काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद भरत गिरीले लिपुलेकसहितका सीमा विवाद, राष्ट्रिय सार्वभौमसत्ता तथा जनजीविकाका विषयमा सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्नुभएको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गिरीले छिमेकी मुलुकसँगको कूटनीतिक सम्बन्ध र मुलुकभित्रका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो।
भारतद्वारा अतिक्रमित नेपाली भूभाग तथा लिपुलेक मार्गको प्रयोगका विषयमा सरकार र सत्ता साझेदार दलहरूको मौनतामाथि प्रश्न उठाउँदै उहाँले सीमा विवाद समाधानका लागि ठोस कूटनीतिक मार्गचित्र प्रस्तुत गर्न माग गर्नुभयो।
नेपाललाई ‘बफर स्टेट’बाट ‘भाइब्रेन्ट ब्रिज’ बनाउने नीति लिएको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै उहाँले सीमा समस्याबारे सरकारको स्पष्ट दृष्टिकोण संसद्मा प्रस्तुत हुनुपर्ने बताउनुभयो।
‘राष्ट्रिय सार्वभौमसत्ता र स्पष्ट विदेश नीति आजको मुख्य विषय हो । भारतले नेपाली भूभाग मिचेको विषयमा सरकारले स्पष्ट र आधिकारिक धारणा सार्वजनिक गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘विशेषगरी लिपुलेक मार्ग भारत र चीनले प्रयोग गरिरहेको सन्दर्भमा नेपालको दृष्टिकोण के हो भन्ने कुरा संसद्लाई स्पष्ट जानकारी गराइनुपर्छ।’
छिमेकी मुलुकसँगको सम्बन्धलाई सन्तुलित र गतिशील बनाउन सीमा विवाद समाधानका लागि सरकारले ठोस कूटनीतिक पहल गर्नुपर्ने उहाँको भनाइ थियो।
सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले सुरक्षाका नाममा अनावश्यक चेकजाँच र त्रासको वातावरण सामना गर्नुपरेको भन्दै गिरीले त्यसको अन्त्य गर्न सरकारसँग माग गर्नुभयो। नेपाल–भारतबीचको ऐतिहासिक सामाजिक तथा सांस्कृतिक ‘रोटी–बेटी’ सम्बन्धको मर्यादा कायम राख्दै दैनिक उपभोग्य वस्तु तथा मलखाद ल्याउन स्थानीय नागरिकले पहिलेदेखि पाउँदै आएको सुविधामा अनावश्यक रोक लगाउन नहुने उहाँले बताउनुभयो।
सीमा क्षेत्रमा हुने तस्करी, अवैध ओसारपसार, अवैध असुली तथा बिचौलियाको गतिविधि नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उहाँको माग थियो।
आर्थिक तथा सामाजिक विषयमा सांसद गिरीले गरिबी न्यूनीकरण र साना व्यवसायीको संरक्षणका लागि सरकारले अघि सारेका योजनाको कार्यान्वयन अवस्थाबारे पनि प्रश्न उठाउनुभयो। साना तथा घरेलु व्यवसायीलाई सुरक्षित वातावरणमा व्यवसाय सञ्चालन गर्ने अनुमति तथा विनाधितो सहुलियत ऋण उपलब्ध गराउने सरकारको योजना कहाँ पुगेको छ भन्ने उहाँले प्रश्न गर्नुभयो।
किसानलाई समयमै मल, बीउ तथा औषधि उपलब्ध गराउन सरकार असफल भएको आरोप लगाउँदै उहाँले कृषि क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न आग्रह गर्नुभयो।
शिक्षा प्रणालीलाई सीपमूलक तथा रोजगारमुखी बनाउनुपर्नेमा जोड दिँदै गिरीले ‘पढ्दै कमाउने’ अवधारणालाई देशभर लागू गर्नुपर्ने बताउनुभयो। युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न नेपालमै रोजगारी तथा अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्न सरकार गम्भीर बन्नुपर्ने उहाँको भनाइ थियो।







प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै