काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका श्रमिक र किसानका समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले श्रमिकको श्रम शोषण तथा कृषि मलको चरम अभावबारे सरकारसँग जवाफ माग गर्नुभयो।
देशको आर्थिक वृद्धिको तथ्याङ्क प्रस्तुत गर्दा त्यसको आधारमा रहेका श्रमिकको अवस्थालाई बिर्सन नहुने उहाँले बताउनुभयो। विशेषगरी कार्पेट, धागो तथा गार्मेन्ट उद्योगमा कार्यरत महिला श्रमिकले दैनिक १२ घण्टासम्म काम गर्दा पनि मासिक १८ हजार रुपैयाँ मात्र पारिश्रमिक पाउने गरेको र कार्यस्थलमा न्यूनतम मानवीय सुविधाबाट समेत वञ्चित हुनुपरेको विषय उहाँले सदनमा उठाउनुभयो।
श्रम निरीक्षणलाई औपचारिकतामा मात्र सीमित नराखी नियमित, स्वतन्त्र तथा परिणाममुखी बनाउनुपर्नेमा जोड दिँदै ओलीले अनौपचारिक क्षेत्रका श्रमिकलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो।
‘नेपालको नाम विश्व बजारमा पुर्याउने श्रमिकहरू नै राज्यको श्रम निरीक्षणबाट ओझेलमा छन्। कार्यस्थलमा हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार र रोजगारी गुम्ने डरले आवाज उठाउन नसक्ने श्रमिकका पक्षमा सरकार मौन रहनु दुःखद हो,’ उहाँले भन्नुभयो।
कृषि मलको अभावप्रति समेत सरकारको ध्यानाकर्षण गराउँदै ओलीले सरकारी गोदाममा मल भएर मात्र नहुने र किसानको खेतसम्म समयमै मल पुग्नुपर्ने बताउनुभयो।
‘कुन जिल्ला र पालिकामा कति मल पठाइयो, त्यसको तथ्याङ्क सरकारले सार्वजनिक गर्नुपर्छ,’ उहाँले भन्नुभयो।
सरकारले मल अभाव नरहेको दाबी गरे पनि व्यवहारमा किसानले मलका लागि छटपटाउनुपरेको उहाँको भनाइ थियो। कृषि मन्त्रालयले मलको पर्याप्तता रहेको बताउँदै आए पनि किसानले समयमै मल पाउन नसकेको भन्दै उहाँले मन्त्रालयको आलोचना गर्नुभयो।
सरकारी तथ्याङ्कअनुसार ५ लाख ६१ हजार मेट्रिक टनभन्दा बढी मल आपूर्ति भएको देखिए पनि किसानको खेतसम्म मल पुग्न नसक्नुले वितरण प्रणालीमा गम्भीर कमजोरी वा अनियमितता रहेको हुनसक्ने ओलीले बताउनुभयो।







राशिफल २२ साउन, वृष :
‘जय नेपाल पार्टी’को उदय :
नयाँ तलबमान सार्वजनिक
कांग्रेस विवाद निरूपणको प्रश्न फेरि
सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या