगायत संस्थाले बोलबम काँवर यात्रा आयोजना गरेका थिए।
साउन महिनामा वर्षमा एकपटक घरमा वैदिक रुद्राभिषेक गर्ने परम्परा पनि धेरै परिवारमा रहेको छ। साउनभर भक्तजनको विशेष घुइँचो लाग्ने पशुपतिनाथ मन्दिरसहित गोकर्णेश्वर महादेव, नागेश्वरलगायत देशभरका शिवालयमा आज अन्तिम सोमबार गोदान, पूर्णपात्र गरी व्रत समापन गर्ने भक्तजनको भीड लागेको जनाइएको छ।






फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी