काठमाडौं । वरिष्ठ नाट्यकर्मी प्रवीण पुमाको निर्देशन तथा सौभाग्यसिंह राईको लेखन रहेको विसङ्गती नाटक ‘मनमनै मन्त्रालय’ काठमाडौंस्थित नेपाल नाट्यशालामा साउन २४ गते मञ्चन भएको छ ।
नेपाल थिएटर हाउस र नेपाल मातृगृह नेपालको संयुक्त प्रस्तुतिमा मञ्चन गरिएको नाटकले समकालीन समाजका मनोवैज्ञानिक, सामाजिक तथा राजनीतिक विसङ्गतिलाई मानिसको अन्तर्मनसँग जोडेर प्रस्तुत गरेको छ ।
नाटकले एक्लोपन, पारिवारिक विखण्डन, डिजिटल निर्भरता, बेरोजगारी, विभेद र सामाजिक अन्यायजस्ता समस्यामाथि प्रश्न उठाएको छ । ‘मनमनै मन्त्रालय’को रूपकमार्फत मानिसका विचार, भावना र व्यवहारलाई निर्देशित गर्ने अदृश्य शक्तिको खोज गर्दै समाज परिवर्तनअघि मानिसको मन परिवर्तन हुनुपर्ने सन्देश नाटकले दिएको छ ।
बिसङ्गत शैलीको नाटकमा मनमन्त्रीको रूपमा देखिएका कलाकार जेबी डीसीको ओजिलो र स्वभाविक अभिनयले करिब १ घन्टा दर्शकलाई बाधेर राख्छ ।
निर्देशक पुमाले आफ्नो ‘सह-अस्तित्ववाद’ अवधारणामा आधारित रहेर नाटक तयार गरेका छन्। मुन्दुमी दर्शनमा आधारित ब्लकिङसँगै प्रकाश, ध्वनि, कोरियोग्राफी, मल्टिमिडिया र स्मोकिङ इफेक्टको प्रयोगले नाटकको दृश्यात्मक पक्षलाई प्रभावकारी बनाएको थियो ।
नाटकमा प्रवीण पुमा, जे.बी. डी.सी., सौभाग्यसिंह राई, रिता थापा, दिपमाला परियार, सानु पाण्डे, कविता खड्का, निर्मल साउद, आयन थापा, तृप्ती श्रेष्ठ, खुशी तामाङ, महेन्द्र थापालगायत कलाकारको अभिनय रहेको छ ।
मञ्चन दर्शकको भरिभराउ थियो। साहित्य, कला, रङ्गमञ्च तथा प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा मञ्चनपछि सिर्जनात्मक समालोचनासमेत गरिएको थियो ।
समालोचक तथा प्राज्ञहरूले नाटकले समकालीन समाजका विसङ्गति, मनोवैज्ञानिक समस्या र सामाजिक विकृतिलाई उजागर गर्दै दर्शकलाई आफ्नै चेतना र व्यवहारबारे सोच्न बाध्य बनाएको धारणा व्यक्त गरेका थिए ।
‘मनमनै मन्त्रालय’ले समाज बदल्नुअघि मानिसको मन बदलिनुपर्ने सन्देशलाई रङ्गमञ्चमार्फत प्रस्तुत गरेको छ ।






ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि
कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः