काठमाडौँ । नेपाली कांग्रेसको देउवा पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता र नेतृत्वसम्बन्धी विवादमा पुनरावलोकनको अनुमति (निस्सा) जारी भएको भन्दै १५औँ महाधिवेशनलगायत पार्टीका सबै सांगठनिक गतिविधि तत्काल रोक्न माग गरेको छ।
नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले कांग्रेस केन्द्रीय कार्यालय सानेपालाई पत्र पठाउँदै अदालतको अन्तिम फैसला नआएसम्म पार्टीका महत्वपूर्ण तथा दूरगामी निर्णय र गतिविधि यथास्थितिमा राख्न माग गर्नुभएको हो।
मिति २०८३/०४/२६ को पत्र कांग्रेस सभापति गगन थापा, प्रदेश, जिल्ला, क्षेत्रीय तथा वडा कार्यसमितिहरूका साथै निर्वाचन आयोगलाई समेत पठाइएको छ।
पत्रमा सर्वोच्च अदालतले कांग्रेसको वैधानिकता र नेतृत्वसम्बन्धी विवादमा यसअघि भएको फैसलामाथि तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले दिएको पुनरावलोकन निवेदनमा सुनुवाइ गर्दै ‘निस्सा’ प्रदान गरेको उल्लेख छ।
सर्वोच्चले गम्भीर कानुनी त्रुटि रहेको औँल्याउँदै पुनरावलोकनको अनुमति दिएपछि पार्टीको वर्तमान संरचना तथा नेतृत्वको वैधानिकतासम्बन्धी प्रश्न पुनः न्यायिक परीक्षणको अवस्थामा पुगेको कोइरालाको दाबी छ।
राष्ट्रिय भेला आयोजक समितिले कांग्रेसको आगामी १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण सांगठनिक, प्राविधिक तथा नीतिगत कार्यतालिका तत्काल स्थगित गर्न माग गरेको छ।
त्यस्तै, सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म पार्टीका तर्फबाट गरिने कुनै पनि दीर्घकालीन प्रभाव पार्ने नीतिगत, राजनीतिक, सांगठनिक वा आर्थिक निर्णय नगरी यथास्थितिमा राख्न आग्रह गरिएको छ।
पत्रमा अदालतको अन्तिम फैसला नआएसम्म पार्टीका सम्पूर्ण सांगठनिक संरचनालाई समेत साविककै अवस्थामा राख्न माग गरिएको छ।
कोइरालाले कानुनी राज्यको सिद्धान्तअनुसार अदालतमा विचाराधीन मुद्दाको अन्तिम परिणाममा असर पर्ने गरी कुनै पनि गतिविधि अघि नबढाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभएको छ।
त्यस्ता गतिविधि अघि बढाइएमा त्यसबाट उत्पन्न हुने कानुनी प्रतिकूलता तथा अदालतको अवहेलनाको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने चेतावनीसमेत पत्रमार्फत दिइएको छ।
यससँगै कांग्रेसभित्र महाधिवेशनको तयारी, पार्टीको वैधानिकता तथा नेतृत्वसम्बन्धी विवाद थप जटिल बन्ने संकेत देखिएको छ।








यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा