श्रद्धाको फूल चढाइदिनु आएर लासमा
नपाए फूल भैगयो तिमी रोइदिनु आशमा ।
मन छुने गीतहरू शिल्पीकार गायक गायिकाले गाइदिँदा श्रोता सबैले आफ्नो लागि गाएको सम्झिन्छन् । संगीतका पारखीहरू गुन्गुनाई रहन्छन्, सायद यही हो गीतसंगीत रुचाउने व्यक्तिको जिन्दगी । स्वरसम्राट नारायण गोपालको स्वर संगीत र रवीन्द्र शाहको शब्दको यो र यस्तै दर्जनौं गीत मन पराउने गुन्गुनाई सबैलाई मोहित तुल्याउन खप्पिस व्यक्ति चाबहिल शान्ति गोरेटो निवासी विजयकुमार खनाल अब हामीबीच हुनुहुन्न । सम्बन्धित क्षेत्रका व्यक्तिबाहेक सबै पाठकले शायद खनालको नाम सुन्नुभएको छैन होला ।
उहाँले गत असार १४ गते राजधानीको एक कार्यक्रममा छोरी प्रार्थनाको प्रथम कृति ‘शान्तविजय’को प्रमुख अतिथिका सहभागी भई लोकार्पण गर्नुभएको थियो । वरिष्ठ पत्रकार प्रा.पुरुषोत्तम दाहाल, श्रीओम श्रेष्ठ रोदन, खेमराज पोख्रेल, लता केसीका सान्दर्भिक सम्बोधनका बोली सुनेर उहाँ प्रभावित रहनुभएको थियो ।
राष्ट्रदेव पशुपतिनाथ मन्दिरको उत्तरतिर चाबहिल (कुनै बेला चारुमती)को शान्ति गोरेटोमा ९३ वर्षअघि विजयकुमारको जन्म भयो । पं.नारायणप्रसाद खनाल र आमा यज्ञकुमारीका कोखबाट ९३ वर्षअघि असार महिनामा उहाँको जन्म भयो । दश महिनामै मातृविहीन बालकको लालनपालन पिता नारायणप्रसादले गर्नुभएको थियो । दार्जिलिङको शिक्षा प्रभावका कारण उहाँको अंग्रेजी र नेपाली दुबै विषयमा दख्खलता थियो । सुधपाका नामले परिचित सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधानसँगको संगतले बालअवस्थामा पढ्नुपर्छ भन्ने ज्ञानको बीजारोपण दिमागमा परेकाले पढाइमा मेधावी हुनुहुन्थ्यो ।
प्रजातन्त्रका शिखर पुरुष बीपी कोइरालासँग बाल्यकालमा संगत गर्नुभएका स्व.खनालले बीपी कालीभक्त हुनुहुन्थ्यो, सबै सुतिसकेपछि पूजाकोठामा गएर प्रत्येक रात देवीको उपसना गरेको आफैँले देखेको भन्नुहुन्थ्यो । प्रत्येक दिन बिहान चिसो पानीमा नुहाएर सुधपाले साहित्यको सेवा गर्ने र बीपी सधैँ चोखो भएर भान्सा गर्नुहुन्थ्यो, लेखिरहनु हुन्थ्यो भनी अतितलाई सम्झनुहुन्थ्यो । उहाँले आफ्ना पिता नारायण खनालसँगै कलकत्तामा आएर थप शिक्षा हासिल गर्नुभयो । त्यसबेलाको आईए कलकत्तामा बसेर उत्तीर्ण गर्नुभएको थियो । त्यसपछि कांग्रेसका अर्का नेता महेन्द्रविक्रम शाहसँग संगत गर्न पुग्नुभएछ । सानु राजा पनि बीपीजस्तै विलक्षण प्रतिभाको व्यक्तित्व हुनुहुन्थ्यो । दरबारसँग उहाँ कहिल्यै झुक्नुभएन । देशमा तत्कालीन राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्र अपहरण गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीलाई सुन्दरीजल जेलमा थुनेपछि सानो राजा महेन्द्रविक्रम शाह अमेरिका गएर बस्नुभयो भन्नुहुन्थ्यो स्व.विजयकुमार खनाल ।
विसं २०१४-०१५ सालतिर खनालले कांग्रेस पार्टीका संस्थापकमध्ये एक सुवर्णशमशेर राणाको हातबाट क्रियाशील सदस्यता लिनुभयो । जुन सदस्यता उहाँको घरमा सुरक्षित छ । प्रजातन्त्र र मानवअधिकारको व्यावहारिक शैली भएको, सबैकाप्रति सद्भाव र दया देखाउने व्यक्ति विजय खनालले जीवनको झण्डै ४० वसन्त राष्ट्रसेवक कर्मचारीका रूपमा विभिन्न जिल्लामा पुगेर सेवा गर्नुभयो ।
कांग्रेस पार्टीको सदस्यता लिएको व्यक्तिले सरकारी जागिर खाएर सोलुखुम्बु, प्युठान, पर्सा, काठमाडौंलगायतमा स्थानीय विकास अधिकारी, कहिले पिडिओ, निमित्त प्रमुख जिल्ला अधिकारी भएर काम गर्नुभयो । विसं २०३७ साल वैशाख २० गते सम्पन्न जनमत संग्रहमा वीरगञ्जमा निर्वाचन आयुक्त भएर काम गर्दा खुल्ला रूपमा नीलो रंग (बहुदल)को प्रचार गर्यो भनी त्यसबेलाका केही पञ्चहरूले अञ्चलाधीश समक्ष उजुरी दिएछन् । काठमाडौंमा स्वास्थ्य मन्त्रालय र विभागमा रही सेवा गर्दा अक्सर त्यसबेलाका चिकित्सक र पदाधिकारी खनालको सेवाशैलीको मुक्तकण्ठले प्रशंसा गर्थे । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा विसं २०४८ सालमा ५८ वर्षे उमेरहदका कारण उहाँले अरू राष्ट्रसेवक कर्मचारीसरह अवकाश प्राप्त गर्नुभयो । दुई वर्षपहिले खनालको प्रोष्टेटसम्बन्धी शल्याक्रिया भएको थियो । त्यतिन्जेलसम्म उहाँले उपचारको नाममा कुनै औषधिको सेवन गर्नु भएन । दिनहुँ पशुपतिनाथको दर्शन गरेरमात्र भोजन गर्ने ।
विजयकुमार खनालका छोराहरू रवीन्द्र, श्रीविन्द, जयविन्द र छोरी प्रार्थना खनाल छन् । पहाडी जिल्ला बझाङमा कुमारी केटी नपाएर काठमाडौंमा बिहे गर्नपुगेको पंक्तिकारको वैवाहिक कथा सम्झन लायक छ । दाजु देवीचन्द्र जोशीका र ससुरा बुबा बाशुदेवप्रसाद पौडेलका कारण चाबहिलका खनाल परिवारसँग मेरो बिहे हुन पुग्यो । रेडियो नेपालका तत्कालीन प्राविधिक पुरुषोत्तमराज पोख्रेलले यो विषयमा बल गर्नुभयो । एकमात्र छोरीलाई बझाङ तलकोटजस्तो दुर्गम गाउँको पहाडीया रेडियो नेपालको गायक केटोलाई सुम्पनुभयो ।
उहाँले गत असार १४ गते राजधानीको एक कार्यक्रममा छोरी प्रार्थनाको प्रथम कृति ‘शान्तविजय’को प्रमुख अतिथिका सहभागी भई लोकार्पण गर्नुभएको थियो । वरिष्ठ पत्रकार प्रा.पुरुषोत्तम दाहाल, श्रीओम श्रेष्ठ रोदन, खेमराज पोख्रेल, लता केसीका सान्दर्भिक सम्बोधनका बोलीहरू सुनेर उहाँ प्रभावित रहनुभयो । सफेद धोती फेरेर दिनहूँ रुद्री पाठ गर्नु, एकादशी, पूर्णीमा, औंसी तिथिहरूमा सन्न्यासी जोगीहरूलाई भीक्षा दिने, प्रत्येक बिहानी परेवालाई दाना खुवाउने गर्नुहुन्थ्यो ।
उहाँलाई अकस्मात पेटको खराबीले मेडिकेयर अस्पतालमा भर्ना गरियो । १२ दिनसम्म डाक्टरको विशेष निगरानीमा उपचार गरियो । कलेजोमा केही खराबी रहेछ । साथै निमोनियाले छोएको रहेछ । उपचारपछि ठीक भएर तन्दुरुस्ती देखिनुहुन्थ्यो । घरमा सास फेर्न केही अप्ठ्यारो भएको महसुस भएपछि कोठाबाट बाहिरसम्म आफैँ हिँडेर एम्बुलेन्ससम्म पुग्नुभयो । साउन ११ गते राति लगाएको अक्सिजनले काम गर्न छोड्यो । पुनः अस्पताल ल्याउदा उहाँको होस् हरायो । बिहान ३ः४५ बजे उहाँ परलोक प्रस्थान गर्नुभयो ।
जीवनजगतको गति प्रत्येक प्राणीको समाप्त भएर जान्छ । महाकवि देवकोटाले पनि चितामा जल्नुअघि ‘आखिर श्रीकृष्ण रहेछ एक, न भक्ति भो ज्ञान न भो विवेक’ भनी जीवनको विवेचना गरेका थिए । आफ्नी धर्मपत्नी बितेपछि भावुक हुँदै विजयकुमार खनालले बढी गाउने गरेको गीत सम्झँदै गरुङ्गो मन लिएर हामी सन्तती र शुभेच्छुकहरू आ–आफ्नो घर फकियौँ ।
ईश्वर ! तैले रचेर फेरि कसरी बिगारिस् ?
शृष्टिका फूल रचेर त्यस्तो कसरी लतारिस् ?
त्यो फूल हरे ! मलाई दिई कसरी पछारिस् ?
हे दिदी ! मैले ती मुना देख्दा मुनाको मुहार
ती मुनापनि मर्दछिन् भन्ने थिएन विचार ! .... !!






प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि