काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा १७ वर्षीया बालिकालाई आर्थिक प्रलोभनमा पारी डिम्ब (ओभम) निकालिएको भनिएको गम्भीर घटनाबारे सांसदले सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद स्मृति सेञ्चुरीले घटनाबारे सदनमा जानकारी गराउँदै निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गर्नुभएको हो।
सांसद सेञ्चुरीका अनुसार गत साउन १४ गते ती बालिकालाई रु ३० हजार दिने प्रलोभन देखाएर राधिका गोतामे, प्रासन अधिकारी र डा. नुतन शर्मा लगायतको समूहले डिम्ब निष्कासन प्रक्रियामा संलग्न गराएको आरोप छ। उहाँका अनुसार बालिकाको महिनावारी चक्र ट्र्याक गरी १० दिनसम्म हर्मोनल इन्जेक्सन दिइएको र अल्ट्रासाउन्डको माध्यमबाट डिम्ब निकालिएको थियो।
डिम्ब निष्कासनपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको सांसद सेञ्चुरीले बताउनुभयो। बेहोस हुने, हिँडडुल गर्न नसक्ने, पेट तथा कम्मर दुख्ने र वान्ता हुनेजस्ता समस्या देखिएपछि उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको उहाँले जानकारी दिनुभयो। चिकित्सकीय परीक्षणका क्रममा बालिकाको डिम्ब निकालिएको पुष्टि भएको उहाँको भनाइ छ।
घटनासम्बन्धी पीडित पक्षले जिल्ला प्रहरी परिसर ललितपुरमा मानव बेचबिखन तथा ओसारपसार ऐनअन्तर्गत उजुरी दिएको सांसद सेञ्चुरीले बताउनुभयो। उजुरीपछि केही व्यक्ति पक्राउ परे पनि उनीहरू सामान्य जिम्मा–जमानीमा छुटेको र त्यसपछि पीडित पक्षलाई विभिन्न माध्यमबाट धम्की दिइरहेको उहाँको आरोप छ।
सांसद सेञ्चुरीले घटनाको गम्भीरतापूर्वक र निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिलाई तत्काल पक्राउ गर्न तथा दोषी ठहरिए कानुनबमोजिम हदैसम्मको कारबाही गर्न सरकारसँग माग गर्नुभयो। साथै, पीडित बालिकाको सुरक्षा, स्वास्थ्य उपचार र न्याय सुनिश्चित गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो।







मनसुनी वायुको प्रभाव, देशका केही
यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला