काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालमा नागरिकको सुरक्षा, न्याय, सेवा–सुविधा तथा रोजगारीका अवसर कमजोर बन्दै गएको आरोप लगाउनुभएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले देशलाई व्यवस्थित र सुरक्षित बनाउन सरकार गम्भीर भएर काम गर्नुपर्ने बताउनुभयो।
‘नेपालमा कोही पनि सुरक्षित छैनन्। सांसदसमेत सुरक्षित भएको अवस्था छैन। राज्यले नागरिकलाई सबैभन्दा पहिले सुरक्षा दिनुपर्छ। त्यसैले देशलाई देशजस्तो बनाइराख्नका लागि हामीले के–के गर्नुपर्छ, तयार छौँ,’ उहाँले भन्नुभयो।
अध्यक्ष साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले नैतिक तथा पदीय जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन आफूहरूले लामो समयदेखि माग गर्दै आए पनि प्रधानमन्त्रीले त्यसलाई बेवास्ता गरेको आरोप उहाँले लगाउनुभयो।
देशमा आगजनी, तोडफोड, धम्की तथा धार्मिक विवादका घटना बढ्दै गएको उल्लेख गर्दै उहाँले सरकार कमजोर हुँदा यस्ता गतिविधि बढ्ने गरेको बताउनुभयो। तराई–मधेसका विभिन्न क्षेत्रमा नागरिकले अझै असुरक्षित महसुस गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो।
न्याय प्रणालीप्रति समेत प्रश्न उठाउँदै अध्यक्ष साम्पाङले आन्दोलनरत नागरिकलाई सरकारले प्रत्यक्ष भेटेर उनीहरूका समस्या बुझ्नुपर्नेमा जोड दिनुभयो। प्रधानमन्त्री तथा मन्त्रीहरू एसी भएको कोठामा बसेर मात्रै देशको वास्तविक अवस्था बुझ्न नसक्ने उहाँले बताउनुभयो।
‘स्टेटसबाट कता के गर्ने भन्ने कुराहरू सुन्छु, त्यस्तो केटाकेटीपनले देश चल्दैन। दुई तिहाइको नजिकको सरकारलाई काम गर्न केले रोकेको छ?’ उहाँले प्रश्न गर्नुभयो।







विशेष महाधिवेशनबारे सर्वोच्चको पुनरावलोकन सामना
फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल
प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यको सुझाव
ग्यासको कृत्रिम अभाव र कालोबजारी
नेपाल–युरोप स्वास्थ्य सहकार्य विस्तारमा जोड,
सरकार लेनभन्दा बाहिर जान पाउँदैन