आजको आधुनिक युगमा विज्ञान, प्रविधि र विश्वव्यापीकरणका कारण मानव जीवन धेरै सहज र सुविधासम्पन्न बनेको छ । पहिलेको तुलनामा अहिले सूचना, शिक्षा, स्वास्थ्य सेवा तथा आधुनिक प्रविधिमा मानिसको पहुँच व्यापक रूपमा बढेको छ । तर, यी उपलब्धिसँगै मानिसको जीवनमा मानसिक दबाब, असन्तुष्टि, प्रतिस्पर्धा र चिन्ता पनि बढ्दै गएका छन्,। अध्ययनको दबाब, रोजगारीको अनिश्चितता, आर्थिक समस्या, पारिवारिक जिम्मेवारी, सामाजिक अपेक्षा तथा भविष्यप्रतिको डरका कारण धेरै मानिस तनावग्रस्त जीवन बिताइरहेका छन् ।
हामीले आफ्नो वरिपरि हेर्ने हो भने तनावमुक्त मानिस भेट्टाउन कठिन हुन्छ । तनावले गरिब-धनी, शिक्षित-अशिक्षित वा कुनै वर्गविशेषलाई मात्र प्रभावित गर्दैन, यो सबै मानिसको जीवनमा कुनै न कुनै रूपमा देखा पर्नसक्छ । अत्यधिक तनावका कारण मानिसमा विभिन्न मानसिक तथा शारीरिक समस्या उत्पन्न हुनसक्छन् र कतिपय अवस्थामा आत्महत्याजस्ता गम्भीर परिणामसमेत निम्तिन सक्छन् । विभिन्न अध्ययनले दीर्घकालीन तनावले स्वास्थ्यमा गम्भीर असर पार्नसक्ने देखाएका छन् ।
सामान्य अर्थमा तनाव भन्नाले कुनै चुनौती, दबाब वा मागको सामना गर्दा शरीर र मनले दिने प्रतिक्रिया हो । तनावका कारण शरीरमा विभिन्न जैविक तथा रासायनिक प्रतिक्रिया उत्पन्न हुन्छन्, जसले मानिसलाई चिन्तित, भयभीत वा निराश बनाउनसक्छ । तनाव सबैलाई हुन्छ, तर त्यसलाई व्यक्तिले कसरी ग्रहण गर्छ र कसरी व्यवस्थापन गर्छ भन्ने कुरा फरक-फरक हुन्छ ।
सामान्य अर्थमा तनाव भन्नाले कुनै चुनौती, दबाब वा मागको सामना गर्दा शरीर र मनले दिने प्रतिक्रिया हो । तनावका कारण शरीरमा विभिन्न जैविक तथा रासायनिक प्रतिक्रिया उत्पन्न हुन्छन्, जसले मानिसलाई चिन्तित, भयभीत वा निराश बनाउनसक्छ । तनाव सबैलाई हुन्छ, तर त्यसलाई व्यक्तिले कसरी ग्रहण गर्छ र कसरी व्यवस्थापन गर्छ भन्ने कुरा फरक-फरक हुन्छ ।
कतिपय मानिस सानातिना समस्यालाई लिएर पनि अत्यधिक चिन्तित हुने गर्छन् । कतिपय भने आफूले राम्रो काम गर्ने प्रयास गर्दागर्दै आफूले गरेको काम पर्याप्त राम्रो भएन कि भन्ने चिन्तामा रहने गर्छन् । कहिलेकाहीँ चिन्ता लिन आवश्यक नभएका विषयमा समेत निरन्तर चिन्ता गरिरहने प्रवृत्तिले अनावश्यक डर र मानसिक दबाब सिर्जना गर्छ । यस्तो अवस्थाले शरीरमा तनाव उत्पन्न गर्नुका साथै दीर्घकालमा शरीरका विभिन्न प्रणाली तथा मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर पार्नसक्छ ।
आधुनिक तनाव अनुसन्धानकर्ता हान्स सेलीका अनुसार तनाव भनेको शरीरमाथि पर्ने कुनै पनि प्रकारको माग, दबाब वा चुनौतीप्रति शरीरले दिने अविशिष्ट प्रतिक्रिया हो । व्यक्तिले आफ्नो जीवनमा आउने शारीरिक, मानसिक वा सामाजिक चुनौतीहरूको सामना गर्दा शरीर र मनले देखाउने स्वाभाविक प्रतिक्रियालाई तनावका रूपमा बुझ्न सकिन्छ ।
बौद्ध दर्शनमा भने तनाव, असन्तुष्टि तथा दुःखको मूल कारण तृष्णा र आसक्तिलाई मानिएको छ । बुद्धले धम्मपदमा तृष्णाबाट शोक र भय उत्पन्न हुने तथा तृष्णाबाट मुक्त व्यक्तिमा शोकको अन्त्य हुने शिक्षा दिएका छन् । यस शिक्षाले स्थायी नभएका वस्तु, व्यक्ति वा परिस्थितिप्रतिको अत्यधिक चाहना र आसक्तिले मानसिक तनाव तथा पीडालाई जन्म दिने कुरा स्पष्ट पार्छ ।
उदाहरणका लागि धन-सम्पत्ति, पद, प्रतिष्ठा वा भौतिक सुख–सुविधाप्रति अत्यधिक लोभ र मोह हुँदा ती गुम्ने डर, अपेक्षानुसार प्राप्ति नहुने अवस्था वा परिवर्तनलाई स्वीकार गर्न नसक्दा मानिस तनाव र दुःखको अवस्थामा पुग्नसक्छ । यस अर्थमा बुद्धका शिक्षा अनुसार तनाव र दुःखको कारण केवल बाह्य परिस्थिति मात्र नभई त्यसप्रतिको व्यक्तिको मानसिक प्रतिक्रिया, तृष्णा, आसक्ति र अविद्या पनि हुन् ।
त्रिपिटकअन्तर्गत मज्झिम निकायको १३औं सुत्तका रूपमा रहेको महादुःखखण्ड सुत्त बौद्ध दर्शनको महत्त्वपूर्ण उपदेश हो । यस सुत्तमा इन्द्रियसुख, त्यसको आकर्षण, त्यसमा रहेका कमजोरी तथा त्यसबाट मुक्त हुने उपायका विषयमा विस्तृत रूपमा चर्चा गरिएको छ । मानिस कसरी सांसारिक सुखको पछि लाग्दै दुःखको चक्रमा फस्छ र त्यसबाट मुक्त हुने उपाय के हो भन्ने विषय यस सुत्तको मूल मर्म हो ।
महादुःखखण्ड सुत्तले मानिसको दुःख, तनाव, असन्तुष्टि तथा मानसिक अशान्तिलाई बुझ्न महत्त्वपूर्ण आधार प्रदान गर्छ । बुद्धका शिक्षा अनुसार इन्द्रियसुखप्रतिको अत्याधिक मोह र आसक्तिले अन्ततः दुःख, चिन्ता, भय र असन्तुष्टि निम्त्याउँछ । इन्द्रियसुख क्षणिक र अनित्य भएकाले त्यसमा निर्भर रहँदा मानिसले स्थायी सन्तुष्टि प्राप्त गर्न सक्दैन ।
यसैले तनाव र दुःखबाट मुक्त हुने उपाय तृष्णा तथा आसक्तिको क्षय गर्नु हो । त्यसका लागि शील, समाधि र प्रज्ञाको विकास आवश्यक हुन्छ । शीलले नैतिक आचरणलाई, समाधिले मानसिक एकाग्रता तथा ध्यानलाई र प्रज्ञाले यथार्थलाई सही रूपमा बुझ्ने ज्ञानलाई जनाउँछ । यी तीन पक्षको अभ्यासले मनलाई शान्त, स्थिर, सन्तुलित र संयमित बनाउन सहयोग गर्छ ।
महादुःखखण्ड सुत्तको शिक्षाअनुसार तनाव र दुःखको मूल कारण तृष्णा तथा आसक्ति भएकाले तिनको नियन्त्रण र क्षय मानसिक शान्तिको महत्त्वपूर्ण आधार हो । यस सुत्तबाट तनाव व्यवस्थापनका सन्दर्भमा निम्न पक्षहरूलाई विशेष रूपमा लिन सकिन्छ ।
इन्द्रियसुख तथा भौतिक वस्तुप्रतिको अत्यधिक मोह र आसक्तिले मानसिक तनाव उत्पन्न गर्नसक्छ । त्यसैले तृष्णालाई नियन्त्रण गर्दै सन्तोष, संयम र वैराग्यको विकास गर्न आवश्यक हुन्छ । आँखा, कान, नाक, जिब्रो, शरीर र मनजस्ता इन्द्रियलाई अनुशासित राख्दा अनावश्यक इच्छा, लोभ तथा मानसिक अशान्ति कम गर्न सहयोग पुग्छ । बाह्य विषयप्रतिको अनियन्त्रित आकर्षणलाई कम गर्नु मानसिक सन्तुलनका लागि महत्त्वपूर्ण हुन्छ ।
नैतिक आचरण, ध्यान तथा सही ज्ञानको विकासले व्यक्तिको मनलाई स्थिर र शान्त बनाउन सहयोग गर्छ । शीलले व्यवहारलाई अनुशासित बनाउँछ, समाधिले चञ्चल मनलाई एकाग्र बनाउन सहयोग गर्छ र प्रज्ञाले वस्तु तथा परिस्थितिको वास्तविक स्वरूप बुझ्न मद्धत गर्छ ।
सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वाणी, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् प्रयास, सम्यक् स्मृति र सम्यक् समाधिको अभ्यासले व्यक्तिको सोच, व्यवहार र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउँछ । यसले मानसिक तनाव घटाउँदै दुःखबाट मुक्त हुने मार्ग प्रशस्त गर्छ । यसरी महादुःखखण्ड सुत्तले तनावको समाधान केवल बाह्य परिस्थितिमा खोज्नुभन्दा व्यक्तिको मन, सोच र व्यवहारमा परिवर्तन ल्याउनुपर्ने शिक्षा दिन्छ । त्यसैले यस सुत्तका शिक्षाहरू आजको मानसिक स्वास्थ्य तथा तनाव व्यवस्थापनको सन्दर्भमा पनि सान्दर्भिक देखिन्छन् ।
आधुनिक तनाव व्यवस्थापन र बौद्ध शिक्षा
आधुनिक तनाव व्यवस्थापनले तनावलाई जीवनको स्वाभाविक प्रतिक्रियाका रूपमा स्वीकार गर्दै त्यसलाई व्यवस्थापन गर्न विभिन्न वैज्ञानिक विधिहरू अपनाउँछ । ध्यान, नियमित व्यायाम, पर्याप्त निद्रा, समय व्यवस्थापन, मनोपरामर्श, सामाजिक समर्थन तथा स्वस्थ जीवनशैली तनावका लक्षण कम गर्न र मानसिक स्वास्थ्य सुधार गर्न उपयोगी मानिन्छन् ।
आधुनिक तनाव व्यवस्थापनले तनावलाई जीवनको स्वाभाविक प्रतिक्रियाका रूपमा स्वीकार गर्दै त्यसलाई व्यवस्थापन गर्न विभिन्न वैज्ञानिक विधि अपनाउँछ । ध्यान, नियमित व्यायाम, पर्याप्त निद्रा, समय व्यवस्थापन, मनोपरामर्श, सामाजिक समर्थन तथा स्वस्थ जीवनशैली तनावका लक्षण कम गर्न र मानसिक स्वास्थ्य सुधार गर्न उपयोगी मानिन्छन् ।
बौद्ध शिक्षामा पनि ध्यान, आत्मनियन्त्रण, सचेतना, संयम तथा मानसिक सन्तुलनलाई विशेष महत्त्व दिइएको छ । यस दृष्टिले आधुनिक तनाव व्यवस्थापनका कतिपय अभ्यास र बुद्धका शिक्षाबीच महत्त्वपूर्ण समानता देखिन्छ । आधुनिक विधिहरूले तनावका लक्षण र व्यावहारिक पक्ष व्यवस्थापनमा जोड दिन्छन् भने महादुःखखण्ड सुत्तले तनाव र दुःखको गहिरो मानसिक तथा नैतिक कारण पहिचान गरी त्यसको मूलमै परिवर्तन ल्याउने मार्ग प्रस्तुत गर्छ ।
यसकारण महादुःखखण्ड सुत्तलाई धार्मिक ग्रन्थका रूपमा मात्र नभई मानसिक स्वास्थ्य प्रवर्द्धन, तनाव व्यवस्थापन तथा सन्तुलित जीवनयापनका लागि उपयोगी दार्शनिक मार्गदर्शकका रूपमा पनि अध्ययन गर्न सकिन्छ । यसका शिक्षालाई दैनिक जीवनमा व्यवहारमा उतार्दा आत्मसंयम, सचेतना, सन्तोष र मानसिक सन्तुलन विकास गर्न सहयोग पुग्नसक्छ ।
निष्कर्ष
महादुःखखण्ड सुत्तले मानिसको दुःख, असन्तुष्टि र मानसिक अशान्तिको मूल कारण तृष्णा, आसक्ति र अविद्यामा रहेको देखाउँछ । बाह्य परिस्थिति मात्र तनावको कारण होइन, ती परिस्थितिप्रति व्यक्तिको चाहना, अपेक्षा, मोह र मानसिक प्रतिक्रियाले पनि तनावलाई जन्म दिन्छ र बढाउँछ । बुद्धले तनाव तथा दुःखबाट मुक्तिका लागि शील, समाधि र प्रज्ञाको विकास तथा आर्य अष्टांगिक मार्गको अभ्यासमा जोड दिएका छन् । यी शिक्षाले व्यक्तिमा आत्मसंयम, सचेतना, विवेक र मानसिक सन्तुलनको विकास गर्न सहयोग पुर्याउँछन् ।
आजको व्यस्त, प्रतिस्पर्धात्मक र अनिश्चित जीवनमा बढ्दो मानसिक तनाव, चिन्ता र असन्तुष्टिको सन्दर्भमा महादुःखखण्ड सुत्तका शिक्षाहरू अझ बढी सान्दर्भिक देखिन्छन् । ध्यान, आत्मनियन्त्रण, सचेत जीवनशैली र तृष्णा तथा आसक्तिको नियन्त्रणजस्ता अभ्यासले मानिसलाई मानसिक रूपमा सन्तुलित रहन सहयोग गर्न सक्छन् ।
त्यसैले महादुःखखण्ड सुत्तलाई केवल धार्मिक शिक्षाको रूपमा सीमित नगरी मानसिक शान्ति, तनाव व्यवस्थापन र सन्तुलित जीवनका लागि महत्त्वपूर्ण बौद्ध दार्शनिक मार्गदर्शनका रूपमा बुझ्न सकिन्छ । यसको व्यावहारिक अभ्यासले व्यक्तिको मानसिक स्वास्थ्यसँगै परिवार र समाजको समग्र कल्याणमा समेत सकारात्मक योगदान पुर्याउनसक्छ ।







कांग्रेसभित्र बृहद् एकताका लागि राष्ट्रिय
विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,