काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच आज शिष्टाचार भेटवार्ता भएको छ।
मन्त्रालयमा भएको भेटमा नेपाल–अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै सहकार्यलाई परिणाममुखी बनाउने विषयमा छलफल भएको छ।
भेटका क्रममा महिला सशक्तीकरण, बाल अधिकार तथा संरक्षण, अपाङ्गता समावेशीकरण, सामाजिक सुरक्षा, हेरचाह अर्थतन्त्र (केयर इकोनोमी), मानव संसाधन विकास तथा नीतिगत अनुभव आदानप्रदानलगायतका विषयमा छलफल भएको थियो।
मन्त्री बादीले नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले शिक्षा, मानव विकास, सुशासन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा अष्ट्रेलियाले नेपाललाई उपलब्ध गराउँदै आएको विकास सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो।
अष्ट्रेलियाको छात्रवृत्ति कार्यक्रमले नेपाली विद्यार्थी, अनुसन्धानकर्ता, विभिन्न क्षेत्रका पेसाकर्मी तथा सरकारी कर्मचारीको ज्ञान, सीप र व्यावसायिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको मन्त्री बादीले बताउनुभयो। यसबाट नीति निर्माण, कार्यान्वयन तथा सार्वजनिक सेवा प्रवाहमा समेत सकारात्मक प्रभाव परेको उहाँको भनाइ थियो।
सामाजिक सुरक्षा र हेरचाह अर्थतन्त्रबीचको अन्तरसम्बन्धबारे चर्चा गर्दै मन्त्री बादीले महिलाले घरायसी तथा हेरचाहका क्षेत्रमा गर्दै आएको योगदानलाई आर्थिक रूपमा पहिचान र मूल्याङ्कन गर्न आवश्यक रहेको बताउनुभयो।
उहाँले आगामी दिनमा नेपाल–अष्ट्रेलिया सम्बन्धलाई विकास सहयोगमा मात्र सीमित नराखी प्रविधि तथा नीतिगत अनुभव आदानप्रदान, संस्थागत क्षमता विकास र जनस्तरको सम्बन्ध विस्तारसहितको पारस्परिक साझेदारीका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
भेटका क्रममा राजदूत अन्स्र्टले नेपाल–अष्ट्रेलियाबीच भइरहेको सहकार्यको महत्व उल्लेख गर्दै आपसी हित र प्राथमिकताका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजान सकारात्मक धारणा व्यक्त गर्नुभयो।






ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि
कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः